ओली बाहेकका कम्युनिस्ट जुट्ने अभ्यास : बर्तमानदेखि भविष्यको संसद्मा ठुलो दल बन्ने जमर्को

लोकसंवाद टिप्पणी

ओली बाहेकका कम्युनिस्ट जुट्ने अभ्यास : बर्तमानदेखि भविष्यको संसद्मा ठुलो दल बन्ने जमर्को

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ७, २०७९

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निर्वाचनमा साझा घोषणापत्र हुँदै पार्टी एकता गर्न तयार भएका छन् । नेपालका कम्युनिस्ट पार्टीबीच एकताभन्दा बढी फुटका शृङ्खलाहरू बढी रहने गरेका छन् ।

२०७५ साल जेठ ३ गते नेपालका दुई ठूला कम्युनिस्ट पार्टी माओवादी र एमालेबीच एकता भएको थियो । यो एकताले कम्युनिस्ट पार्टी संसदीय मोर्चामा बलियो शक्तिका रुपमा  उदाउँदै स्थापित समेत भयो । तर अध्यक्ष केपी शर्मा ओलीको हठ, दम्भ र अहंकार ले पार्टी एकता र जनमत दुवै खण्डित हुन पुग्यो ।

ओलीले पार्टीलाई आफ्नो निजी कम्पनीका रुपमा चलाउने, जनमत आफ्ना कारण मात्रै आएको भ्रममा सरकारमा मनोमानी र मनपरी गर्न थालेको आरोप सहकर्मी हरुले लगाउन थाले । जसका कारण तत्कालीन नेकपाको ठूलो पंक्ति अर्थात्  पार्टीका बहुमत सदस्य ओली अहंकार विरुद्ध उभिए । भित्रभित्रै एकै ठाउँमा बस्न र हिँड्नै नसक्ने अवस्थामा रहेको समयमा  सर्वोच्च अदालतले राजनीतिक फैसला गर्दै २३ फागुन, २०७७ मा माओवादी र एमालेलाई  आ-आफ्नो  बाटो हिड्न तम्तयार भएर हिँडे । 

गत वर्ष मात्र एमाले पनि माधवकुमार नेपालको नेतृत्वका विभाजित भयो र एकीकृत समाजवादी बन्यो । अब माओवादी र एकीकृत समाजवादी फेरि एकताको दिशातिर अघि बढ्ने शंख घोष गरेका छन् । केपी ओलीको अहंकार विरुद्ध एक भएर संघर्ष गरेका माधवकुमार नेपाल र प्रचण्ड सर्वोच्चको आदेशमा एमाले र माओवादी ब्युँतिदा पनि सल्लाहमा नै छुटेका थिए । त्यसबेला ओलीविरुद्ध संघर्ष गरेका भीम रावलसहितका केही नेताहरु एमालेमा नै छोडिएका छन् भने यो एकतामा वामदेव गौतम र बाबुराम भट्टराई समेत समाहित हुने तयारीमा जुरमुराइ रहेका छन् । 

कम्युनिस्ट पार्टीका मुख्य घटकहरु लामो विभाजनको शृङ्खला तोड्दै फेरि एकताको अभियानमा अघि बढेका सन्देश दिने अभ्यास भइरहेको छ । यो एकता भएमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु फेरि एउटै पार्टीमा जुट्ने सम्भावना छ । 

२०७४ को निर्वाचनअघि घोषणा भएको गठबन्धनमा सुरुमा बाबुराम भट्टराई पनि सामेल थिए । तर गोरखामा सिट बाँडफाँटमा समस्या भएपछि गठबन्धनबाट बाहिरिएर काँग्रेससँग गठबन्धन गरी अघिल्लो निर्वाचन जितेका थिए । केही दिनअघि नै उनी माओवादी केन्द्रको निर्वाचन चिन्हबाट चुनाब लड्ने र घोषणापत्र साझा बनाउन सहमत भइसकेको  अवस्था छ । 

अब माओवादी र एकीकृत समाजवादी पनि साझा घोषणापत्र लिएर आगामी निर्वाचनमा होमिन तयार भइ तीन बुँदे सहमति भइसकेको जानकारी दिइसकेको छ । जसबाट नेपाली राजनीतिमा एमाले र काँग्रेससँगै तेस्रो शक्तिशाली पार्टीको जन्मने अनुमान गर्न थालिएको छ । 

