किरण विक्रम थापा: बुवाको योगदानलाई चिरस्थायी बनाउनका लागि समाजसेवामा समर्पित नाम

किरण विक्रम थापा: बुवाको योगदानलाई चिरस्थायी बनाउनका लागि समाजसेवामा समर्पित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  भदौ १८, २०७९

उहाँको हजुरबा किर्ति विक्रम थापा कायम कायममुकायम बडा हाकिम पनि हुनुभयो । उहाँलाई किर्ति बिक्रम सुब्बा पनि भन्थे । उहाँको बुवा बद्रि बिक्रम थापाको आमा १० दिनमा बितेकोले टोलका धेरै आमाहरूको दूध खाएर हुर्कनुभयो । उहाँको हजुरबा हनुमान नगर सप्तरीमा सहायक बडा हाकिम रहेका बेला बुवाले थोरै समय सप्तरीमा पनि पढ्नुभयो ।

त्यसपछि भाषा श्रेस्ता पाठशाला रानीपोखरीमा पढ्नुभयो । र, केही समय सिन्धुली घरमा गएर बस्नुभयो । र, १८/१९ वर्षको उमेरमा ५/७ मोहर लिएर घर छोडेर निस्कनु भयो । जन्म कमलपोखरीमा भएको र त्यहाँका मानिसहरु चिनेका कारण उहाँ सिन्धुली घरबाट भागेर कमल पोखरीमा नै आएर डेरा लिएर बस्न थाल्नुभयो । कमल पोखरीमा बस्दा नेपाली कांग्रेसका नेता सुन्दर राज चालिसेको संगतले नेपाली कांग्रेसको राजनीतिमा लाग्नु भयो । 

काठमाडौँमा बस्दा केही आय आर्जनको काम पनि गर्नुपर्यो भनेर उहाँको बुवा भोजराज प्याकुरेल (अर्थात सुन्दर राज चालिसेको ससुराली) को लुगा छपाउने कम्पनीमा काम गर्न थाल्नुभयो । उहाँको बुवाले पहिले पनि केही सैनिक तालिम लिनुभएको थियो । 

शुरुमा उहाँको बुवा शान्त शमशेरको शान्त भवनमा बिहान बिहान 'चाकडी'  गर्न जानुहुन्थ्यो । एक दिन भने शान्त शमशेर फर्केर हेरेपछि ११ रुपैयाँ तलबमा नौसिन्दा को जागिर खानुभयो । त्यो जागिर धेरै लामो समय गर्नुभएन । 

त्यसबेला देशमा श्री ३ को हालीमुहाली चल्ने हुँदा श्री ५ को वैधानिकत्वमा देश चलाउनुपर्छ भनेर उहाँले सेनाभित्र संगठन गर्न थाल्नुभयो । उहाँले सैनिकहरूलाई श्री ५ को वैधानिक नायकत्वमा नेपालमा प्रजातन्त्र ल्याउन जीउ ज्यानले तयार छु भनेर फुलमार चुरोटको बट्टाको कागजमा लेखेर सकेसम्म पिनले घोचेर रगतले सही गराउने काम गर्नुभयो । 

यसरी स्वतन्त्रता अभियानमा लागेका १२/१३ वटा टोली थिए । यस मध्ये एउटा टोलीको नेतृत्व उहाँको बुवा आफैँले गर्नुहुन्थ्यो । यसमा एउटा टोलीको नेता समाइहाले पनि अर्को टोलीको नेता को हो भन्ने थाहा नपाउने गरी व्यवस्था मिलाइएको थियो । 

एक दिन राति भगवान बहाल ठमेलमा सदस्यता बनाउने क्रममा कोही साथीमार्फत कुरो पुगेर उहाँ समातिनु भयो । यो राष्ट्र द्रोही कदम थियो त्यस बेला । राष्ट्र द्रोही कदम भएका कारण त्यसै दिन राति करिब साढे ९/१० बजेतिर उहाँलाई श्री ३ मोहन शमशेरको दरबार सिंहदरबारमा पेश गरियो । 

