नगेन्द्रराज शर्मा : पाउँदा पाउँदा भो मलाई पुरस्कार नदेऊ भन्ने साहित्यकार/पत्रकार

नगेन्द्रराज शर्मा : पाउँदा पाउँदा भो मलाई पुरस्कार नदेऊ भन्ने साहित्यकार/पत्रकार

आशिष पौडेल  |  अन्तर्मन्थन  |  भदौ ११, २०७९

नगेन्द्रराज शर्माले लेखन कार्य भने २०१५/१६ साल देखिनै थाल्नु भएको हो । बनारस हिन्दु विश्वविद्यालयबाट त्यस बेला वर्षको एक पटक छात्र संघको मुखपत्र निस्कन्थ्यो । एक जना साथीले तिमी राम्रो कविता लेख्छौ मलाई देउ छपाइदिन्छु भनेर उहाँले कविता दिनुभयो । पत्रिका निस्कनु अगाडि छानिएका रचना वाचन गराइयाे । उहाँको कविता त्यसमा पुरस्कृत भयो । 

त्यस बेला नेपाली गुरु शेषराज रेग्मी निर्णायक मा हुनुहुँदोरहेछ । तर, उहाँलाई थाहा थिएन । कविता पुरस्कृत भइसकेपछि भने गुरुले उहाँको घरपरिवार सबैको वृत्तान्त लिनुभयो । र राम्रो लेख्दो रहेछौ, लेख्न नछोड्नु भनेर धाप मार्नुभयो । त्यसले पनि उहाँलाई लेख्न सक्छु भन्ने हिम्मत दिलायो । 

त्यस बेला अरु कसैको कथा पहिलो भएको थियो भने उहाँको कविता दोस्रो । उहाँको कविता पुरस्कृत भए पनि पुरस्कार भने केही दिइएको थिएन । खाली माला लगाएर थपडी बजाएको भने उहाँलाई सम्झना छ । 

उहाँले उपन्यास पनि ४/५ वटा लेख्नु भएको थियो । तर, आफैँलाई चित्त नबुझेर २/३ वटा फाल्नु पनि भयो । 

पहिले उहाँको भाई जगदिश घिमिरेको किताब रत्न पुस्तक भण्डारले प्रकाशन गर्यो । प्रकाशन भएपछि रत्न पुस्तकले २ सय रुपैयाँ पनि दियो उहाँको भाइ घिमिरेलाई । यसले उहाँलाई यति राम्रो लेखिएको मेरो किताब पनि छाप्नु पर्यो भन्ने लाग्यो । र, उहाँ हातैले लेखेको पाण्डुलिपिसहितको फाइल बोकेर रत्न पुस्तक भण्डारमा जानुभयो । 

रत्न पुस्तकमा गएपछि मालिक रत्न बहादुर श्रेष्ठले कहाँ हो घर, कति पढ्या छ भनेर अलि हेप्ने गरी भन्नुभयो । त्यस बेलासम्म उहाँलाई २/३ वटा उपन्यास लेखिसकेको हुनाले एकदमै जान्ने लेखक भन्ने अहम् पलाइसकेको थियो । उहाँलाई रिस त उठेको थियो । तर, पनि किताब छपाउनु पर्ने हुनाले चुप लाग्नु भयो । त्यसपछि उहाँलाई किताब छोडेर जाने अनि एक हप्ता पछि आउन भनियो । 

एक हप्तापछि उहाँ जानु भयो रत्न पुस्तक । उहाँलाई माथि जान भनियो । अनि माथि जाँदा एउटा कुर्सीमा कालो वर्णको नेवारझैँ लाग्ने मानिस बसिरहेका थिए । उनले तपाईँको किताब एकदमै मन पर्यो । तर, यो अवस्थामा छापियो भने तपाईँ र म दुवै जेल जान्छौँ । त्यसैले त्यसमा केही परिमार्जन गर्ने सल्लाह दिन्छु भनेर भन्नुभयो । तपाइँ मान्नुभयो भने काम अगाडि बढाऊँ । 

त्यस किताबमा कथाको नायक पात्र थिए श्याम शाह । शाह परिवारमा जेठो छोरा राजा भए पनि अरु भने राजपरिवार भनेर काम पनि गर्दैनन् । रक्सी र वेश्यामा डुबेर माग्ने हुन्छन् अनि घरको कार्पेटदेखि स्वास्नीको गहनासम्म बेचेर खान्छन् भन्ने कथा थियो । अब यसरी शाह भनेपछि त्यस बेलाको राजपरिवारलाई भनेको भनेर सोझै बुझिन्थ्यो र त्यसले बखेडा ल्याउँथ्यो । 

