दाङमा प्राकृतिक विपतबाट २६ जनाको मृत्यु

दाङमा प्राकृतिक विपतबाट २६ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७६

दाङ । प्राकृतिक विपतमा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपतमा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सर्पदंशका कारण तीन महिला र तीन पुरुष गरी छ जनाको मृत्यु भएको थियो । त्यस्तै करेन्ट लागेर पाँच, माटोको ढिस्कोले पुरिएर पाँच, आगलागीका कारण चार, पानीमा डुबेर दुई र चट्याङमा परी दुई जनाको मृत्यु भएका थिए । सो अवधिमा विपतमा परी ६ जना घाइते भएका थिए ।

विपतका कारण गत वर्ष जिल्लामा २१५ घरपरिवार विस्थापित भएको थियो । जसमा सबैभन्दा धेरै हावाहुरीका कारण ६५ घरपरिवार, आगलागीका कारण ९१, भारी वर्षात्का कारण ५८ र चट्याङका कारण एक परिवार विस्थापित हुनुपरेको केन्द्रका संयोजक खिलानाथ ढकालले जानकारी दिए ।

गत वर्ष विपतका कारण जिल्लामा रु १२ करोड ७५ लाख एक हजार ५५० मूल्य बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । तीमध्ये अहिलेसम्म रु १२ लाख ५१ हजार जिल्ला प्रशासन कार्यालयमार्फत् पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको केन्द्रका संयोजक दाहालले जानकारी दिए । उनका अनुसार प्राकृतिक विपत हावाहुरी, आगलागी, चट्याङ, वर्षात र पहिरोका कारण धेरै घर, गोठलगायत सरकारी संरचनामा समेत असर पुर्याएको छ ।

गत वर्ष जिल्लामा हावाहुरीका ६५, आगलागीका १०२, भारी वर्षात्का ६०, करेन्टसम्बन्धी ११, पानीमा डुबेका ११, चट्याङसम्बन्धी आठ, सर्पदंश डसेका सात र बाढीका तीन गरी कूल २८० विपतका घटना भएको केन्द्रले जनाएको खबर राससमा छ ।