कालिका मन्दिरमा करिब दश महिनामा १३ लाख २९ हजार सङ्कलित भेटी र गरगहना सार्वजनिक

कालिका मन्दिरमा करिब दश महिनामा १३ लाख २९ हजार सङ्कलित भेटी र गरगहना सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ६, २०७९

बागलुङ ।  बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ ।  समितिले आइतबार पत्रकार सम्मेलन आयोजना  गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताउनुभयो । 

 सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्फ पनि तिलहरी, घोडा, औँठी, पाउजू जस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो । 

वि.सं.२०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उहाँले जानकारी दिनुभयो । 'केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो' , अध्यक्ष खड्काले भन्नु भयोे, 'सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।' कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन् । 

मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । त्यस्तै मासिक रुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै  १३ लाख २९ हजार आर्थिक सङ्कलन भएको जनाइएको छ । सो आम्दानीबाट नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खिर खुवाउने कार्यक्रम लगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ । 

कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराउनुभएको थियो । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।