एकीकृत समाजवादी: पार्टी पुनर्गठन दिवस मनाउँदै

एकीकृत समाजवादी: पार्टी पुनर्गठन दिवस मनाउँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ५, २०७९


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो ।

पार्टीका जनवर्गीय सङ्गठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्ने छन् । करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा सङ्गठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा सङ्गठन विस्तार गर्ने क्रममा छ । नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही नेता तथा कार्यकर्ताले विद्रोह गरी उक्त पार्टी स्थापना गरिएको थियो ।

पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समय तालिका तय गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्ने जनाइएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र निर्णय गर्नेछ ।