चुनावमा साझा घोषणापत्र हुँदै पार्टी एकतासम्म पुग्ने विषयमा सोमबार ललितपुरको हात्तिवनस्थित प्रचण्डका एक नातेदारको घरमा भएको छलफलमा दुवै दलका नेताहरू एकताको औपचारिक प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । दुई पार्टीबीच ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै पार्टी एकता गर्नेगरी गृहकार्य सुरु गर्न नेताहरु तयारीका लागि पार्टी एकता स‌ंयोजन समिति बनाउने औपचारिक निर्णय गरि सकेका छन् । 

प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३ र बाबुराम भट्टराईसँग २ सांसद छन् । काँग्रेससँग हाल ६० जना सांसद छन् । यसरी हेर्दा चार शक्ति एक ठाउँ उभिदा काँग्रेसभन्दा १५ सिटले माथि हुनेछन् । यद्यपि तत्कालका लागि काँग्रेस र एमालेसँगको प्रतिस्पर्धी शक्ति निर्माण तथा दीर्घ कालका लागि बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि यो पहलले महत्त्वपूर्ण अर्थ राख्ने राजनीतिक मञ्चहरुमा  चर्चाले स्थान पाउन थालेको छ । 

केही दिनभित्रै पार्टी एकता संयोजन समिति गठन गर्ने र एकताको अवधारणा पत्र तयार गर्ने सहमति भएको छ । एकता संयोजन समितिमा दुवै दलका पाँच पाँच जना सदस्य रहनेछन् । समितिको नेतृत्व दुवै दलका अध्यक्षले गर्नेछन् । 

१ भदौमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु एकता संयोजन समितिमा रहनुपर्ने सुझाव दिएका थिए । सोही अनुसार दुवै दलका शीर्ष नेताहरु समितिमा रहनेछन् । 

तत्कालीन नेकपाको विघटन, केपी ओलीको अहंकार विरुद्ध एकैठाउँमा उभिदै आएका दुई शक्ति वर्तमान सत्ता गठबन्धनमा पनि सँगै छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्ता गठबन्धन बाटै चुनाव लड्न लागेका दुबै दलले घोषणापत्र तयार पार्न समिति बनाइसकेका छन् ।

एकीकृत समाजवादीले उप महासचिवहरू प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर र डा.विजय पौडेल रहेको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ भने माओवादीले पनि नारायणकाजी श्रेष्ठ नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ । पार्टी एकता नहुँदा अलग अलग घोषणापत्र लिएर जाने दुवै दलको तयारी भए पनि अब पार्टी एक हुने अवस्थामा साझा घोषणापत्र तयार गर्न दुवै दल सहमत छन् । यही घोषणापत्रमा बाबुराम भट्टराई र वामदेव गौतम पनि चुनाव लड्नेछन् ।

यसरी अलग अलग रुपमा रहेका दलहरु चुनाव हुँदै पार्टी एकतासम्म एउटै मोर्चामा उभिदा संसदको अंक गणितमा काँग्रेसभन्दा ठूलो शक्ति बन्नेछ । आगामी निर्वाचनमा सिट बाँडफाँड गर्दा २०७४ को निर्वाचनको परिणाम र २०७९ को स्थानीय निर्वाचनलाई आधार मान्ने भनिएको छ । त्यसो हुँदा यी शक्ति एक ठाउँ उभिनु ले ठूलो अर्थ राख्छ र काँग्रेसभन्दा बढी सिटमा दाबी हुनसक्छ । 

प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३ र बाबुराम भट्टराईसँग २ सांसद छन् । काँग्रेससँग हाल ६० जना सांसद छन् । यसरी हेर्दा चार शक्ति एक ठाउँ उभिदा काँग्रेसभन्दा १५ सिटले माथि हुनेछन् । यद्यपि तत्कालका लागि काँग्रेस र एमालेसँगको प्रतिस्पर्धी शक्ति निर्माण तथा दीर्घ कालका लागि बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि यो पहलले महत्त्वपूर्ण अर्थ राख्ने राजनीतिक मञ्चहरुमा  चर्चाले स्थान पाउन थालेको छ ।