उहाँलाई अब यसलाई परिमार्जन गरेर श्याम विक्रम बनाउन भनियो । तर, उहाँले भने अब यसलाई पुनर्लेखन गरेर कसले झण्झट गरोस् भन्ने लाग्यो । तर, ती मान्यवरले मलाई कथा राम्रो लागेको हुनाले त्यो सबै काम म गरिदिन्छु तपाईँ एक हप्तापछि आउनुस् भने । 

एक हप्तापछि जाँदा उहाँले लेखेको कथामा शुद्धीकरण गर्दा रातो मसीले नलेखेको कुनै ठाउँ नै थिएन । एक त श्याम शाहलाई विक्रम बनाउनु पर्यो । त्यसमा ब, व र अन्य भाषा शुद्धाशुद्धि का   कारण आफूलाई एकदमै जान्ने ठानेको उहाँको मनमा ठूलो चोट लाग्यो । 

नेपाली भाषा जान्ने भनेको बाहुनको छोरोलाई एउटा नेवारले यसरी शुद्धीकरण गरेर दिँदा मनमा चोट लाग्नु त स्वभाविक नै थियो । यसले उहाँलाई के पनि लाग्यो भने यसले गरेको शुद्धीकरण सही हो कि होइन भनेर उहाँले शब्दकोष पल्टाएर हेर्नुभयो । शब्दकोष पल्टाएर हेर्दा उहाँले लगाएको चिन्ह कुनै पनि गलत थिएनन् । उसले उहाँको अह्ममा ठूलै चोट लाग्यो । उहाँको किताब यसरी शुद्धीकरण गर्ने अरु कोही नभएर नेपाली भाषा विज्ञ माधव लाल कर्माचार्य हुनुहुन्थ्यो । 

यसरी उहाँको ‘महापुरुष’ छापियो । र, पछि ‘दिवास्वप्न’ पनि । दुवै उपन्यास रत्न पुस्तक भण्डार बाट छापियो । उहाँलाई पुस्तकको ५ सय रुपैयाँ पनि दिए । आवश्यक मेहनताना, पारिश्रमिक बुझि लिएँ र सर्वाधिकार सुम्पेको छु  भनेर कागज पनि गराए । तर, कागजमा भने पारिश्रमिक खुलाइएको थिएन । पछि भने साझा प्रकाशनलगायत अन्य प्रकाशन गृहबाट पनि उहाँका किताब निस्किए ।

पछि उहाँलाई के लाग्यो भने आफ्नो मात्र रचना छपाउँदा एक्लो मात्र छापिने जस्तो लाग्यो र, आफैँले पत्रिका निकाल्यो भने त आफूजस्ता २०/३० जनाको छापिन्छ । यसले २०/३० जनाले राम्रो गरिदिनु भन्ने, २०/३० जनाले सरोकार राख्ने हुँदा पनि उहाँको आकर्षण पत्रिकामा बढ्यो । उहाँलाई लेखनबाट भन्दा पनि पत्रिकाबाट पहिचान र सम्मान दुवै बढेको जस्तो लाग्यो ।

जागिर छोडेर आएको पैसा पत्रिका पनि चलाउने हुनाले उहाँले मित्र पार्कको घरमा प्रेस पनि राख्नुभयो । प्रेसलाई आफ्नो पत्रिका मात्रले काम नपुगेपछि प्रज्ञा प्रतिष्ठान तथा साझाका कामहरु पनि गर्नुभयो । मित्रपार्कमा अभिव्यक्ति पत्रिका छापिने हुँदा महानगरले त्यहाँको सडकको नाम नै अभिव्यक्ति मार्ग राख्यो । 

अनि उहाँले २०२७ सालमा अभिव्यक्ति साहित्यिक पत्रिका शुरु गर्नुभयो । पत्रिका शुरु गरेपछि उहाँको लेखन सुक्दै गयो भने पत्रकारिता फस्टाउँदै गयो । २०२७ सालमा उहाँले शुरु गर्नुभएको अभिव्यक्ति अहिले पनि उहाँकै अग्रसरतामा निस्किँदैछ । तर, अबको एक, दुई अंकपछि भने उहाँले यसको सम्पूर्ण जिम्मेवारीबाट हट्ने विचार गर्नुभएको छ । 

०००

उहाँको दुई वटा उपन्यास र दुई वटा कथा संग्रह निस्किएको छ । अन्तिममा निस्किएको भनेको २०५६ सालमा हो । साहित्यिक संघसंस्थामा संलग्नताको कुरा गर्दा उहाँ संलग्न भएको भन्दा पनि के मा संलग्न रहनु भएन भन्दा नाम लिन सजिलो पर्ला । 