बयान लिने क्रममा उहाँको बुवालाई कसको छोरा हो भनेर सोधियो । उहाँले किर्तिबिक्रमको छोरा भनेपछि बाउ भने हाम्रो बडा हाकिम, छोरा भने हाम्रै गाथ गद्दी ताक्ने भन्नुभयो । यस्तो संगीन अपराध गर्ने जो कोहीलाई जुनसुकै देशमा पनि मृत्युदण्ड हुन्छ । अझै केही छ भने ल साँचो भन् भनेर उहाँलाई सोधियो । त्यसपछि उहाँलाई ७ महिना एक्लै सिंहदरबारको एउटा कोठामा राखियो । पैंतालामा कोर्राले हिर्काएर हिँड्न नसक्ने भएको हुँदा ७ महिनापछि नेल फुकाउँदा पनि हिँड्नलाई हात टेकेर हिँड्नु पर्ने अवस्था आयो । 

०००

उहाँको बुवालाई पनि मृत्युदण्ड हुने त छँदै थियो । तर, राजाले लालमोहर नलगाइ फाँसी दिन पाइँदैनथ्यो । पहिले लालमोहर लागेका कारण १९९७ सालमा धर्मभक्त, दशरथ चन्द, शुक्रराज, गंगालाल चारजना शहीदलाई फाँसीमा झुन्ड्याइयो । अर्को लिस्टमा भने उहाँको बुवा तथा सुन्दर राज चालिसे, गणेशमान सिंह, सुवेदार होमबहादुर देउजालगायत २३ जनाको नाम थियो । उहाँको बयान सकिएर एक प्रकारले फाँसीको लागि तयारी अवस्थामा राखिएको थियो । उहाँलाई बन्दी बनाएको बन्दी खानाका पालेहरूले पनि तँलाई फाँसी दिन्छ भनेर सुनाइरहन्थे । 

राजा त्रिभुवन कहाँ पनि त्यो फाँसीको कागज नपुगेको होइन । त्यो कागजमा लालमोहर लगाउन त्रिभुवनलाई निकै ठूलो दबाब पनि गरिएको थियो । यसै बीच राजा त्रिभुवनले दिल्लीबाट फर्केपछि उहाँहरुलाई मैले दबाबका बीच तीनमध्ये एउटा कुरा गर्ने पर्थ्यो । कि मैले सही गर्नुपर्यो अर्थात् लालमोहर लगाउनु पर्यो, कि राणाहरूसँग निहुँ खोजेर गद्दी त्याग्न पर्यो, कि अन्त कतै शरण लिन जानु पर्थ्यो । यो सबैभन्दा राम्रो विकल्पको रुपमा मैले शरण लिने विचार गरेको हो ।  

राजा त्रिभुवन दिल्लीबाट स्वदेश फर्किए पनि यो २३ जनाको समूहलाई माफी दिन ठूलो दबाब परेको थियो । आखिर राष्ट्रघात गर्नेले जो भए पनि गर्छ भन्ने दबाब पनि नपरेको होइन । राजा त्रिभुवनसँग सम्पर्कमा रहिरहेको हुनाले यो समूहलाई भने विशेष हुकुम प्रमाङ्गी बाट आममाफी दिइयो । 

२००७ सालको क्रान्तिपछि मोहन शमशेर प्रधानमन्त्री हुँदाहुँदै कसरी हाम्रो क्रान्ति सफल भयो भनेर पूर्वबाट मुक्ति सेना आयो । यता भने उहाँको बुवालगायत अन्य ३/४ जनाको नेतृत्वमा शान्ति मण्डल स्थापना गरी मुक्ति सेनालाई साम्य पार्ने अभियानमा पनि उहाँले काम गर्नुभयो । 

