सम्पदा क्षेत्रको अवलोकनका लागि ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने  तयारी

सम्पदा क्षेत्रको अवलोकनका लागि ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने  तयारी

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १४, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । काठमाडौंका साँस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस संचालन गर्न लागिएको जानकारी दिनुभयो । 

काठमाडौंमा पर्यटकहरुलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । काठमाडौंका विश्व सम्पदा सुचीमा सुचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘होप अन हप अफ’ बस संचालन भएपछि पर्यटकहरु केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । ‘होप अन हप अफ’ का लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुपका बस सेवा सञ्चालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । 

पहिलो चरणमा साझा यातायातका विजुली बसलाई ‘होप अन हप अफ’ का लागि प्रयोग गर्ने तयारी गरिएको छ । साझा यातायात संचालक समितिका सदस्य भुषण तुलाधरले दुई महिनाभित्र बस सञ्चालन गर्ने  गरी तयारी अघि बढाइएको बताउनुभयो । अपाङ्गता तथा जेष्ठ नागरिक मैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन् । २७ किलोमिटरको मुख्य सम्पदा यात्राका लागि करिव साढे २ घण्टा समय लाग्नेछ । पाँच वटा बस तीस-तीस मिनेटमा छुट्ने गरी तयारी गरिएको तुलाधरले बताउनुभयो । 

मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्ययोजनामा ‘होप अन हप अफ’ बस संचालनलाई प्राथमिकता दिनुभएको छ । उहाँले पर्यटन क्षेत्र विकासको लागि साँस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी कार्ययोजना अगाडि बढाइएको बताउनुभयो । पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्न योग्य छ भन्ने सन्देश अन्तराष्ट्रिय बजारमा प्रवाह गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।