साहित्यिक पत्रकार संघको अध्यक्षबाट उहाँ हटेको भनेको गएको मंसिरबाट मात्र हो । अहिले मोहन दुवाल अध्यक्ष हुनुहुन्छ । संस्थामा संलग्नताको कुरा गर्दा उहाँ संलग्न भएको भन्दा नभएको संस्थाको नाम लिन सजिलो हुन्छ भनेझैं साहित्यिक पत्रकारितामा पनि उहाँले नपाएको कुनै पुरस्कार बाँकी छ कि भनेर औँला भाँचेर हेर्नुपर्छ । उहाँले पुरस्कार पाउन अब नयाँ पुरस्कार थपिनु पर्छ । उहाँले अहिले अब मलाई पुरस्कार नदेऊ भनेर घोषणा नै गर्नुभएको छ ।

साहित्यकारका रुपमा भने उहाँले महत्वपूर्ण ५/७ वटा पुरस्कार पाउनु भएको छ । मैनाली कथा पुरस्कार, धुस्वाँ सायमी सिर्जना पुरस्कार, नेपाल सांस्कृतिक संघ पुरस्कार, भानु भवानी घिमिरे पत्रकारिता पुरस्कार, गोपाल पाँडे असीम पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार आदि छन् । 

०००

२०२७ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत खुलेको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा उहाँ जागिरे हुनुभयो । त्यस बेला पशुपति शमशेर राणा त्यसको प्रमुख हुनुहुन्थ्यो भने प्रकाशचन्द्र लोहनी त्यसको सहायक निर्देशक हुनुहुन्थ्यो । उहाँले सेडामा १३ वर्ष सक्रिय काम गर्नुभयो । बाँकी ८ वर्ष भने जागिरमा प्राप्त हुने विभिन्न बिदाको सदुपयोग गर्दै उहाँ अफिस जानु भएन । यसरी उहाँले २०४८ सालदेखि भने कतै जागिर नखाएर पत्रिका चलाएर बसिरहनु भएको छ । 

जागिर छोडेर आएको पैसा पत्रिका पनि चलाउने हुनाले उहाँले मित्र पार्कको घरमा प्रेस पनि राख्नुभयो । प्रेसलाई आफ्नो पत्रिका मात्रले काम नपुगेपछि प्रज्ञा प्रतिष्ठान तथा साझाका कामहरु पनि गर्नुभयो । मित्रपार्कमा अभिव्यक्ति पत्रिका छापिने हुँदा महानगरले त्यहाँको सडकको नाम नै अभिव्यक्ति मार्ग राख्यो । 

उहाँको सबैभन्दा पहिलो जागिर भने टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) हो । थापाथलीमा रहेको टिसिएनको उहाँ इन्चार्ज हुनुहुन्थ्यो । तलब ४ सय थियो । यो नै उहाँको पहिलो तलब थियो । पहिलो तलब ठ्याक्कै के मा खर्च भयो भन्ने उहाँलाई थाहा नभए पनि घर खर्च भएको उहाँको अनुमान छ ।

एक वर्ष काम गरेपछि उहाँलाई पदोन्नति गरेर हेटौँडा मुख्य अफिसमा सरुवा गरियो । यो २०२२/२३ सालको कुरा हो । हेटौँडामा त्यस बेला औलोको प्रकोप पनि भएका कारण बा आमाले जागिर छोड् दे भनेपछि करिब ६ महिना जागिर खाएर उहाँले छोड्नु भयो । त्यसपछि उहाँ दुई/चार वर्ष जनकपुरको घरमा त्यसै बस्नुभयो । 

उहाँहरु जनकपुर पुग्नको कारण भने २००७ साल तथा २०१८ सालको क्रान्तिमा मानिसहरुले चन्दा माग्ने, गोठको राँगो, भैँसी, खसी, बाख्रा लैजाने अनि चन्दा मागेर हैरान बनाएकोले उहाँको बुवाले जनकपुरमा पनि घर बनाउनु भयो । तर, पहाडमा जुन शान सौगतले बसेको मानिस मधेशमा भाषा पनि नमिल्ने अनि मान्छेले पनि त्यति नगनेको हुनाले उहाँको बुवा फेरि रामेछाप नै फर्कनु भयो । उहाँहरुले रामेछाप पूर्ण रुपमा छोडेको भनेको २०४५ सालको भूकम्पपछि मात्र हो । 