त्यस बेला नेपालमा ३५ जिल्ला थियो । पूर्व तिरबाट एउटा प्रतिनिधि मण्डल आयो जसले हामीलाई बद्रि बिक्रम नै बडा हाकिम चाहिन्छ भन्यो । त्यो बेलामा रामेछाप, सिन्धुली र चरिकोट एउटै जिल्ला थियो । जिल्लाबाट बडा हाकिमको मागसमेत आएकोले राजा त्रिभुवनले उहाँलाई गरिब, निमुखाको पीर, मर्का हेर्नु भनि उहाँलाई बडा हाकिम बनाएर पठाउनु भयो । यो २००८ सालको कुरा हो । त्यस बेला राजा त्रिभुवनले बाटो खर्च भनेर एउटा खामसमेत दिनु भएको थियो । जसमा ७ सय रुपैयाँ रहेछ । 

उहाँ बडा हाकिम बनेर रामेछापको गढी गौँडा गोश्वारामा जानु भयो । उहाँ यसरी करिब १२ ठाउँमा जानुभयो । र, २०२२ सालमा रामेछापमा दोहोर्याएर बडा हाकिम बनेर जानु भएको बेलामा नेपाल ७५ जिल्लामा रुपान्तरण भयो । र, बडा हाकिम पद खारेज भयो । र, उहाँ केही समय सहायक अञ्चलाधीश हुनुभयो । र, पछि मेचीमा अञ्चलाधीश हुनुभयो । कोशी, कर्णाली, जनकपुरमा अञ्चलाधीश भएपछि उहाँ गुठी संस्थानको अध्यक्ष हुँदै सरकारी सेवाबाट अवकाश प्राप्त गर्नुभयो । 

सरकारी सेवामा रहँदा पनि उहाँले समानान्तर रुपमा विभिन्न जिल्लामा विविध संगठनसँग तथा स्वतन्त्र रुपमा पनि समाजसेवामा होमिनु भएको थियो । 

००० 

बिहे नगर्ने भनेर बस्नु भएको उहाँको बुवालाई सुन्दर राज चालिसेहरूले दशरथ चन्दको साहिँलो भाइ ललित चन्दको छोरी माधुरी चन्दसँग उहाँको विवाह गरिदिनुभयो २०१० सालमा । 

२०१० सालमा विवाह गरेपछि जेठो सन्तानको रुपमा उहाँको जन्म भयो २०१२ सालमा ओखलढुंगामा । उहाँका दुई भाइ र दुई बहिनी हुनुहुन्छ । उहाँका पाँच दाजुभाई, दिदीबहिनी नै पाँच वटा सरकारी घरमा जन्मनु भएको हो बुवाको कामका सन्दर्भमा । 

उहाँ जन्मेको २६ दिनमा बुवाको सरुवा नेपालगञ्जमा भयो । यसरी बुवाको सरुवा भइरहने हुँदा उहाँको पढाइ पनि त्यति स्थिर भएन । त्यसकारण उहाँ  ८ वटा स्कूल पढ्नुभयो । बुवाको कुनै स्थिर घर थिएन । त्यसकारण उहाँको मामाघरको हजुरबाले उहाँको बुवालाई यसरी जोगी पाराले हुँदैन त्यसैले पाटन ढोका कृष्ण गल्लीको एक/डेढ रोपनी मदन शमशेरको भकारी भएको जग्गा किन्नुपर्छ भन्नुभयो । पैसा थिएन भन्ने थाहा भएकोले होला उहाँले तेजारथ सापटी लिनु भनेर सुझाएर २५ हजारमा जग्गा किन्न लगाउनु भयो । अनि २०२५ साल चैतमा उहाँहरु पाटन ढोकामा स्थायी रुपले बस्नुभयो । अहिले पनि उहाँको निवास त्यहीँ नै छ । 

बिहान ८ बजेदेखि उहाँले रेडियोमा कान थापेको ९/१०/११ हुँदा पनि केही नभनेपछि भने उहाँलाई डर लाग्यो । जाँच ११ बजेदेखि थियो । उहाँले रेडियोले केही भन्छ कि भनेर साढे ११ बजेसम्म रेडियो सुन्नुभयो । अब भएन भनेर उहाँ साढे ११ बजे लुगा लगाएर परिचयपत्र बोकेर जाँच दिन त्रि पद्म स्कूलमा जानुभयो ।  पुग्दा १२ कटिसकेको थियो । त्यसैले १ घण्टाभन्दा बढी समय गइसकेको हुनाले गार्डले जान दिएनन् । बल्ल बल्ल अनेक सम्झाइ बुझाइ गर्दा जान दिए । अंग्रेजीको परीक्षा थियो । एकछिन त लेख्नै सक्नु भएन ।

