छोरीको जन्मदिन : बाबु–छोरीका कृति एकैसाथ लोकार्पण

छोरीको जन्मदिन : बाबु–छोरीका कृति एकैसाथ लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १०, २०७९

काठमाडाैँ ।  गीतकार तथा गायिका अनिलाको जन्मदिनका अवसरमा आयोजित  एक  समारोहमा बाबु–छोरीका तीन कृतिको एकसाथ लोकार्पण गरिएको  छ । गीतकार तथा गायिका अनिलाको जन्मदिनका अवसरमा आयोजित कार्यक्रम बर्थ–डे केक काटेर सुरु गर्दै बाबु–छोरीका तीन कृतिको एकसाथ लोकार्पण गरिएकाे हाे ।

भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ कवि तथा किरात सौन्दर्यविद् भूपाल राई, लोकप्रिय गायिका प्राज्ञ सत्यकला राईलगायतले गायिका तथा गीतकार अनिला राई र उनका बुबा गङ्गाराज राईका पुस्तक एकैसाथ लोकार्पण गरेका हुन।

कार्यक्रममा अनिला राईद्वारा लिखित तथा स्वरबद्ध गीति एल्बमसमेत लाकार्पण गरिएको थियो । गायिका तथा गीतकार अनिलाको गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा उनका बुबा गङ्गाराम राईद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको ऐना’ लोकार्पण गरिएको हो । समारोहमा बाबु–छोरीका तीन कृतिको एकसाथ लोकार्पण गरिएको हो । 

लोकार्पण गरिएको एल्बम ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’मा नौ ओटा गीत समावेश गरिएका छन् । जसमा अनिलाको एकल शब्द छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिँडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् । 

एल्बममा समाविष्ट सात ओटा गीतमा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले अनिलालाई गायनमा साथ दिएका छन् । ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको सङ्गीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा सङ्गीत रोशन राईले गरेका छन् । यसै गरी ‘ढिँडो र सिस्नु’ मा डाक्टर किरात र ‘साकेला’मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको सङ्गीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ १ सय १२ ओटा गीत सङ्ग्रहित छन् । तीमध्येबाटै नौ ओटा गीत रेकर्ड गरिएका हुन् । कार्यक्रममा तीन ओटा गीतको भिडियो देखाइएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’ को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।

‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् ।  यस्तै, टीका चाम्लिङद्वारा निर्देशति भिडियो ‘प्यारी छोरी’मा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवती र एन्जेलिना राईले अभिनय गरेका छन् । गङ्गारामको ‘अक्षरको ऐना’ कविासङ्ग्रहमा समसामयिक विषयमा रचित २४ ओटा कविता रहेका छन् । 

कार्यक्रममा डा. अमर गिरी, भूपाल राई, टीका चाम्लिङ, सत्यकला राई, नगेन्द्रराज रेग्मी, वसन्त मुकारुङलगायतले गायिका राईको गायन तथा लेखन र गङ्गारामको कवितासङ्ग्रहमाथि समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली वाङ्मय परिषद्को आयोजनामा सम्पन्न भएको थियो ।