०००

उहाँले अहिले बिर्सनुभयो, तर २०११ सालमा एसएलसी दिएको जस्तो लाग्छ । उहाँको कक्षाको तीन वटा सेक्सन गरेर ५०/६० जनाले एसएलसी दिएजस्तो लाग्छ उहाँलाई । कति पास भए एकिन छैन । 

पछिल्लो समय अपनाइएको कम्पार्टमेन्ट प्रणाली त्यस बेला नै थियो । एक/दुई विषयमा फेल भएको विद्यार्थीले फेल भएको विषयको मात्र जाँच दिन पाउँथ्यो । त्यस बेला त्यसलाई सप्लीमेन्ट्री भन्ने चलन थियो । उहाँ त्यसै गरी पास हुनु भएको हो । 

उहाँ एसएलसीपछि भने बनारस जानु भयो पढ्न । कारण बनारसमा एक जना दाजु पढ्दै हुनुहुन्थ्यो । आइएको लागि दाजुले त्यहीँ ट्युसन पढ्ने व्यवस्था मिलाउनु भयो । अनि उहाँ अलाहावाद बोर्डबाट आइए पास हुनुभयो ।

आइए पास भएपछि उहाँ बनारस हिन्दु विश्वविद्यालय भर्ना हुनुभयो । यो २०१८ सालको कुरा हो । एक÷दुई वर्ष पढेपछि उहाँ काठमाण्डौ आउनु भयो । अनि फेरि फर्केर बनारस जानु भएन । पढाइको खासै महत्व थिएन त्यस समयमा । पढे लेखेका मान्छे एकदमै कम थिएन । उहाँको कूलमा पनि एक जना काकाले मात्र स्नातक गर्नुभएको थियो । पछि उहाँको दाजुले एमएसम्मको अध्ययन गर्नुभयो । 

उहाँहरु किशोरवयमा आफ्नो इच्छाले हिन्दी सस्ता उपन्यास भने खुबै पढ्नु हुन्थ्यो । अलि अलि भल्गर, रोमान्टिक लभ स्टोरी आदिका किताब भने रात रात नसुति पढ्नु भयो । तर, पाठ्यक्रमका किताबहरु भने पढ्नु भएन । 

तर, यसले एउटा फाइदा भने गर्यो । पढ्ने बानी बसाल्यो जसले गर्दा नपढी निद्रा नलाग्ने भयो । अनि विश्व स्तरका अंग्रेजीबाट हिन्दीमा अनुवाद भएका किताब पढ्न थाल्नुभयो । अंग्रेजीमै पढ्दा अलि अलि बुझिए पनि स्वाद आउने गरी बुझिँदैनथ्यो । 

रुसी, फ्रान्सेली र अरु जुन जुन साहित्य उहाँले पढ्नु भयो त्यो सबै हिन्दीमा नै पढ्नु भयो । कुशवाह कान्त, प्यारेलाल  आवाराका किशोर किशोरी माझ अत्यन्त लोकप्रिय किताबहरु जुन उहाँले पढ्नु भयो त्यसले उहाँलाई भाषा भने राम्रै सिकायो । भाषामा पोख्त बनायो । तिनै लेखक र हिन्दी गानाको प्रभावले उहाँ लेखक बन्नुभयो । 

अनि त्यस बेलाका नेपाली किताबहरु उहाँलाई के लाग्यो भने यस्ता किताब त म पनि लेख्न सक्छु । नभन्दै उहाँले दुई/चार वटा किताब लेख्नु पनि भयो । राम्रै रुचाइए पनि किताब । बिहे भएर पारिवारिक झमेलामा परेपछि भने लेखन कार्य छुट्यो । 

०००

त्यस बेला अरु हरुले सरस्वती पूजाको दिन कखरा चिन्ने काम गर्थे । तर, उहाँको भने बुवाले गुरु पूर्णिमाको दिन विधि पूर्वक कखरा चिनाउने काम गर्नुभयो । अनि गाउँकै काले खत्रीको घरको मटानमा ढुंगाना गुरुले ८/१० विद्यार्थी राखेर पढाउनु हुन्थ्यो । गाउँमा अंग्रेजी पढाइ नहुने हुँदा अंग्रेजी पढ्नुपर्छ भनेर उहाँ काठमाण्डौ आउनु भएको हो । 

पहिले  आउँदा भने उहाँ हाँडीगाउँमा दिदी भिनाजु कहाँ बस्नु भएको हो । तर, २००२/०३ सालतिर भने उहाँको बुवाले मैतीदेवीमा घर बनाउनु भयो । पछि छुट्टा भिन्न हुँदा त्यो घर उहाँको कान्छा बाको भागमा पर्यो । कान्छा बाको छोराले पछि त्यो घर बेच्नुभयो ।

