'मेरो एजेन्डा नै शिक्षा फेरी पनि शिक्षा नै हो' : डिल्ली बि.सी.

'मेरो एजेन्डा नै शिक्षा फेरी पनि शिक्षा नै हो' : डिल्ली बि.सी.

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १९, २०७९

बाँके । राजनीतिमा सैद्धान्तिक र बौद्धिक युवा वर्गको खाँचो महसुस गरिरहेको बेला दलगत होस् या स्वतन्त्र रुपमा युवाको सक्रिय राजनीतिमा आकलझुकल देख्न पाइन्छ । नेपाली राजनीतिमा तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्ध लडेका युवा नै आजसम्म ज्येष्ठ अवस्थामा पनि स्थानीय तह देखि संघीय निर्वाचनमा पकड बलियो रहँदै आएको छ ।

युवाको राजनीति सक्रियता भन्दा क्षणिक रुपमा स्वार्थका लागि लाग्ने, दल बदल गर्ने र अवसरका भोका भनी संज्ञा दिइन्छ । यसका साथै थोरै मात्रमा सक्रिय राजनीतिमा लागेकालाई पनि अध्ययन शीतलताको कमी, निरन्तरतामा प्रश्न गर्ने र वैचारिक तामा ज्ञानका अभावको दोष लगाउने गरिएको पाइन्छ  ।

बाँके जिल्लामा नेकपा (एमाले)का युवा नेता पार्टीका जिल्ला उपाध्यक्ष र प्रदेश नं. ३ (ख) बाट पार्टीले लुम्बिनी प्रदेश सभाको सांसदका लागि सिफारिस भएका डिल्ली बि.सी. सबै आरोपबाट पर रहेका युवा नेता भएको भन्दै  सिफारिस गरिएको छ । 

लामो समय आवाज विहीनहरूको आवाज एफएम रेडियो माध्यमबाट जन मनको प्रतिनिधित्व गराउने उनी अहिले प्रदेश सांसदका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा अब्बल उम्मेदवारका रुपमा एमाले जनले स्वीकार गरेकाका कारण  सिफारिस गरेको एमालेले जनाएको छ । 

 विशेष गरी समाजमा रहेको विभेद नीतिगत रुपमा अन्त्य गर्न, सैद्धान्तिक र बौद्धिक व्यक्ति दलगत राजनीतिलाई केवल आरोप मात्रै लगाउने अवस्था र युवाको राजनीति प्रति विश्वास गुम्दै गएको अवस्थामा पत्रकारिता क्षेत्रलाई समाजले सम्मान गर्दा गर्दै पनि राजनीतिमा होमिएका उनी आफूलाई अब्बल सावित गर्ने जोखिमको बाटोमा रोजेका डिल्ली बि.सी. ले बताएका छन् । लोकस‌ंवाद डटकमसँगको एक भेटमा  बि.सी. भन्छन् - 'राजनीति स्वच्छ, पूर्ण सेवा भाव र जन मनको प्रतिनिधित्व गर्दै समष्टिगत परिवर्तनको एक मात्रै बाटो भएकोले आफू व्यवस्था अनुसारको परिवर्तनका लागि उम्मेदवार बन्न लागेको हुँ ' । 

पत्रकारिता पेसाका माध्यमले जन जनका आवाज नीति निर्माता सम्म पुगाए पनि आफ्नो समाजमा देखिने र अनुभूति गर्ने गरी परिवर्तन नभएको र पहलकदमी पनि पुरातन शैलीको भएकोमा बि.सी. को गुनासो छ । बि.सी. भन्छन् - 'सडक बनाउनु, भवन बनाउनु वा नहर बनाउनु मात्रै विकास हैन, पहिलो कुरा ती भौतिक वस्तुको प्रचुर मात्रामा उपयोग गरी व्यक्तिको सर्वाङ्गीण विकास गर्ने विकासको अवधारणा नै नआएकोमा आफ्नो त्यस प्रकारको योजना कार्यान्वयनका लागि उम्मेदवारीका लागि पार्टीमा दावी गरेको हुँ । सोही अनुसार  सिफारिस पनि भएको छ ।'  

हालसम्म आफ्नो दावी रहेको निर्वाचन क्षेत्रमा केवल राज्यको नीतिका आधारमा मात्रै विकास गरेको दावी गर्ने जनप्रतिनिधि रहेकाले उनका अनुसार समग्र समुदायको विकासका लागि पहिलो प्राथमिकता प्रतिस्पर्धात्मक शैक्षिक आन्दोलन खाँचो रहेको र आफू त्यसको अगुवाइ गर्ने बि.सी. बत्ताउँछन् । आजसम्म कम्तीमा पनि सबै बालबालिका अध्ययनका लागि विद्यालय भौतिक संरचना समेत नहुँदा यहाँ रैथाने समुदाय अहिले पनि औपचारिक शिक्षा आर्जनबाट वञ्चित रहेको बि.सी.को ठहर छ । 

