कलाधर काफ्ले: विद्यालय जाँदा गजाधर फर्कँदा कलाधर बनेका शब्द प्रेमी सर्जक

कलाधर काफ्ले: विद्यालय जाँदा गजाधर फर्कँदा कलाधर बनेका शब्द प्रेमी सर्जक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  भदौ ५, २०७९

उहाँको जन्म शून्य सालमा भएको हो अर्थात २००० सालमा भएको हो । तर, उहाँको आधिकारिक दस्तावेजमा भने यो उमेरले मेल खाँदैन । मल्टी पर्पस हाइस्कुल पोखरामा पढ्दा एसएलसी पढ्दा सरहरूले उहाँको जन्म मिति सन् १९४२ हुन गयो जुन उहाँको वास्तविक उमेरभन्दा ६/८ महिना फरक पर्न जान्छ । 

कास्कीको लामाचौरको सामान्य किसान परिवारमा जन्मनु भएका उहाँको हात नंग्रा खियाएर खान लाउन पुग्ने मध्यम परिवार हो । उहाँको पिताजी पुरेत्याइँ गर्नुहुन्थ्यो । पुरेत्याइँले केही भरथेग गरे पनि जीवन जिउने आधार भनेको कृषि नै थियो । पुरेत्याइँलाई उहाँको दाइले अँगाल्नु भयो । तर, अहिले उहाँ पनि उमेरले ९० वर्ष पुगि सकेकोले उहाँले सम्हाल्दै आउनु भएको ६०/७० घर यजमान परिवार अब कसलाई जिम्मा लगाउने भन्ने पिरलोमा हुनु हुन्छ । 

यो यजमानी शृंखला टुट्नुमा उहाँ पढाइका सिलसिलामा काठमाडौँ आउनु अनि उहाँले आफूपछि आफ्ना भाइहरूलाई ल्याउनु पनि केही कारक रह्यो । सुन्दा तीतो सुनिए पनि सत्य यही नै हो । 

उहाँको बाल्यकाल पनि आम नेपालीको बाल्यकाल झैं गोठाला जाने, घाँस काट्ने, भकारो सोहोर्ने, भारी बोक्ने गरेरै बितेको हो । कहिलेकाहीँ गुच्चा पनि खेल्नुभयो, खोपी पनि नखेलेको होइन । तर, त्यसले समय गुजार्ने, पैसा खेर फाल्ने अनि जीवन नै बर्बाद हुने गरी गलत काममा लाग्नु भएन । 

उहाँ ९/१० वर्षसम्म निरक्षर नै हुनुहुन्थ्यो । अनि अब पढ्नु पर्यो भनेर उहाँ गाउँको भाषा पाठशालामा आएर ६ महिना पढ्नु भयो । तर, भाषा पाठशालामा पढाउने कुनै तालिका हुँदैनथ्यो । एक जना गुरु हुनुहुन्थ्यो पढाउने । पाठशालामा रुद्री, चण्डी तथा क,ख को पढाइ हुन्थ्यो । उहाँलाई भाषा पाठशालामा पढेर प्रगति हुँदैन भन्ने लाग्यो र एक जना दाजुलाई भर्खरै पोखराको बाटुले चौरमा खुलेको प्राइमरी स्कूलमा पढ्न जाउँ भनेर भन्नुभयो ।

राष्ट्रकवि माधव घिमिरेसँगै शिक्षकमा एउटै आधार स्कूलमा तालिम लिएको मुक्तिनाथ तिमल्सिनाले स्थापना गरेको प्राइमरी स्कूलमा भर्ना हुनुभयो । आधार स्कूल खोल्ने लहर भने भारतमा महात्मा गान्धीले खोलेको आधार स्कूलको प्रभावले यहाँका राणाहरुले आधार स्कूल खोलेका थिए । 

