तानसेनका पूर्वमेयर शाही, पूर्व उपमेयर पाठकसहित १७ जना एकीकृत समाजवादीमा समाहित

तानसेनका पूर्वमेयर शाही, पूर्व उपमेयर पाठकसहित १७ जना एकीकृत समाजवादीमा समाहित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७९

पाल्पा । नेकपा एमाले पाल्पाका १७ जना प्रभावशाली नेताहरुले एक प्रेस विज्ञप्ती प्रकाशित गरी नेकपा एकीकृत समाजवादीमा  समाहित भएको जनाएका छन् ।

एमालेमा अन्याय, अत्याचार र दास प्रवृत्ति मौलाउँदै गएकाले कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहितले पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टी परित्याग गर्नेमा तानसेनका पूर्वमेयर अशोककुमार शाही, पूर्व उपमेयर लक्ष्मीदेवी पाठक, नेताहरू भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्ण कुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे रेहका  छन् ।

एमालेमा दोहरो मापदण्ड अपनाइएका कारण पुराना इमान्दार र योग्य कार्यकर्ता पार्टीको मुल धारबाट अलग हुँदै जाने वाध्यात्मक परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । एमाले जिल्ला नेतृत्वले सधैंभरि संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्ने गतिविधिलाई प्रश्रय दिने काम मात्रै गरेको उनीहरूको भनाइ छ ।

‘हामी पञ्चायतदेखि नै तत्कालीन नेकपा माले र पछि एमालेमा आवद्ध भई ज्यान हत्केलामा राखेर पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका इमान्दार, माक्र्सवाद प्रति प्रतिवद्ध निष्ठावान कार्यकर्ता हौं । यो बीचमा विभिन्न ढंगले योजनाबद्ध रुपमा प्रहार भए । अझैपनि अत्याचार सहनु भनेको कुकर्मलाई प्रश्रय दिनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा व्याप्त विसंगति र विकृति विरुद्ध मौन रहन हुँदैन भन्ने महसुस गरेका छौँ । यो वा त्यो बहानामा, मनगढन्ते आरोप लगाएर जिम्मेवारी विहिन तुल्याउने तथा किनारामा पुर्याउने प्रवृत्ति हाबी भएपछि अलग हुने निर्णय लिएका हौं ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।