यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १३, २०७६

रसुवा । भूकम्पपछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिन–रात काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ ।

सम्भवतः यही जेठ १७ गते २०७२ वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ । विगत केही दिनदेखिको काम हेर्दा लाग्छ– चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरूपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन् ।

होटल, गेस्टहाउसमा पनि नयाँ मान्छे देखिन थालेका छन् । थप केही स्थानमा सडक पुनःनिर्माण भइरहेको छ । नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् । उनीहरूको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ । वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएका फर्किएर आएका छन् । 

नेपाल सरकारको पटक–पटकको आग्रहपछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन सांकेतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् ।

मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ । केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन् । सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ ।

चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बसेका तिलकबहादुर मगर ‘साइँला’ अरुभन्दा बढी खुसी छन् । भन्छन्, ‘भूकम्पपछि तातोपानी बजार क्षेत्रमा कोही मान्छे नै देखिँदैन थिए । असाध्यै कष्ट थियो । मानिसहरू पीडामा थिए । विस्तारै चोट लागेको घाउमा मलमपट्टी भयो । यतिखेर पुनःनाका खुल्न लागेको छ ।’
उनी नाका पहिलेजस्तै व्यस्त होला र यसबाट धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा छन् ।

भोटेकोशी गाँउपालिका–२ का वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका बन्द हुँदा धेरै स्थानीयवासीले सास्ती भोग्नुपरेको स्मरण गर्छन् । ‘व्यस्त बजार एकाएक खण्डहर बन्दा कसको मन नपोल्ला र ? हामीलाई त्यस्तै भयो । हजारौँको रोजगारी खोसियो, देशले ठूलो राजश्व गुमायो । व्यापार व्यवसाय चौपट भयो,’ वडाअध्यक्ष श्रेष्ठ भन्छन्, ‘तातोपानीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिको हैसियतले जे–जे गर्नुपर्छ, म सबै गर्न तयार छु ।’

नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए । दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए । होटल व्यवसाय चौपट भयो । सीमा क्षेत्रमा नेपाल र चीन सम्बन्धमा आघात पर्ने कुनै पनि खालको गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्ने योजनामा लागेको छ भोटेकोशी गाउँपालिका । गाउँपालिका प्रमुख राजकुमार पौडेल भन्छन्, ‘हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौँ । लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ । छिमेकी देशविरुद्ध हुने कुनै पनि गतिविधि हाम्रा लागि मान्य छैन ।’

गाउँपालिकाले नै सीमा क्षेत्रमा अरनिकोको मूर्तिसहितको आकर्षक गेट बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को तयारी थालेको छ । भुइँचालोपछि सुनसान जस्तै बनेको तातोपानी धारामा नुहाउन जानेको संख्यामा पनि बढोत्तरी भएको छ ।

नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भने, ‘हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।’ भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्रमा बढेको चहलपहलले शेर्पालाई खुसी तुल्याएको छ ।

भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन् । अर्का  स्थानीयवासी मिङमा शेर्पा भन्छन्, ‘नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो ।’

नाका खुलाउन गरेको प्रयास स्मरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा भन्छन्, ‘लामो र अथक प्रयासले सार्थकता पाउँदैछ । गरे के हुँदो रहनेछ भन्ने पनि स्थापित भएको छ ।’

‘भूकम्प गएलगत्तै बन्द भएको नाका खुलाउन चार वर्षको बीचमा दर्जनौ पटक तत्कालीनदेखिदेखि वर्तमानसम्मका प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, यहाँस्थित चिनियाँ दूतावास तथा कुटनीतिक रूपमा पनि ठूलो प्रयास गरेको उनले सुनाए ।

स्थानीयवासीसमेत सिन्धुपाल्चोककै नेता भएका कारणले पनि नेता सापकोटाले सुरुदेखि नै नाका खुलाउन गरेको प्रयासको बारेमा जानकार छन् । ती मध्येका एक हुन्, विष्णु श्रेष्ठ । श्रेष्ठले भने, ‘सरकार नै लागेर नाका खुलाएको हो । तर, जिल्लावासी नेतासमेत भएकाले सापकोटाले गर्नुभएको प्रयास र मेहनत साँच्चै लोभलाग्दो छ ।’

सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक हिरासिंह महरा शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताए । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कृष्ण बस्नेत नाका सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । ‘केही प्राविधिक काम भइरहेको छ । कार्यालय तयारी हालतमा छ । कर्मचारीको व्यवस्थापन समेत भइसकेको छ ।’ 

गृह मन्त्रालय मातहतको अध्यागमन विभागले पनि अध्यागमन कार्यालय स्थापना गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भने, ‘लामो समयपछि खुल्न लागेको नाकालाई व्यवस्थित बनाउन त केही समय लाग्ला । तर, तत्कालका लागि हामीले आवश्यक व्यवस्थापन गरिसकेका छौं ।’

गृहमन्त्री रामबहादुर थापाका अनुसार नाकालाई व्यवस्थित गर्न मन्त्रालयमातहतका सबै निकायलाई व्यवस्थित, मर्यादित र भरपर्दो बनाएर सञ्चालन गर्ने गरी तयारी गरिएको छ । उनले छिमेकको चासोलाई समेत सम्बोधन गर्ने गरी शान्ति सुरक्षाको सबै प्रबन्ध गरिएको र कुनै पनि कमजोरी हुन नदिनेमा गृह मन्त्रालय एकदमै सचेत रहेको बताएको खबर राससमा रमेश लम्सालले लेखेका छन् ।