स्कूलमा विभिन्न ठाउँका मान्छेलाई छानेर तालिम दिन थालियो । जसमा लमजुङबाट राष्ट्रकवि माधव घिमिरे छानिनु भएको थियो भने कास्कीबाट मुक्तिनाथ तिमल्सिना छानिनु भएको थियो । त्यस बेला तालिम लिइसकेपछि आफूले कहाँ स्कूल स्थापना गर्न सकिन्छ हेरेर स्थापना गर्ने अधिकार दिइएको थियो । त्यसो हुनाले मुक्तिनाथ गुरुले बाटुले चौरमा लगेर विन्ध्यवासिनी आधार स्कूल स्थापना गर्नुभएको थियो । 

पण्डित परिवारको भएको हुनाले उहाँले पाटीमा कखरा सिक्ने काम नगर्नु भएको होइन । तर, त्यसलाई निरन्तरता दिने अनि सिलसिला बद्ध ढंगले अगाडि बढाउने काम नभएको हुनाले त्यो त्यति प्रभावकारी भएन ।

अरु साथीहरु खुरुखुरु १,२,३,४ कक्षा पढ्दै गरेको देखेर रहर लागेर उहाँले आफ्नो ठूलो बाको छोरालाई जाउँ दाजु स्कूल भर्ना हुन जाउँ भनेर स्कूल लग्नु भएको हो । र, उहाँ २००९ साल भाद्र १ गते १ कक्षामा भर्ना हुनुभयो । 

१ कक्षाबाट फड्केर ३ कक्षा हुँदै उहाँ ४/५ कक्षामा जाँदा सधैँ पहिलो हुनुभयो । ५ कक्षा त्यहाँबाट पास गरिसकेपछि नेशनल मल्टिपल हाइस्कुल जुन पछि गएर मल्टी पर्पस हाइस्कुल बन्यो पोखरामा पढ्न पुग्नु भयो । 

उहाँ प्राथमिक कक्षामा पढ्दा एउटा कक्षामा १०/१२ जना विद्यार्थी हुन्थे । तर, महिलाहरुको सहभागिता भने थिएन । पछि ६ देखि ८ कक्षा पढ्दा भने २/३ जना थिए । मल्टी पर्पस हाइस्कूलमा गइसकेपछि भने बस्नलाई डेस्क बेञ्च थिए । उहाँ अलि अन्तर्मुखी स्वभावको भएको हुँदा बस्नलाई भने बीच तिरको बेञ्चमा बस्नुहुन्थ्यो । 

मल्टी पर्पोज स्कूलमा नै उहाँले ६ कक्षादेखि १० कक्षासम्म पढ्नु भएको हो । र, एसएलसी पास गरेर एउटा सानो जागिरसहित नै उहाँ पढ्न काठमाडौँ आउनु भएको हो ।

उहाँको पहिलो कमाइ अर्थात मत्स्य विकासमा काम गर्दाको पहिलो तलब ७५ रुपैयाँ थियो । उहाँ त्यतिबेला पृथ्वीनारायण क्याम्पसमा भर्ना पनि हुनु भएको थियो । त्यसकारण उहाँको पहिलो तलब किताब, कपि र यस्तै यस्तैमा खर्च भयो उहाँले घरमा केही पनि सहयोग गर्न सक्नु भएन । यकिन साथ भन्न नसके पनि केही पैसा भने उहाँले आमालाई दिए जस्तो पनि लाग्छ । आमा मैले जागिर खाएको पैसा भनेर ७५ रुपैयाँ मध्ये ३०/४० रुपैयाँ दिए जस्तो लाग्छ उहाँलाई । 

०००

एम कम बि एल गर्नुभएका काफ्लेले जागिर भने मुखियाबाट शुरु गर्नु भएको हो । एसएलसी दिएपछि पोखराको मत्स्य विकास केन्द्रमा जागिर खुल्यो । मुखियाका लागि दश कक्षा पास गरे पुग्थ्यो । अनि उहाँले आवेदन दिएर छनौट पनि हुनुभयो । 

