काठमाडौं उपत्यकामा रात्री कालिन सम्पदा यात्रा संचालनको तयारी

काठमाडौं उपत्यकामा रात्री कालिन सम्पदा यात्रा संचालनको तयारी

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १५, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्री कालिन सम्पदा यात्रा संचालन गर्ने योजना अघि बढाउनुभएको छ ।

काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल समेत गर्नुभयो । मन्त्री श्रेष्ठले रात्रीकालिन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गर्नुभयो । रात्रीकालिन सम्पदा यात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उहाँले बताउनुभयो । रात्रीकालिन सम्पदा यात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन् । 

पर्यटन व्यवसायी र स्थानीय बासिन्दा बीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय संचालनको तयारी पुरा गरी रात्रीकालिन सम्पदा यात्रा संचालन गरिनेछ । ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गे धाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ(संस्थाका प्रतिनिधि सहभागि भएका थिए । 

दिवा कालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रीकालिन सम्पदा यात्रा संचालन गर्न लागिएको हो । रात्रीकालिन सम्पदा यात्राले स्थानीय बासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ । रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री श्रेष्ठले आफ्नो पर्यटन पुनरुत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रीकालिन सम्पदा यात्रा संचालन गर्ने उल्लेख गर्नुभएको छ ।