काठमाडौँ आएर उहाँ पद्मोदय स्कूलमा ४ कक्षामा भर्ना हुनुभयो । उहाँ पद्मोदयमा भर्ना हुँदा अहिलेको पद्मोदयको भवन नभएर गुठीको अर्कै भवन थियो । बस्नलाई बेन्चहरु थिए । विद्यार्थी भने कक्षाकोठा सानो, ठूलो भएको आधारमा राखिन्थे । साना कोठामा अलि कम भने ठूला कोठामा २५/३० जना राख्ने चलन थियो । त्यो छात्रहरूको मात्र स्कूल भएको हुँदा छात्राहरु हुँदैनथे । 

उहाँ पढाइमा अब्बल विद्यार्थी होइन । औसत विद्यार्थी हो । पढ्नलाई कसैले जोडबल नगर्ने हुँदा पढाइमा खासै रुचि र कर दुवै थिएन । अनि एउटा कपी पछाडि राखेर बिन्दास शैलीमा स्कूल जानुहुन्थ्यो । उहाँ पहिलो, दोस्रो हुने त कुरै भएन । अनुत्तीर्ण पनि कहिल्यै हुनु भएन । 

स्कूलका ती दिनले उहाँलाई अहिले पनि भावुक बनाउँछ । सँगै खेलेका, खाएका साथीहरु मध्ये उहाँको जानकारीमा रहेसम्म कालिका स्थानका कश्यप प्रसाद नेपाल एक जना मात्र बाँकी हुनुहुन्छ कि नत्र अन्य सबैको निधन भइसक्यो । अर्को कुरा रामेछापमा उहाँसँगै खेलेका कोही साथी पनि जीवित छैनन् । अहिले उहाँका भएका साथी भनेका २०२० साल यताका मात्र हुन् । भन्नुपर्दा २०२७ साल यता जब उहाँले अभिव्यक्ति साहित्यिक पत्रिका निकाल्नु भयो त्यस यता साहित्यका माध्यमबाट बनेका साथीहरु नै धेरै छन् उहाँका । 

स्कूल भनेको त्यस बेला दैनिक समय कटाउने बाटो जस्तो थियो । त्यस बेला स्कूलमा कुनै पनि अतिरिक्त क्रियाकलाप हुँदैनथे । उहाँ धेरैजसो खाजा खाने समयपछि साथीहरुसँग स्कूलबाट भाग्नुहुन्थ्यो । स्कूल भागेर उहाँ सिनेमा हेर्न जानुहुन्थ्यो । 

त्यस बेला सिनेमा हल अहिले विशाल बजार भएको भवनमा थियो । टिकटको ५०/६० पैसा पर्थ्यो। खानलाई कुनै पनि होटल भन्ने थिएन । रत्नपार्कको किनारामा एउटा पाटी थियो । त्यो पाटीमा नाङ्लो आलु चप बनाएर यसो बेच्न राख्थे । आलु चपको एक पैसा पर्थ्यो । अहिलेका काठमाडौमा देखिने जस्तो कुनै बस्ती थिएन । बानेश्वरमा नर्कट घारी थियो । दिउँसै स्याल कराउँथ्यो । मैतीदेवीको फाँटमा घर थिएन । धान खेती हुन्थ्यो । 

०००

उहाँको बाजे जिम्वाल । उहाँको जेठा बा पनि जिम्वाल । उहाँ भने माहिलोको छोरा । यसरी उहाँ जिम्वाल अनि सम्पन्न परिवारको सन्तान । एक प्रकारको भन्नुपर्दा सामन्ती परिवार । धनीले गरिबलाई हेप्ने, पेल्ने । तर, त्यो समय नै त्यस्तै थियो । समय परिवर्तन भए पनि चलन कहाँ फेरिएको छ । आज पनि हुनेले नहुनेलाई हेप्न कहाँ छोडेका छन् र । 

उहाँको जन्म रामेछापको मन्थलीमा विसं १९९४ सालमा भएको हो । उहाँको बाल्यकाल ५/७ वर्षसम्म रामेछापमा रहेका छिमेकीका केटाकेटीसँग गाई गोठाला, भैँसी गोठाला अनि माझी दौँतरीसँग तामाकोशीमा पौडी खेलेर बित्यो । 

७ वर्षमा व्रतबन्ध भएपछि उहाँ पढ्नका लागि काठमाण्डौ आउनु भयो । आफू यता भए पनि उहाँको मन भने उतै दौडन्थ्यो । अनि मिन पचास तथा अन्य अलि लामो छुट्टीको समयमा तिनै साथीहरुसँग खेलेर, कुदेर रमाइलो गरेर बित्थ्यो ।