उहाँ त्यस बेला पृथ्वीनारायण क्याम्पस पोखरामा कमर्श पढ्दै हुनुहुन्थ्यो । तर, ६ महिना पढि सकेपछि क्याम्पसले कमर्श पढाउन नसक्ने भएपछि उहाँलाई काठमाण्डौ आउनु पर्ने वाध्यता पनि भयो । अनि सँगै भएको जागिर पनि लिएर आउने मौकासमेत मिल्यो उहाँलाई । 

उहाँ स्कूलमा भर्ना हुन् भनेर जानुभयो । प्रज्ञा सागर गुरु १ कक्षामा नाम दर्ता गराउँदै हुनु रहेछ । गुरुले उहाँलाई नाम सोध्नुभयो । उहाँले उठेर मेरो नाम गजाधर हो भन्नुभयो । उहाँले यति के भन्नु भएको थियो सबै साथी गलल्ल हाँसे । उहाँ अन्यमनस्क हुनुभयो । ‘गजाधर सोती की बुढी अलच्छिन रैछिन्’ भन्ने भानुभक्तको कविता त्यस बेला व्यापक थियो । त्यही कविताका कारण साथीहरु हाँसेका रहेछन् । 

सिंहदरबारको जागिर अनि त्रिचन्द्र क्याम्पसमा रहेको रात्रिकालीन पब्लिक कमर्सबाट उहाँले स्नातक गर्नु भएको हो । एम कम भने प्राइभेट गर्नुभयो । ल कलेजमा नाइटमा पढेर बिएल गर्नुभयो । जागिर खाँदै २०४९ सालमा सह–सचिव पदबाट अवकाश पाउनु भएको हो । 

त्यसपछि भने उहाँ वासुदेव त्रिपाठीको नेतृत्वमा अरु ३५/३६ जना विद्वानहरू भएको परियोजनामा रहेर शब्दकोश निर्माण गर्ने काममा लाग्नु भयो । 

अवकाश भएपछि उहाँलाई के लाग्यो भने सरकारले पेन्सन दिएको छ, श्रीमतीको पनि पेन्सन आउँछ, छोराको बेलायतमा राम्रो बन्दोबस्त छ भने अब अवकाशपछिको जीवनमा आनन्द कसरी लिने त भनेर २०६० सालदेखि उहाँले आयआर्जनका सबै काम बन्द गर्नुभयो । र सृजनात्मक काममा लाग्नुभयो । 

छोराले बोलाएर बेलायत गएपछि उहाँको पहिलो कृति बेलायततिरका तीस पाइला भन्ने पहिलो कृति निस्कियो । त्यसपछि उहाँले वर्षको एउटा कृति निकाल्नुपर्छ भन्ने लाग्यो । र, बिरामी भएका अवस्थामा बाहेक उहाँका कृतिहरु निस्कँदै आएका छन् । यसरी उहाँका अहिलेसम्म १४ वटा कृतिहरु निस्किसकेका छन् । 

उहाँ आफूलाई पहिलो पटक जागिर दिने चेतन कार्की, शिक्षामा प्रोत्साहन गर्ने मुक्तिनाथ गुरु, साहित्यमा रेडियो नेपालमा लगेर कविता भन्न लगाउने धर्मराज थापा अनि जागिरतर्फ उपल्लो पदमा जानका लागि प्रोत्साहित गर्ने रोहित बहादुर थापा (भेषबहादुर थापाका काका) लाई उहाँ आफ्नो जन्म दिने बाबुआमापछिको स्मरणीय व्यक्तिको रुपमा लिनुहुन्छ जुन कुरा उहाँले आफ्नो किताबमा पनि लेख्नु भएको छ । 