२०१८ सालमा बुवा धनकुटामा बडा हाकिम हुँदा उहाँलाई अलि अलि कखरा पढेको थाहा छ । २०२० सालतिर होला उहाँलाई एक कक्षामा सेन्ट जेभियर्स स्कूल जावलाखेलमा ल्याएर भर्ना गरियो । तर, दश/एघार महिना पढेपछि एक दिन स्कूलमा लिन गएको बेला धेरै रोएको देखेर आमाले छोराको मायाले त्यहाँबाट झिकिदिनु भयो । पछि बुवाको सरुवा हुँदा उहाँलाई जनकपुरको सरस्वती हाइस्कुलमा एकै पटक लगेर ६ कक्षामा भर्ना गरियो । यसरी उहाँले गौरीशंकर हाइस्कुल रामेछाप, कमल हाइस्कूल सिन्धुली, राप्ती हाइस्कुल भद्रपुर, कुमुदिनी होम्स कालिम्पोङलगायतका स्कूलमा पढ्नुभयो । ६ कक्षामा पढेको झण्डै ६/७ वर्षपछि कालिम्पोङमा ७ कक्षामा भर्ना हुनुभयो । र, पछि २०२५ सालमा आएर पाटन हाइस्कुलमा ८ कक्षामा भर्ना हुनुभयो । 

कालिम्पोङमा पढ्दा बंगाली अनिवार्य थियो । उहाँलाई भने बंगाली भाषा आउँदैनथ्यो । ५० पूर्णाङ्कमा उहाँको २ नम्बर आयो । यो देखेर बंगाली पढाउने सरले उहाँलाई माया गरेर तिमी नेपाल फर्केर गएपछि बंगालीको काम छैन त्यसैले लेख्न चाहिँ सिक भनेर परीक्षामा आउने प्रश्नहरु पहिले नै भन्दिनु भयो । र, पछि उहाँको ३४ नम्बर आयो । 

रामेछापको गौरीशंकर हाइस्कुलमा भने दुईतिर इँट्टा राखेर त्यसमाथि फल्याक राखेर बस्ने बाहेक अन्य स्कूलमा भने बस्नका लागि डेस्क बेञ्च थिए । कक्षाको कुरा गर्दा एउटा कक्षामा सामान्यतया २०/२५ जना विद्यार्थी हुन्थे । रामेछापमा भने महिलाहरु कक्षामा भए जस्तो लाग्दैन उहाँलाई । 

उहाँको स्कूल पनि त्यति नियमित भएन । पढाइमा उहाँ अब्बल विद्यार्थी होइन । गणित अलि गाह्रो लागे पनि अरु विषय भने राम्रो थियो । 

०००

उहाँलाई क्यारमबोर्ड खेल्न एकदमै मन पर्थ्यो । स्कूलमा हुने क्यारमबोर्ड प्रतियोगितामा उहाँ सधैँ पहिलो हुनुहुन्थ्यो । कपडाको भकुण्डो अनि सल्लाको चाक्लो काठले बल हिर्काएर खेल्नुहुन्थ्यो । त्यो क्रिकेट रहेछ भन्ने अहिले थाहा भयो उहाँलाई । त्यसका अतिरिक्त डण्डी बियो अनि यसो बदमासी सम्झँदा गुच्चा खेलेको पनि सम्झना छ उहाँलाई । कालिम्पोङमा पुगेपछि भने फुटबल, भलिबल तथा अन्य भित्री खेलहरु पनि खेल्नुभयो । 

