अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगितामा सहरी मन्त्री चौधरी : असल नेतृत्वको अपेक्षा

अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगितामा सहरी मन्त्री चौधरी : असल नेतृत्वको अपेक्षा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ७, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कार युक्त बालबालिकाहरूबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् ।  

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, काठमाडौंद्वारा आयोजित उपत्यका व्यापी अन्तर विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता–२०७९ को उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘झमक कुमारीले खुट्टाले त्यत्रा  ग्रन्थ लेखेकी छिन् । अरुनिता कान्जिलाल पनि धेरै मेहनेत गरेरै चर्चित गायिका भइन् । लिङ्कन जस्तो गरिबी र अभाव झेलेको मान्छे मेहनेत गरेरै अमेरिकाको राष्ट्रपति भए । राष्ट्रपति मात्र भएनन् दास प्रथाको अन्त्य गरे । मान्छेलाई सिक्रीले बाँधेर बेच्ने समाजलाई बदले ।’

बालबालिका असल सँस्कारसहित अघि बढ्न जरुरी रहेको बताउँदै मन्त्री चौधरीले थपे, ‘तपाईँहरु असल बन्नुहुनेछ । उच्च संस्कार युक्त बन्नुहुनेछ र भोलि गएर तपाईँहरु नै नेतृत्व गर्ने ठाउँसम्म पुग्नुहुनेछ ।’

सहरी मन्त्री चौधरीले बालबालिकालाई सत्मार्गमा लगाउन समाजका अगुवा, शिक्षक तथा अभिभावक सबै लाग्नुपर्ने धारणा समेत राखेका  थिए ।