०००
विन्ध्यवासिनी आधार स्कूल चाम नारायण श्रेष्ठको घरमा थियो । स्कूलको लागि श्रेष्ठले निशुल्क रुपमा छिँडी दिनु भएको थियो । भदौ १ गते उहाँ पढ्न गएको दिन उहाँलाई अझै सम्झना छ । त्यस दिन घाम लागि रहेको थियो । उहाँहरु लामो गुन्द्री नभएर त्यसको सानो रुप जसलाई थर्कटी भनिन्छमा बसेको उहाँलाई सम्झना छ । पहिलो दिन बस्ने कुरा लिएर जानुपर्छ भन्ने पनि उहाँलाई थाहा थिएन । तर, उहाँले साथीहरुसँग मिलेर बसेको उहाँलाई अझै याद छ । कक्षामा यस्तै १० जना जति भएझैँ पनि लाग्छ उहाँलाई । उहाँको उमेर १० वर्षको थियो भने अरुको अझ ११/१२ भएझैँ लाग्छ उहाँलाई । 

उहाँ स्कूलमा भर्ना हुन् भनेर जानुभयो । प्रज्ञा सागर गुरु १ कक्षामा नाम दर्ता गराउँदै हुनु रहेछ । गुरुले उहाँलाई नाम सोध्नुभयो । उहाँले उठेर मेरो नाम गजाधर हो भन्नुभयो । उहाँले यति के भन्नु भएको थियो सबै साथी गलल्ल हाँसे । उहाँ अन्यमनस्क हुनुभयो । ‘गजाधर सोती की बुढी अलच्छिन रैछिन्’ भन्ने भानुभक्तको कविता त्यस बेला व्यापक थियो । त्यही कविताका कारण साथीहरु हाँसेका रहेछन् । 

उहाँ पहिलो दिन पढ्ने उत्साहका साथ भर्ना हुन जानु भएको छ । तर, साथीहरु सबै हाँसे । उहाँलाई भने त्यो कविताका कारण साथीहरु हाँसेको भन्ने थाहा थिएन । उहाँलाई मैले केही गल्ती गरेँ कि भन्ने मात्र भयो । 

तर, गुरुले तिमीले गल्ती गरेका होइनौ, ठिकै भनेका हौ । तर, साथीहरु हाँसेका कारण आजदेखि तिम्रो नाम गजाधर नभएर कलाधर राखौँ र त्यही नाम लेखौँ है भनेर अनुमति मागेर कलाधरको अर्थ पनि लगाइदिनु भयो । गुरुले  कलाधरको अर्थ यसरी लगाउनु भयो, कला भनेको चन्द्रमा हो । धर भनेको धारण गर्ने हो । चन्द्रमा धारण गर्ने शिवजी हो । कलाधर भनेको शिवजीको नाम हो । यो एकदम राम्रो नाम हो । ल, कलाधर राखौँ है भनेपछि उहाँले हस् गुरु भनेर भदौ १ गते गजाधर बनेर विद्यालय गएको मान्छे विद्यालयबाट फर्कँदा कलाधर बनेर फर्कनु भयो । जुन नाम आज पर्यन्त छँदैछ । 

उहाँको एसएलसी दिँदाको अर्को रोचक कुरा पनि छ । उहाँले मल्टी पर्पस नेशनल हाइस्कुलबाट २०१८ सालमा एसएलसी दिनुभयो । उहाँको घरमा रेडियो थिएन । यसो छिमेकीको घरमा कान थाप्दा बेलुकी एसएलसीको रिजल्ट भएको उहाँले थाहा पाउनु भयो । सँगैको चीन बहादुर बानियाँ भन्ने साथीलाई उहाँले तिमीलाई एसएलसीको रिजल्ट भएको थाहा छैन भनेर भन्नुभयो । उहाँले पनि अनभिज्ञता प्रकट गर्नुभयो । उहाँ त्यस बेला घाँस काटिरहनु भएको थियो । रिजल्ट थाहा पाउनु पर्यो भनेर उहाँहरु दुवै जना पोखरातिर जानु भयो । 