उहाँ ८ कक्षामा पाटन हाइस्कुलमा भर्ना हुनुभएको हो । तर, ९ कक्षामा युनियन बनाएर उहाँलाई क्याप्टेन बनाइयो । त्यस बेला पाटन हाइस्कुलको जग्गा पाटन क्याम्पसमा परेको थियो । स्कुलको वार्षिकोत्सवमा बोलको पनि उहाँलाई सम्झना छ । 

उहाँले २०२८ सालमा एसएलसी दिनुभएको हो । २०२८ साल माघ १७ गतेदेखि एसएलसीको परीक्षा शुरु हुँदै थियो । तर, उहाँले बिहान राजा महेन्द्रको स्वर्गारोहणको खबर अरुले थाहा नपाउँदै थाहा पाउनु भयो । अब उहाँलाई के लाग्यो भने राजाको स्वर्गारोहण भएपछि जाँच त पक्कै हुँदैन । त्यसैले पढ्न छोडेर रेडियो सुन्न तिर लाग्नुभयो । जति रेडियो सुने पनि राग मात्रै आउँछ । अनि एक घण्टापछि शाही घोषणा सुन्नुहोस् भनेको शाही घोषणा पनि हुँदैन । त्यतिखेर उहाँको बुवा भने आमा बिरामी भएका कारण आमालाई लिएर दिल्ली जानु भएको थियो । 

बिहान ८ बजेदेखि उहाँले रेडियोमा कान थापेको ९/१०/११ हुँदा पनि केही नभनेपछि भने उहाँलाई डर लाग्यो । जाँच ११ बजेदेखि थियो । उहाँले रेडियोले केही भन्छ कि भनेर साढे ११ बजेसम्म रेडियो सुन्नुभयो । अब भएन भनेर उहाँ साढे ११ बजे लुगा लगाएर परिचयपत्र बोकेर जाँच दिन त्रि पद्म स्कूलमा जानुभयो । 

पुग्दा १२ कटिसकेको थियो । त्यसैले १ घण्टाभन्दा बढी समय गइसकेको हुनाले गार्डले जान दिएनन् । बल्ल बल्ल अनेक सम्झाइ बुझाइ गर्दा जान दिए । अंग्रेजीको परीक्षा थियो । एकछिन त लेख्नै सक्नु भएन । १ सयमा ६५ नम्बरको हल गरेर आउनु भयो । तर, पनि पास भने हुनुभयो । पछि भने ४ दिन छुट्टी भयो । अनि त्यसपछि फेरि परीक्षा शुरु भयो । 

उहाँको ब्याचका एसएलसी दिने २८/३० जना जति थिए । जसमध्ये १७/१८ पास भए । उहाँ भने तेस्रो श्रेणीमा पास हुनुभयो । यसो हुनुमा पहिलो दिनको अंग्रेजी परीक्षा कारक थियो । ३ सय ५ नम्बर ल्याए दोस्रो श्रेणी हुन्थ्यो । उहाँको भने १२ नम्बर पुगेन दोस्रो श्रेणीका लागि । अर्थात उहाँको २ सय ९३ नम्बर आयो । त्यसपछि कलेज पनि पाटन क्याम्पस पढ्नु भयो । पछि विश्वविद्यालयको स्नातकोत्तर तहमा भने उहाँको ६४.५ प्रतिशत नम्बर आयो । 

०००
शिक्षा मन्त्रालयमा त्यस बेला प्रौढ शिक्षा निरीक्षकमा आवेदन खुलेको थियो । उहाँ तथा केही साथीहरुले पनि दिनु भएको थियो । तर, उहाँको नाम ननिस्किएर वैकल्पिक मा मात्र निस्कियो । उहाँको त्यस बेला भर्खर छोरो जन्मिएको थियो भने बुवा पनि अवकाश प्राप्त गरेर बसिसक्नु भएको थियो । 

