सिर्जना संवादको पहिलो कार्यक्रममा डा. अमर गिरी

सिर्जना संवादको पहिलो कार्यक्रममा डा. अमर गिरी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १९, २०७९

काठमाडौँ ।  जन साहित्यिक मञ्च, नेपालको आयोजनामा २०७९ भाद्र १८ गतेका दिन काठमाडौंको जोरपाटीमा सिर्जना संवाद कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डा‍. पुष्कर राज भट्टको अध्यक्षता एवं महासचिव बालमुकुन्द कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रामचन्द्र खतिवडाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यो सिर्जना संवादको पहिलो कार्यक्रम हो । यस पटकको कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक डा। अमर गिरीलाई प्रस्तुत गरिएको थियो । चार दशक अघिदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय रहनुभएका कविताका चार कृतिका साथै संस्कृतिसम्बन्धी पुस्तक प्रकाशित छन् ।

डा। गिरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष रहिसक्नु भएको छ । उहाँ हाल भाषा आयोगका सदस्यका रुपमा कार्य गरिरहनु भएको छ । गोष्ठीमा डा. अमर गिरीले आफ्ना १२ कविता प्रस्तुत गर्नुको साथै आफ्नो लेखन यात्रा एवं कविता सम्बन्धी दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । 

 यस कार्यक्रममा सहभागीका तर्फबाट दीप सागर पन्त, रघुनाथ कडरिया, विश्वनाथ प्याकुरेल, उद्दव प्याकुरेल, डम्मरु बल्लभ गडतौला, हेमन्त प्रकाश दाहालले जिज्ञासा प्रस्तुत गर्नुभएको र सो जिज्ञासामाथि डा. गिरीले आफ्ना दृष्टिकोण राख्नुभएको थियो । कार्यक्रममा विश्वनाथ प्याकुरेल एवं गोपाल बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो । सिर्जनात्मक प्रस्तुतिका साथै अन्तर्क्रिया मूलक कार्यक्रम भएकोले सहभागीले चाख पूर्वक कार्यक्रममा भाग लिएका थिए । कार्यक्रममा  करिब पचास जनाको  सहभागिता रहेको थियो ।