२०१५ सालमा रक्षा सहायक मन्त्री हुनु भएका मिनबहादुर गुरुङको निजी सहायक बनेर काम गर्नु भएका अंग्रेजी शिक्षक यदुनाथ अधिकारीसँग बगरमा भेट भयो । उहाँले केटा हो, एसएलसीको रिजल्ट आउट भयो थाहा छ कि छैन भन्नुभयो । उहाँहरु दुवै जनाले त्यही हेर्न त आएको भनेर भन्नुभयो । 

अधिकारीले ल हेर्ने भए तिमीहरुको सिम्बल नम्बर कति कति हो भन भन्नुभयो । पहिले चीनबहादुरजीले नम्बर भन्नुभयो । उहाँले नम्बर भनिसकेपछि रिजल्ट हेरेर ल बधाइ छ भनेर ची नबहादुरलाई भन्नुभयो । तर, उहाँको नम्बर हेरेर भने ल आलु खाइस् तैँले भन्नुभयो । 

उहाँ पढाइमा उम्दा विद्यार्थी हुनुहुन्थ्यो । कक्षामा पहिलो नभए पनि दोस्रो तेस्रोमा पर्नुहुन्थ्यो । त्यसैले उहाँ आफूलाई फेल नभइ राम्रैसँग पास हुन्छु भन्ने थियो । तर, अब अधिकारी गुरुले ल अब आलु खाइस् भनेपछि उहाँको होस हवास उड्यो । उहाँको अनुहार हेरेर अधिकारीले सेकेण्ड डिभिजन पनि हेरौँ त भन्नु भयो । त्यसपछि गुरुले ल पड्काएछ केटाले भनेर पिठ्युँमा धाप मार्नुभयो । फेल भइसकेको भनेको मान्छे एकै पटक सेकेण्ड डिभिजनमा पास भएको भनेपछि उहाँलाई महाभारतको युद्ध विजेता योद्धा झैँ भयो । 

०००

उहाँले पढ्नु भएको पृथ्वीनारायण क्याम्पस घरबाट एक घण्टाको पैदल दूरीमा थियो । ६ बजेदेखि शुरु हुने क्याम्पसका लागि उहाँ ५ बजे नै उठेर तयार भइसक्नु पथ्र्यो । कलेज पढ्दा उहाँ जागिर पनि भइसक्नु भएको थियो । अनि हतार हतार कलेज सकाएर अफिस जानु पर्थ्यो । यसरी दैनिक घर–अफिस–कलेज–घर गर्दा लगभग साढे चार घण्टा त पैदल नै हिँड्नु पथ्र्यो । 

पहिले पृथ्वीनारायण क्याम्पसका प्रिन्सिपल जर्ज जोनले कमर्शको पढाइ शुरु गर्नुभयो । तर, स्वीकृति भने लिइएको थिएन । बुढाथोकी रजिष्ट्रारले काठमाडाैँ  गएर स्वीकृति पठाइदिन्छु भन्नुभएको थियो । उहाँ पनि कमर्श नै पढ्नुहुन्थ्यो । तर, रजिष्ट्रार काठमाण्डौ आएको ६ महिना बित्दा पनि स्वीकृतिको पत्र आएन । उता पढाइ चल्दै थियो । ६ महिना पढाइ भइसकेपछि पूर्वाधार नपुगेकोले तुरुन्त बन्द गर्नु भन्ने पत्र पो आयो । अब उहाँलाई भने बडो अप्ठेरो पर्यो । उहाँको कमर्श पढ्ने तीव्र इच्छा पनि थियो । 

त्यस बेला मत्स्य विभागको निर्देशक पोखरा जानु भएको थियो । अनि उहाँले यहाँ ६ महिनासम्म कमर्श पढेर बन्द भएकोले काठमाडौँ ठाउँ भए सरुवा हुन पाउँ भनेर भन्नुभयो । निर्देशकले ठाउँ छ कि छैन हेरौँ भन्नुभयो । निर्देशक पोखराबाट काठमाण्डौ आएको सात दिनमा उहाँको सरुवा भयो । अब उहाँ काठमाण्डौमा जागिरे बनेर पढ्न पाउने हुनु भयो । 
जागिरे बनेर काठमाडौँ आएको हुनाले आर्थिक कठिनाइ भने रहेन । तर, गाह्रो सारो भने थियो । त्यस बेला उहाँहरु अफिस छुटेर गएर २० पैसाको खाजा खानुहुन्थ्यो लैनचौरमा । त्यस बेला २० पैसाको खाजा खाने भनेको राम्रो खाजा खानेमा पर्नुहुन्थ्यो उहाँहरु । 