 जानकी गाउँपालिकाका सबै वडामा समेत कक्षा १० अध्ययन गर्न पाउने अवस्था आजका दिन सम्म बन्न सकेको छैन, अनि मधेसी, मुस्लिम समुदाय राज्यको मूल प्रवाहमा कसरी समेटिन्छन् । सबै तहका सरकार यसका दोषी रहेको युवा नेता बि.सी. को ठहर छ ।  यहाँका आफूलाई जनप्रतिनिधि भन्नेहरूको झनै धेरै दोषी छन् । जबसम्म औपचारिक शिक्षा आर्जनका लागि विद्यालय नै छैन भने यहाँका नागरिक अरूभन्दा अगाडी पुग्ने त परको कुरा प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित हुनु स्वाभाविक हो नेता बि.सी. भन्छन् । 

 आफू विद्यावारिधिको अध्ययन गर्दै गरेका नेता बि.सी. लाई चुनावी एजेन्डका  बारेमा भन्छन्- 'मेरो एजेन्डा नै शिक्षा फेरी पनि शिक्षा नै हो । अरु दिन दैन्य गरिने जनप्रतिनिधिको भूमिका भन्दा आफूले आफू निर्वाचित भएपछि यस क्षेत्रमा शिक्षाको सुधारमा  आँधी ल्याउने योजना रहेको छ ।  जबसम्म एकल एजेन्डा शिक्षामा क्रान्ति आउँछ अनि सबै समुदाय सचेत हुन्छ र पूर्वाधार विकासलाई भरपुर जीवन उपयोगी बन्ने कुरामा शङ्का रहँदैन ।' 

नेकपा एमाले बाँकेले प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा प्रदेश सभामा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिलाई केन्द्रीय अन्तर पार्टी निर्देशन अनुसार सिफारिस गर्ने प्रावधान अनुसार नै आफूले उम्मेदवार दावी गरेको बताउने बि.सी. हालसम्म आफू र आफ्नो  परिवारका सदस्य  पार्टीको कुनै लाभको पद प्राप्त नगरेको दावी समेत गरेका छन् । 

 पार्टीको जिल्ला उपाध्यक्ष समेत रहेका  बि.सी.को उम्मेदवारीले बाँके जिल्ला र एमाले जनमा मात्रै हैन समग्र पत्रकारिता क्षेत्रको राजनीतिमा मनोबल वृद्धि हुने समेत विश्वास व्यक्त गरेका छन् ।  पत्रकारिता विधामै प्रथम श्रेणीमा स्नातकोत्तर तह पास गरेका हालसम्म  हाल नेपाल संस्कृत विश्व विद्यालयमा पिएचडी(विद्यावारिधि) का शोधार्थी समेत रहेका नेता हुन । 

विद्यार्थी राजनीतिमा विद्यालय तहको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी पदाधिकारी र जिल्ला अध्यक्ष, तत्कालीन अञ्चल उपाध्यक्ष हुँदै तत्कालीन नेकपा मालेको सेल कमिटी, इलाका कमिटी, जिल्ला कमिटी, केन्द्रीय प्रचार विभागका साथै जिल्ला पार्टी पदाधिकारीको जिम्मेवारी सम्हाली रहेका  बि.सी. व्यक्तिगत स्वार्थ भन्दा पार्टीको स्वार्थलाई महत्त्व दिने नेता मानिन्छन् ।  एमाले बाँकेमा  आफ्नै क्षमता, विवेकले उनी स्थापित युवा नेताको रुपमा चिरपरिचित नेता हुन   बि.सी. ।

लोकस‌ंवाद डटकमसँगको एक भेटमा  बि.सी.ले भने- 'पार्टी नीति अनुसार र सह पाठीको सहयोगले आफू स्थापित भएको र आगामी दिनमा पनि यसैलाई आधार मानी पार्टी राजनीतिमा अगाडि बढ्ने योजना रहेको छ ।'

पार्टीमा प्राप्त हुने अवसरका बारेमा जिज्ञासा राख्दा नेता  बि.सी.को भनाई थियो ' मेरा सहपाठी केन्द्रीय राजनीति र विभिन्न अवसर प्राप्त गरेका छन् र आफूलाई पार्टीले अहिले सम्म कुनै विभेद नगर्दा नगर्दै पनि  कोही अगाडी पछाडि हुनु स्वाभाविक हो निरन्तरता, सक्रियता, इमानदारिता र निष्ठा भए एक दिन ती अवसर आफै प्राप्त हुने हुन्छ ।'

 अवसर खोज्दै दैलो दैलो धाउने हैन आफूलाई आफूले चिन्ने र आफूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने अवसर आफ्नै दैलोमा आउने विश्वास व्यक्त गर्दै उनी पूर्ण विश्वासका साथ भन्छन् - नेकपा एमाले साँच्चिकै सिद्धान्त, विधि, प्रक्रिया र योजनाबद्ध रुपमा रहेको पार्टी हो । यो पार्टीमा कसैले अवसरका लागि गुनासो गर्छ भने उसले पहिला आफूलाई चिन्नु पर्छ, अनि मात्रै एमाले बुझ्ने छ' ।