गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनस् बीच भुक्तानी सेवा सम्बन्धि सम्झौता पत्र हस्ताक्षर

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनस् बीच भुक्तानी सेवा सम्बन्धि सम्झौता पत्र हस्ताक्षर

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ७, २०७९

काठमाडौँ । गरिमा विकास बैंकले भिसा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरूलाई थप सरल तथा ग्राहक मैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको  छ ।

सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिसा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः  मोबाईल टप अप, ईन्टरनेट/बिधुत/खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरूमा 'स्क्यान टु पे'  मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।