माओवादी पदाधिकारी चयनको माथापच्ची:  पुराना अडिएनन्,  नयाँ मिलेनन्

लोकसंवाद टिप्पणी

माओवादी पदाधिकारी चयनको माथापच्ची:  पुराना अडिएनन्,  नयाँ मिलेनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७९

निकै लामो माथापच्ची  माओवादी केन्द्रको पदाधिकारी टुंगो लागेको छ । अध्यक्ष प्रचण्डले तीन चरणमा पदाधिकारीलाई पूर्णता दिएका हुन् । गत पुसमा सम्पन्न आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्‍यो । प्रचण्डले २३ असारमा नारायणकाजी श्रेष्ठ प्रकाशलाई वरिष्ठ उपाध्यक्ष छाने । 

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष चयन गरे पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको लडाइका कारण अन्य पदाधिकारी चयन हुन सकेनन् । पार्टीको महाधिवेशन हुँदा महासचिवका दावेदार नेता वर्षमान पुन चीनमा उपचार गराइरहेका थिए । पुन उपचारबाट फर्किएपछि पदाधिकारी चयन गर्ने भने पनि प्रचण्डले आकांक्षी शर्मा र पुनलाई व्यवस्थापन गर्न सकेका थिएनन् । बुधबारदेखि बसेको स्थायी कमिटी बैठकबाट उनले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएका छन् ।

सबैभन्दा चासोपूर्वक हेरिएको महासचिव पदमा प्रचण्डले नेता देव गुरुङलाई चयन गरेका छन् । शर्मा र पुनको प्रतिस्पर्धामा पार्टीको चौथो वरीयतामा रहेका नेता गुरुङले महासचिव बन्ने अवसर पाए । यसअघि नै केही समय महासचिव बनेका कृष्णबहादुर महरा उपाध्यक्ष बनेका छन् । 

महासचिवका दाबेदार जनार्दन शर्मा र वर्षमान पुन दुवैजना उपमहासचिव भएका छन् । उपमहासचिवमा पुन र शर्मासँगै पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल चयन भएका छन् भने सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की तथा कोषाध्यक्षमा श्रीराम ढकाल चयन भएका छन् । माओवादीको २१ सदस्यीय पदाधिकारीमा महिलाबाट पम्फा भुसाल मात्रै परेकी छन् । 

९ वर्षपछि पदाधिकारीमा शहीद परिवार

माओवादीलाई देशकै प्रमुख राजनीतिक शक्ति बनाउन हजारौं ले बलिदान गरे । तर बलिदान गर्ने शहीदका परिवार भने माओवादीको प्रमुख नेतृत्वमा पुग्ने अवसर पाएकै छैनन् । ९ वर्षअघि पोस्ट बहादुर बोगटीको निधन भएपछि माओवादीको पदाधिकारीमा शहीद परिवारको प्रतिनिधित्व थिएन । तर यसपटक गोरखाका हितराज पाण्डे शहीद परिवारबाट २१ सदस्यीय पदाधिकारीमा चयन भएका छन् । उनी सचिव बनेका छन् ।

पहिलो पटक स्थायी कमिटीमा पुगेका पाण्डे पदाधिकारीमा समेटिएका हुन् । गोरखाको लक्ष्मी माध्यामिक विद्यालयको प्रधानाध्यापकको जागिर छाडेर २०५२ सालमा जनयुद्धमा होमिएका पाण्डेका जेठा छोरा मिलन पाण्डेको २०६० साल पुस ४ गते नेपाली सेनाले हत्या गरेको थियो । उनका दुई छोरा, एक छोरी र श्रीमती सहित पाँचै जना जनयुद्धमा लागेका थिए ।

माओवादीका २१ पदाधिकारीमध्ये चार जना पहिलो पटक स्थायी कमिटी हुँदै पदाधिकारी बन्न सफल भएका छन् । पदाधिकारी बन्ने अधिकांश यसअघि नै स्थायी समितिमा रहेकाहरु छन् । तर सचिव हितराज पाण्डे र डिलाराम आचार्य तथा कोषाध्यक्ष श्रीराम ढकाल पहिलो पटक स्थायी समिति सदस्य बनेका हुन् । उनीहरु पहिलो पटक नै पदाधिकारी बन्न सफल भएका छन् ।  

दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा २ बाट निर्वाचित उनी प्रचण्डका विश्वासपात्र मानिन्छन् । दुई पटक मन्त्री भएका उनी तीन पटक पार्टीको केन्द्रीय कार्यालय सचिव भएका छन् । २०७४ मा उनी संघीय मामिला तथा स्थानीय विकासमन्त्री बनेका थिए । 

