नेपाल विद्युत प्राधिकरण: विद्युतीय फाष्ट चार्जिङ स्टेसन सञ्चालनमा, ५१ ठाउँमा स्थापना गरिदै

नेपाल विद्युत प्राधिकरण: विद्युतीय फाष्ट चार्जिङ स्टेसन सञ्चालनमा, ५१ ठाउँमा स्थापना गरिदै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १५, २०७९

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो ।आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै मन्त्री भुसालले चार्जिङ स्टेसनको सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताउनुभयो । ‘आन्तरिक रुपमा करिब २२ प्रतिशत विद्युत खपत बढेको छ, आफ्नै स्रोतबाट पानीबाट उत्पादित विद्युतको प्रयोगले पेट्रेलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ, यसले व्यापार घाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ’, उहाँले भन्नुभयो । 

विगतमा लोडसेडिङको वेला विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको उल्लेख गर्दै  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दे आन्तरिक रुपमा विद्युत खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताउनुभयो ।

‘विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियत दरको महसुल तोकिएको छ, तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडा दर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ,’ घिसिङले भन्नुभयो । ‘यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन आग्रह गर्दछु ।’

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार  र २५ वटा  साना/ ठूला कारहरु चार्ज गर्न मिल्ने रहेका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरुका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरूमा औसत सत्तरी पैसा, एसयूभिहरुमा असी पैसा, माइक्रोबसमा  नब्बे पैसा र बसहरूमा एक रुपैयाँ बीस पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो । 

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । 

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीन (Wanbang Digital Energy Co.Ltd.,China) सँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।  

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ  । 

नेपाल विद्युत प्राधिकरण दि‌एको जानकारि अनुसार चार्जिङ स्टेसन रहने स्थानहरु यस प्रकार रहेका छन । 

१    विर्तामोड बसपार्क     झापा     २
२    दमक चार्जिङ केन्द्र     झापा     २
३    विराटनगर बसपार्क     मोरङ    १
४    इनरुवा बसपार्क     सुनसरी     १
५    वेलका चार्जिङ केन्द्र     उदयपुर    २
६    प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा  सप्तरी    २
७    हरिऔँन रिफ्रेस सेन्टर     सर्लाही     १
८    इलाका प्रहरी कार्यालय, निजगढ     बारा     २
९    हेटौडा चार्जिङ सेन्टर, रातमाटे     मकवानपुर    २
१०    पारस बसपार्क     चितवन     २
११    मुग्लिन पुल     चितवन    १
१२    इलाका प्रहरी कार्यालय, खानीखोला     धादिङ    २
१३    साझा सेवा, बल्खु    काठमाडौं     २ 
१४     साझा यातायात     ललितपुर     २ 
१५     साझा सेवा     बनेपा     २
१६    नेपाल पुलिस क्लव     काठमाडौं    १
१७    नेपाल विद्युत प्राधिकरण     काठमाडौं    १
१८    लुम्विनी प्रदेश प्रहरी कार्यालय, वुटवल     रुपन्देही     २
१९    इलाका प्रहरी कार्यालय, बर्दघाट    नवलपरासी    २
२०    भैरहवा बसपार्क     रुपन्देही    १
२१    इलाका प्रहरी कार्यालय, गोरुसिङ्गे     कपिलवस्तु     २
२२    लमही नयाँ बसपार्क     दाङ    २
२३    नेपाल ए पि अफ स्कुल,  कोहलपुर     वाके     २
२४    सशस्त्र प्रहरी बल , वैद्यनाथ वाहिनी कैलाली     कैलाली     १
२५    नयाँ बसपार्क, सुर्खेत     सुर्खेत     २
२६    पर्यटक बसपार्क, पोखरा     कास्की     १
२७    लेकसाइड    कास्की     १
२८    बसपार्क र हावा घर     नुवाकोट     २
२९    सिन्धुलीगढी बसपार्क    सिन्धुली     १
३०    खुर्कोट रिफ्रेस सेन्टर     सिन्धुली    २
३१    इलाका प्रहरी कार्यालय, बर्दिवास     महोत्तरी    १
३२    सशस्त्र प्रहरी वल, शैलेश्वरी    कन्चनपुर    १
जम्मा     ५१ वटा