हिमालय शमशेरको श्रीमती प्रिन्सेप शाहसँग उहाँको बुवाको आमा पट्टीको नाता सम्बन्ध पर्थ्यो । उहाँको बुवासँग विभिन्न कार्यक्रममा प्रिन्सेप शाहको भेट भइरहन्थ्यो । एक पटक एउटा कार्यक्रममा उहाँले अहिले छोरा के गर्दैछ भनेर सोध्नुभयो । बुवाले एमए पास गरिसक्यो तर, यत्तिकै बसेको छ भन्नुभयो । त्यसपछि उहाँले त्यत्तिकै बस्ने होइन बरु एक महिना सोल्टी होटलमा लेखापालको तालिम लिएर दमकको हिमालयन टि गार्डेनमा पठाइदिनु भन्नुभयो । त्यसपछि उहाँ २०४० सालमा सोल्टी होटलमा एक महिना लेखापालको तालिम लिएर दमक जानुभयो । 

टि गार्डेनमा बच्चाको दिनको ४ रुपैयाँ,  महिलाको साढे ५ रुपैयाँ अनि केटा मान्छेको ७ रुपैयाँ ज्याला थियो । ज्याला प्रत्येक हप्ता मंगलबार दिने अनि बुधबार छुट्टी हुन्थ्यो । उहाँले काम थालेको ५/६ महिनामा प्रिन्सेप शाहको निधन भयो । जसले काम लगाएको हो उ भन्दा बाहेक अरुसँग खासै चिनजान नभएको हुनाले उहाँले काठमाडौँ फर्किने सोचका साथ बुवासँग कुरा गर्नुभयो । उहाँलाई त्यहाँ नियुक्ति पत्र दिइएको थिएन र मौखिक रुपमा एक हजार रुपैयाँ तलब भनिएको थियो । 

उहाँलाई जागिर छोड्न एक्लै जान अप्ठ्यारो लागेर बुवालाई लिएर जानुभयो । अनि बुवाले प्रभाकर शमशेरलाई छोरोले जागिर छोड्ने कुरा भन्नुभयो । उहाँलाई भोलि आउन भनियो । भोलिपल्ट जाँदा अमरराज सिंह भन्ने एकजना भारतीयले अरु कुनै काम खोजेको भए ठिकै छ नत्र हामीले नयाँ डिलर टेल्कम ल्याएका छौं त्यसमा काम गर्नलाई भोलिदेखि उहाँलाई आउन भनियो । 

उहाँले टेल्कम भनेको पाउडर ठान्नु भएको थियो । तर, त्यो पाउडर नभएर टाटा इन्जिनियरिङ एण्ड लोको मोटिभ कम्पनी लिमिटेड टेल्को रहेछ जसको डिलरको रुपमा सिप्रदी दर्ता भएको १२/१३ दिन मात्रै भएको रहेछ । प्रभाकर शमशेरले उहाँलाई डिबी राना जसको अन्तर्गत रहेर उहाँले काम गर्नुपर्ने मान्छेलाई चिनाउनु भयो । रानाको घर गण बहालमा अफिस शुरु भयो । उहाँलाई फाइनान्स तथा सेल्स मेनेजरको रुपमा तलब १२ सय तोकियो । 

करिब १० वर्ष काम गरिसकेपछि उहाँले जागिर छोड्ने विचार गर्नुभयो । तर, ३ जना मेनेजरमध्ये एकजनालाई सोल्टीको जि एम बनाउने भनेर अन्तर्वार्ता चलिरहेको थियो । अन्तर्वार्तामा हुनुहुन्थ्यो अमरराज सिंह । उहाँले सिंहलाई म त जागिर छोड्दै छु अब के अन्तर्वार्ता दिनुभन्दा उहाँले आश्चर्य प्रकट गर्नुभएको थियो । कारण भने उहाँले बुवाको मुटुको समस्या छ भनेर भन्नुभएको थियो । सिप्रदीमा काम गर्दा उहाँले यात्रुवाहक गाडीको व्यापार पनि गर्नुभयो । व्यापारमा घाटा लागेपछि आफूले पहिले किनेको जग्गा बेचेर ऋण तिर्नुभयो ।  

जागिर छोडेपछि फेरि के काम गर्ने भन्दा गाडीको केही अनुभवले होला जर्मन मर्सिडिज मिनि बसको काम शुरु गर्नुभयो । ६/७ गाडी थिए उहाँको तर, बीस वर्षे नियमका कारण सबै जर्मन गाडी छोडेर उहाँले टाटाको गाडीको काम शुरु गर्नुभयो । 

