प्रदीप गिरी : धेरैलाई मार्क्सवाद पढाए र कम्युनिस्ट बनाए, तर आफू कहिल्यै भएनन्

प्रदीप गिरी : धेरैलाई मार्क्सवाद पढाए र कम्युनिस्ट बनाए, तर आफू कहिल्यै भएनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ६, २०७९

प्रदीप गिरी, अर्थात कम्युनिस्ट विचारधाराका काँग्रेस । नेपालमा हरेकजसो परिवर्तनका आन्दोलनलाई हेर्ने प्रदीप गिरीको आफ्नै चस्मा थियो, वैचारिक चस्मा । गिरी बौद्धिक र समाजवादी विचारधाराका नेता हुन्, जसले धेरैलाई माक्र्सवाद पढाए र कम्युनिस्ट बनाए । तर उनी आफैं भने कहिल्यै कम्युनिस्ट भएनन् र कम्युनिस्टबाट टाढा पनि रहेनन् । 

निकै लामो राजनीतिक जीवनमा उनी चार पटक सांसद भए । मन्त्री बन्न पटक पटक आएका प्रस्ताव उनले स्वीकार गरेनन् । अध्ययनशील र आफ्ना विषयलाई अत्यन्तै प्रष्ट र निर्भीक रुपमा राख्नसक्ने खुबी भएका नेताका रुपमा उनलाई स्मरण गरिन्छ । संसदमा धेरैले आफ्ना विषयहरु पटक पटक राखिरहन्छन्, तर जब प्रदीप गिरी बोल्थे, तब एउटा सांसदको रुपमा उनको बलियो उपस्थिति हुन्थ्यो ।

केही समयअघि उनले एउटा अन्तर्वार्तामा अहिलेका सांसदहरुको भूमिका सरकार र जनता बीचको बिचौलियाको भएको भन्दै अहिलेको पद्धति र प्रणालीमा थुप्रै खराबीहरू रहेको तथा यसलाई सुधार नगरेसम्म अघि बढ्न नसकिने बताएका थिए । यो व्यवस्थामा मन्त्री भएर उल्लेख्य काम गर्न नसक्ने र औपचारिकता तथा आसेपासे को फन्दामा परिने भयले नै होला उनले मन्त्री बन्न मन गरेनन् । 

बरु उनले राष्ट्रका साझा मुद्दा, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा मिहीन ढंगले प्रष्ट रुपमा र सरल भाषामा राख्थे । भलै उनले संसदमा गम्भीर रुपमा उठाएका मुद्दालाई सरकार र सरोकारवालाले गम्भीर रुपमा लिएनन् । आफ्ना चित्त दुखाई हरु उनले संसदमै पटकपटक राखेका छन् । आफ्ना विचार राख्ने मिडिया र साहित्यपछि उनको अर्को माध्यम संसद नै थियो । आफूलाई मार्क्सवादको प्रकाण्ड विद्वान ठान्ने नेताहरु पनि प्रदीप गिरीका अघि चुप लाग्थे । 

जीवनमा मन्त्रीसम्म पनि नबनेर एउटा सादगी, अध्ययनशील, विचारक र कुनै पनि विषयमाथि गहिरो अध्ययनपछि मात्रै आफ्ना धारणा राख्ने भएकाले उनी सबैका प्रिय थिए । त्यही भएर नै उनलाई काँग्रेसले जति आफ्नो ठान्थ्यो, कम्युनिस्टले पनि उत्तिकै आफ्नो मान्थे । उनको सादगी पन र सिद्धान्त निष्ठ नेताको छवि आइतबार सानेपा देखि आर्यघाटसम्म लागेको अनुयायी हरुको लर्कोले देखाउँथ्यो । निकै लामो राजनीतिक यात्रामा कहिल्यै पनि विवादमा नआउनु उनको अर्को विशेषता हो । त्यसैले नेपालभित्र मात्रै नभएर भारतमा समेत उनको निधनमा गहिरो शोक व्यक्त गरिएको छ । 