२० पैसाको खाजामा ५ पैसाको चिउरा, १० पैसाको आलु अनि अर्को ५ पैसाको बाक्लो चिया खाएपछि के चाहियो । त्यस बेला हरिहर बस सर्भिस भनेर रत्नपार्कबाट पाटनसम्म चल्थ्यो । बसले २० पैसा लिन्थ्यो । 

बस ९ बजे छुट्थ्यो । उहाँ त्रिचन्द्रबाट पौने ९ बजे आएर चढ्नुहुन्थ्यो । एक दिन बस त चढ्नु भयो यसो छाम्दा पैसा नभएपछि उहाँ केही सामान छुटे जसरी ओर्लनु भयो । अनि त्रिचन्द्रमै पढ्ने एक जना साथी हिँडेर आउँदै रहेछन् र उहाँसँग हिँडेर कुपण्डोल सम्म आएका घटना पनि छन् ।   

उहाँ काठमाडौँ आउने बित्तिकै पदोन्नति पनि हुनुभयो । उहाँ एसएलसी पास भएर काठमाडौँ आउनु भएको थियो । अनि यहाँ खरिदारको दरबन्दी खाली रहेछ । त्यस बेला खरिदारको तलब १ सय २० रुपैयाँ थियो । जागिरले उहाँलाई खाँचो तथा फाँचोको अवस्थासम्म कहिले पनि पुर्‍याएन । 

०००

उहाँले पोखराको विन्ध्यवासिनी आधार स्कूलमा ३ कक्षामा हुँदा नै कविता लेख्न थाल्नु भएको थियो । उहाँ त्यस बेला १३ वर्षको हुनुहुन्थ्यो । त्यस बेला प्रत्येक शुक्रबार विद्यार्थीहरुले एक बजे कविता वाचन गर्ने भनेर मुक्तिनाथ गुरुले कार्यक्रम राख्नुभयो । अनि उहाँले पनि त्यस बेला कविता पाठ गर्नुभयो । कविताको शीर्षक के थियो थाहा नभए पनि मुक्तिनाथ गुरुले केटोले राम्रो लेख्दो रहेछ भनेको सम्झना छ उहाँलाई । त्यति मात्र नभएर त्यही कविताले एउटा सिसा कलम पुरस्कार पाएको पनि बिर्सनु भएको छैन उहाँले । 

पोखराबाट काठमाडौँ  आउँदा भने उहाँले आफूले लेखेका केही पनि लिएर आउनु भएन । त्यसको महत्व पनि थाहा भएन त्यस बेला उहाँलाई । काठमाडौँ  आएपछि धर्मराज थापासँग उहाँको भेट सिंहदरबारमा भयो । पूर्व परिचित भएकोले भाइ कविता भन्ने हो भनेर थापाले पाखुरा समातेर उहाँलाई रेडियो नेपालमा लिएर जानुभयो । 

त्यतिखेर यादव खरेलले काव्य कुञ्ज भन्ने साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । अनि थापाले तपाइँको कार्यक्रममा भाइलाई पनि समावेश गर्नुस् भनेर छोडेर जानुभयो । त्यसपछि लगातार उहाँले ५ पटक कार्यक्रममा कविता पाठ गर्नुभयो । पढाइ अनि कामको चापले गर्दा उहाँले रेडियोको काव्य कुञ्ज छोड्नु पर्यो । 

