अवसर नपाएर विश्वासपात्र गुमाउँदै नेताहरू: देउवालाई नै डडेलधुरामा निर्वाचन जित्न कति सहज ?

अवसर नपाएर विश्वासपात्र गुमाउँदै नेताहरू: देउवालाई नै डडेलधुरामा निर्वाचन जित्न कति सहज ?

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७९

गत साता एक सार्वजनिक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेताहरुले पटक पटक प्रधानमन्त्री, मन्त्री र सांसद बनेर पनि केही नगरेको प्रति आक्रोश पोख्दै भने, ‘प्रधानमन्त्री, मन्त्री पटक पटक दोहोर्‍याउने, सांसद त २०४८ देखि निरन्तर भएका छन् । अर्कोले मौकै नपाउने अनि कार्यकर्ताहरु पनि कहिले यसको जीवन सकिन्छ र हाम्रो पालो आउँछ भन्न थाले’ । तिमिल्सिनाको भनाई सुन्दा राम्रो नलागे पनि यो नेपाली राजनीतिको यथार्थ हो ।

काँग्रेस, एमाले, माओवादी सहितका दलहरुमा एउटै नेताले पटक पटक सांसद, मन्त्री खाइरहँदा नयाँले अवसर पाउन सकेका छैनन् । नेपालमा पटकपटक व्यवस्था परिवर्तन हुँदा पनि नेताहरु पुरानै छन् र उनीहरुकै हालीमुहाली चलिरहेकै छ । पार्टी, सरकार र संसदमा पनि पटक पटक उही नेता दोहोरिने र पालो नआउने देखेपछि कतिपय नेताहरुले पार्टी फेर्ने, अलग हुने वा राजनीति बाटै बाहिरिने गरेका घटनाहरु प्रशस्त पाइन्छ । 

यसरी नै पार्टी छाड्ने नेतामा पर्छन्,  काँग्रेसका कर्ण मल्ल । उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई २०४८ यता निरन्तर सांसद बनाउन भूमिका खेलका नेता हुन् । देउवासँगैको खट पटका कारण मल्ल काँग्रेस छाडेर बीपी काँग्रेसमा पुगेका छन् । लामो समय डडेल्धुरा काँग्रेसको नेतृत्व गरेका मल्ल नहुँदा देउवालाई यसपटक एक्लै चुनाव जित्न सहज छैन । अघिल्लो पटकको निर्वाचनमा देउवाले एमाले र माओवादी गठबन्धनका उम्मेदवार खगराज भट्टलाई पराजित गरेका थिए । यसपटक भने देउवा सत्ता गठबन्धनको मतबाट चुनाव जित्ने दाउमा छन् । 

देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा गरी छ पटक संसदीय चुनाव डडेल्धुराबाट जिते र पाँच पटक प्रधानमन्त्री भए । उनी बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि भएका सबै चुनाव जित्ने नेता हुन् । 

अहिलेसम्म सबै चुनावमा विजयी बनेका देउवाले पाँच पटक प्रधानमन्त्री बने पनि उल्लेख्य काम गर्न भने सकेनन् । बरु हरेक पटक प्रधानमन्त्री बन्दा विवादको घेरामै रहने गर्छन् । उनी लगातार दोस्रो पटक आफैं प्रधानमन्त्री भएर चुनाव गराउँदै उम्मेदवार बन्ने दौडमा छन् । 

राजनीतिलाई सधैं आफ्नो पकडमा राख्न सिपालु देउवा यसपटक उम्मेदवार बन्दा झनै फराकिलो मतान्तरले विजयी हुने सम्भावना छ । यसपटक देउवाविरुद्ध राष्ट्रिय राजनीतिमा ठूलो उचाई भएको नेता प्रतिद्वन्द्वी हुने सम्भावना कम छ । माओवादी आन्दोलनको राप तापबाट आएका खगराज भट्ट डडेल्धुराका स्थापित र राम्रो जनमत भएका नेता मानिन्छन् । 

यसपटक गठबन्धन नै चुनावमा जाने हुँदा देउवालाई चुनाव जित्न कठिन हुने देखिदैन । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई केलाउने हो भने देउवा सहज अवस्थामा देखिन्छन् । 

गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा ४० हजार २८१ मत पाएका छन् । 

देउवासँग रुष्ट भएर अलग भएका कर्ण मल्लसँग चुनावी तालमेल गरेको नेकपा एमाले–नेपाली कांग्रेस (बीपी) र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलको सम्भावना रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार १६० मत मात्रै पाएका छन् । 

यसरी हेर्ने हो भने एमाले, काँग्रेस (बीपी) र राप्रपाको गठबन्धनभन्दा सत्ता गठबन्धन २६ हजार १२१ मतले अगाडि देखिन्छ । यस्तो अवस्थामा डडेल्धुराबाट फेरि पनि देउवा निर्वाचित हुने सम्भावना प्रबल देखिन्छ । 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा देउवाले एमाले–माओवादीको वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९५७ मतले पराजित गरेका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि भट्टलाई नै झण्डै दोब्बर मतान्तरले हराएका थिए ।

राजनीतिलाई सधैं आफ्नो पकडमा राख्न सिपालु देउवा यसपटक उम्मेदवार बन्दा झनै फराकिलो मतान्तरले विजयी हुने सम्भावना छ । यसपटक देउवाविरुद्ध राष्ट्रिय राजनीतिमा ठूलो उचाई भएको नेता प्रतिद्वन्द्वी हुने सम्भावना कम छ । माओवादी आन्दोलनको राप तापबाट आएका खगराज भट्ट डडेल्धुराका स्थापित र राम्रो जनमत भएका नेता मानिन्छन् । तर उनी यसपटक देउवालाई प्रतिनिधिसभा छाडेर आफू प्रदेशसभामा उम्मेदवार बन्न सक्ने वा निर्वाचन क्षेत्र परिवर्तन गरेर देउवा सहितको गठबन्धनकै सहयोगमा उम्मेदवार हुने सम्भावना छ ।