प्रदीप गिरी चार पटक काँग्रेसबाट सांसद भए । तर उनले संसदमा बोल्ने विषय कहिल्यै पनि काँग्रेसका एजेण्डा हुदैन थिए । बरु उनले राष्ट्रका साझा मुद्दा, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा मिहीन ढंगले प्रष्ट रुपमा र सरल भाषामा राख्थे । भलै उनले संसदमा गम्भीर रुपमा उठाएका मुद्दालाई सरकार र सरोकारवालाले गम्भीर रुपमा लिएनन् । आफ्ना चित्त दुखाई हरु उनले संसदमै पटकपटक राखेका छन् । आफ्ना विचार राख्ने मिडिया र साहित्यपछि उनको अर्को माध्यम संसद नै थियो । आफूलाई मार्क्सवादको प्रकाण्ड विद्वान ठान्ने नेताहरु पनि प्रदीप गिरीका अघि चुप लाग्थे । 

सधै आलोचनात्मक चेत, धारिलो वौद्धिक क्षमता, विषयवस्तु प्रतिको गहिरो बुझाइले उनी काँग्रेसभित्र भन्दा बाहिर र विरोधी पार्टीमा सधैं लोकप्रिय भइरहे । उनले चित्त नबुझेका कुरामा यो मेरो पार्टी हो, मेरो पार्टीको नेता हो भन्ने सोच कहिल्यै राखेनन् । खुलेआम रुपमा आफ्ना पार्टी र विरोधी पार्टीका नेताहरुमाथि कठोर प्रहार गर्न सक्ने उनको खुबी थियो । त्यसैले त उनले पदका लागि कहिल्यै कसैको चाकडी गरेनन् । राजनीति र नेताहरुको सीमा, बाध्यता, विगत र वर्तमानबारे तार्किक रुपमा बोल्नसक्ने उनको जस्तो कला समकालीन राजनीतिमा कसैको पनि छैन । 

नेता गिरीलाई स्मरण गर्दै काँग्रेस नेता शेखर कोइराला भन्छन्, ‘उहाँ निडर मान्छे हुनुहुन्थ्यो । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ । र उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवन हो ।’ 

नेपालको राजनीतिमा उनको प्रतिबद्धता अजीव को थियो । उनी काँग्रेसमा बीपी कोइरालासँग आँखा जुधाएर बहस गर्न सक्ने नेता थिए । बीपी कोइरालाले ल्याएको प्रजातान्त्रिक समाजवादको व्याख्याताका रुपमा गिरीलाई चिनिन्छ । राजनीतिलाई सीमित वर्गको शोषणको साधन नबनाई राष्ट्र हितका लागि सही दिशा पहिल्याउने, राष्ट्रियतालाई बलियो बनाउने र जनताका अधिकारलाई हमेसा स्थापित गर्ने दिशामा उनले सधैं आफूलाई अग्र मोर्चामा उभ्याए ।

आफ्ना र आफ्नो पार्टीका स्वार्थमा दलहरुले महिनौंसम्म संसद अवरोध गर्छन् । तर गिरी ती सांसदमा पर्दैन थिए, जसले पार्टीगत स्वार्थका लागि अत्तो थापेर अवरोध गर्छ, उनले पटक पटक आफ्नै पार्टीको सरकारमाथि प्रश्न उठाए । पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले ‘जनताले जिन्दावाद भन्ने गरी काम गर्न’ संसदबाटै आग्रह गरेका थिए । उनी साँच्चै पार्टीगत स्वार्थभन्दा माथि उठेका सांसद थिए । उनलाई पार्टीका कुनै अनुशासनको बन्धनले बाँधेन, कुनै सीमाले सीमित गरेन, समाज र विषय वस्तु प्रतिको गहिराई, विवेक र बौद्धिकताले सधैं जित्यो । तर ७५ वर्षको उमेरमा उनले जीवनसँग हारे । अल बिदा साझा नेता प्रदीप गिरी !!