हितराज पाण्डेभन्दा अघि शहीद परिवारबाट पोस्ट बहादुर बोगटी पदाधिकारी थिए । हेटौंडा महाधिवेशनबाट महासचिव बनेका बोगटी विराटनगरमा भएको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष भएका थिए । उनका छोरा रविको सेनाले हत्या गरेको थियो । बोगटीको २०७१ भदौ ३० मा हृदयघात र मस्तिष्क घातका कारण मृत्यु भएको थियो ।

पुराना अडिएनन्, नयाँ मिलेनन् 
युद्ध काल भरि नेतृत्व केन्द्रीकरण गरेको माओवादी शान्ति प्रक्रिया लगत्तै बहु पदीय संरचनामा गयो । जसअनुसार प्रचण्ड अध्यक्षमा कायमै रहे भने मोहन वैद्य वरिष्ठ उपाध्यक्ष र बाबुराम भट्टराई उपाध्यक्ष, रामबहादुर थापा महासचिव, सिपी गजुरेल र पोस्टबहादुर बोगटी सचिव थिए । २०६५ सालमा माओवादी र नेकपा एकताकेन्द्रबीच एकता भयो र नारायणकाजी श्रेष्ठ तेस्रो उपाध्यक्ष भए । माओवादी पदाधिकारीको यही सेट २०६९ सम्म कायम थियो ।

२०६९ सालमा वैद्य नेतृत्वमा पार्टी विभाजित भयो । जसमा वैद्यसहित महासचिव थापा र सचिव सिपी गजुरेल बाहिरिए । उनीहरुसँगै देव गुरुङ पनि वैद्यको पार्टीमा गए भने सो पार्टीमा जाने अर्का प्रभावशाली नेता थिए नेत्रविक्रम चन्द विप्लव । नयाँ पार्टीमा वैद्य अध्यक्ष र गजुरेल उपाध्यक्ष बन्दा थापा महासचिव र गुरुङ र विप्लव सचिव थिए । २०७३ सालमा थापा र गुरुङ वैद्य माओवादीको बहुमत नेताहरु लिएर प्रचण्ड नेतृत्वको माओवादीमा नै फर्किए । यसरी फर्किने मध्ये अर्की प्रमुख नेता पम्फा भुसाल अहिले उपमहासचिव बनेकी छन् । २०७५ सालमा एमालेसँग एकता भएर २०७७ मा विभाजन भएपछि थापा एमालेमै बसेर अहिले उपाध्यक्ष छन् । 

वैद्यपछि दोस्रो उपाध्यक्ष रहेका बाबुराम भट्टराई पनि २०७२ सालमा पार्टी फुटाएर हिँडे । भट्टराईको साथमा लागेका प्रमुख नेता थिए, देवेन्द्र पौडेल । तर उनी केही समयपछि प्रचण्डसँगै फर्किए र अहिले सचिव बनेका छन् । माओवादीमा पम्फा भुसालपछि सिनियर महिला नेतृ हिसिला यमी बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीमा छिन् । पदाधिकारीमा रहेका पुराना नेतामध्ये पोस्टबहादुर बोगटीको निधन भए पनि पुराना पदाधिकारीमा अब प्रचण्ड र नारायणकाजी श्रेष्ठ मात्रै छन् । अन्य पदमा सबै नयाँ अनुहार आएका छन् । नयाँ नेताहरु पनि पदीय भागबण्डामा मिल्न सकेका छैनन् । जनार्दन शर्मा र वर्षमान पुनको माथिदेखि तलै सम्म गुट क्रियाशील छ । जसले गर्दा प्रचण्डलाई नै पदाधिकारी चयनमा सकस परेको थियो । तत्कालका लागि दुवैलाई उपमहासचिव बनाएर प्रचण्डले समस्या तत्कालका लागि हल गरेका छन् । 

चार जना पहिलो प्रयासमै पदाधिकारी

माओवादीका २१ पदाधिकारीमध्ये चार जना पहिलो पटक स्थायी कमिटी हुँदै पदाधिकारी बन्न सफल भएका छन् । पदाधिकारी बन्ने अधिकांश यसअघि नै स्थायी समितिमा रहेकाहरु छन् । तर सचिव हितराज पाण्डे र डिलाराम आचार्य तथा कोषाध्यक्ष श्रीराम ढकाल पहिलो पटक स्थायी समिति सदस्य बनेका हुन् । उनीहरु पहिलो पटक नै पदाधिकारी बन्न सफल भएका छन् । राम कार्की पनि पहिले स्थायी समितिमा भए पनि एमालेसँगको एकतापछि उनी स्थायी समितिमा परेका थिएनन् । उनी यसपटक स्थायी समिति हुँदै पदाधिकारी बनेका छन् ।