त्यस बेला जागिरमा पदोन्नतिका लागि यदि उसको कुनै कृति छ भने त्यसलाई पनि नम्बर दिने चलन थियो । त्यसकारणले पनि २०४५ सालमा उहाँले ‘नेपालको दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति’ भन्ने शीर्षकमा एउटा किताब लेख्नुभयो । कृतिले नम्बर पनि पायो । उहाँ उप–सचिव पनि हुनुभयो । 

२०४९ सालमा अवकाश पाइसकेपछि ५ वर्षजति उहाँले लेखापरीक्षणको काम पनि गर्नुभयो । त्यसपछि २०५६ सालदेखि उहाँ शब्दकोश निकाल्ने काममा पनि प्रबन्ध सम्पादकको रुपमा ५ वर्ष लाग्नुभयो वासुदेव त्रिपाठीको नेतृत्वमा । यसले उहाँको शब्द प्रतिको प्रेम, प्रयोग तथा अर्थका बारेमा पनि ज्ञान बढाउने काम गर्यो जसले उहाँलाई लेख्न थप प्रेरणा दियो । 

शब्दको अर्थ लेख्दा त्यसको व्युत्पत्ति के हो भनेर अक्सफोर्ड तथा क्याम्ब्रिजका शब्दकोशदेखि सबै केलाएर त्यसको अर्थ के हो भन्ने निचोडमा पुग्नु पर्थ्यो । एउटा शब्दको अर्थ लेख्न एक दिन लागेको उदाहरण पनि छ उहाँको । 

यसपछि भने उहाँ छोराले बेलायत बोलाएर बेलायत जानुभयो र बेलायत गएपछि ‘बेलायततिरका ३० पाइला’ भन्ने उहाँको पहिलो साहित्यिक कृति निस्कियो । जसको विमोचन बानेश्वरको सहकारी प्रशिक्षण केन्द्रमा भएको थियो । विमोचन कार्यक्रममा यस्ता विशिष्ट मान्छेहरु आउनु भयो कि यसले उहाँलाई लाग्यो ३० वर्ष काम गरेर दालभात खुवाएको जागिरले पनि यति सम्मान दिएको थिएन तर आजको एउटा कृतिले मलाई यति उच्च सम्मान दिलायो भने यो त मरेपछि बाँच्ने जीवन्त विधा रहेछ भन्ने उहाँलाई लाग्यो । 

उहाँ यसबाट यति प्रभावित हुनु भयो कि उहाँले लेखकीय मन्तव्यमा अब वर्षको एउटा साहित्यिक कृति निकाल्न लाग्छु भनेर घोषणा गर्नु भयो । र, २०६८ सालसम्म आउँदा उहाँका वर्षमा एउटा कृति निस्किए । त्यसपछि दुर्घटनमा परेर उहाँको हात भाँच्चियो । यसले लेखनमा वाधा पुर्‍यायो । । तर पनि उहाँका १४ वटा कृति प्रकाशन भएका छन् । 

खोलो बोल्छ भन्ने शीर्षकको कविता २०२४ सालमा रेडियो नेपालको साहित्यिक कार्यक्रम काव्य कुञ्जबाट प्रसारित भएपछि शुरु भएको उहाँको साहित्यिक यात्रामा नेपालको दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति, नेपालमा ग्रामिण विकासका अवधारणा, बेलायततिरका तीस पाइला, इन्द्रेनी, मेरो स्वदेश भ्रमण, सिड्नीको सेरोफेरो आदि गरेर १४ वटा कृति निस्किसकेका छन् । 

प्रबल गोरखा दक्षिण बाहु चौथो, शुभ राज्याभिषेक पदक, दीर्घ सेवा पदक, महाकवि देवकोटा शताब्दी स्वर्णपदक, भानुभक्त स्वर्णपदक जस्ता थुप्रै पुरस्कार र सम्मान पनि प्राप्त गर्नुभएको छ । 

दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान, नियात्रा समाज नेपाललगायत थुप्रै संस्थाहरुमा पनि आबद्ध हुनुहुन्छ ।