उहाँले गाडी थप्दै २६ वटा पुर्‍याउनु भयो । लोकल चलाउँदा पहिले नै घाटा खाएका कारण उहाँले त्यसबेला भर्खर खुलेको रातो बंगला स्कूल देखि  आरएनएसी, क्यासिनो नेपाल, टेलकिम,  जनक शिक्षा सामग्रीलगायतका अफिसमा स्टाफ बोक्ने काम आफैँले समेत गर्नुभयो । झण्डै उहाँले यो काम २५ वर्ष गर्नुभयो । 

०००
उहाँको बुवा २०५२ सालमा बितेपछि उहाँलगायत स्वामी प्रपन्नाचार्य, डा. हरिप्रसाद पोखरेल, प्रा. सुरेश राज चालिसे, भवानी घिमिरे, वनवारी लाल मित्तल चिन्तामणि योगीहरुले कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी भनेर २०५३ सालमा दर्ता गर्नुभयो । २०५४ सालमा उद्घाटन भएपछि २०५५ सालदेखि गुठीले नियमित काम गरिरहेको छ । 

बुवा बितेपछि बुवा संलग्न रहनु भएको सबै संस्था तथा ट्रान्सपरेन्सी  इन्टरनेशनलको पनि उहाँ कोषाध्यक्ष हुनुहुन्छ । बुवासँग पहिले सँगै काम गर्दा बुवाले केही दिन पाए जस्तो हुन्थ्यो भन्ने गर्दा शायद उहाँमा पनि यो स्वभाव विकास भयो । त्यसैले उहाँ पनि सामाजिक सेवामा सक्रिय भएर लागिपर्नु भएको छ । 

बुवा संलग्न भएको १२ संस्था अविच्छिन्न चल्न सकोस् भनेर उहाँले स्वायत्त राशी राख्ने व्यवस्था गर्दै हुनुहुन्छ । यस वर्ष पूर्वमा सगरमाथा उच्च माध्यमिक विद्यालय ओखलढुंगा, पाटन हाइस्कुल र कोहलपुरको एउटा साहित्यिक संस्थामा राशी राख्ने सोचमा हुनुहुन्छ उहाँ । यसरी ३ वर्षमा १२ वटै संस्थालाई सहयोग गर्ने सोचमा हुनुहुन्छ उहाँ । 

चिन्तामणि योगीलगायत उहाँहरु ५५ जिल्लामा आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने सोचले चेतना यात्राका क्रममा पुगिसक्नु भएको छ । तर, माओवादी द्वन्द्वका कारण यो कार्यक्रम स्थागित हुन पुग्यो । 

युरोपियन युनियन, ट्रान्सपारेन्सी इन्टरनेशनल र नेपाल सरकारकाबीच भूकम्पपछिको सार्वजनिक निर्माण गर्ने भवनहरु जस्तै विद्यालय, स्वास्थ्य संस्था अनुगमन गर्नुपर्ने सम्झौता भएको थियो । जसमा १४ वटा जिल्लामा उहाँहरुले हेर्नुपर्ने थियो । ५ वर्षको कार्यक्रम सकिएपछि समापन गर्न पदाधिकारी जानुपर्छ भनेर उहाँलाई ओखलढुंगा, रामेछाप र सिन्धुलीमा पठाइयो । 

ओखलढुंगामा जाने बित्तिकै उहाँलाई आफू जन्मिएको घर हेर्न मन लाग्यो । कार्यक्रम हुने ठाउँभन्दा ५ मिनेटको दूरीमा रहेछ घर । उहाँले कोठा कोठामा पुगेर फोटो खिच्नुभयो । अलिकति माटो पनि बोकेर ल्याउनु भयो । माटो र समाजको मायाले उहाँ थाक्नु भएको छैन । काम गर्ने क्रममा उहाँले थुप्रै पुरस्कार तथा सम्मान पनि पाउनु भएको छ ।