नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको   छ ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो ।

गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा‌. पंकज वर्मनका अनुसार शनिबार राती ९.३० बजे उनको निधन भएको हो ।

करिब पाँच वर्षअघिदेखि नेता गिरीलाई घाँटीको क्यान्सरबाट पिडित हुनु हुन्थ्यो । 

उहाँको उपचार  भारतमा हुने  गरेका थियो । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउने क्रम चलिरहेको थियो ।यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

अहिले कांग्रेसका नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजे सम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछि आइतबारै उनको दाहसंस्कार गरिने छ ।

सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्य प्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेपनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्रीसमेत हुन् ।

गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दा देखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी ०५६ चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदको रुपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए । तर पटक पटक सांसद बनेका गिरी मन्त्री भने बनेनन्, मन्त्री बन्न लालायित भएनन् ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

उनको निधनले मुलुकले अपुरणीय क्षति व्यहोरेको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली र परिवारजनमा शोक व्यक्त गरेका छन् ।