लोकसंवाद संवाददाता | पर्यटन | भदौ १७, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गर्नुभएको छ । सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । 'पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल-ग्रीन नेपाल अभियान' नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरु सँगको सहकार्यमा विशेष सरसफाई अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना महत्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाई अभियान संचालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाई महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने उहाँले बताउनुभयो । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो । देशका अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरूमा पनि राष्ट्रिय सरसफाई अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।