गठबन्धनमा सिट बाँडफाँडको 'वर्क आउट'मा किचलो: गठबन्धन तलमाथि हुन नदिन देउवाको निर्देशन

लोकसंवाद टिप्पणी

गठबन्धनमा सिट बाँडफाँडको 'वर्क आउट'मा किचलो: गठबन्धन तलमाथि हुन नदिन देउवाको निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १९, २०७९

सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनेको छ । गठबन्धन नगरौं भने निर्वाचन जित्न कठिन, गठबन्धन गरौं भने सिट संख्या पुर्‍याउनै कठिन पर्ने अवस्था देखा परेको छ । सत्ता गठबन्धन विरुद्ध प्रमुख प्रतिपक्षी एमालेले पनि विभिन्न स्थानमा साना दलसँग तालमेलको प्रयास गरिरहेको छ । यसो हुँदा चुनाव जित्न पनि सबै दललाई गठबन्धन चाहिने अवस्था सिर्जना भएको छ । 

सत्ता गठबन्धन झण्डै एक महिनादेखि ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा जुटेको छ । तर अझै पनि ठोस सहमति बनाउन सकेको छैन । प्रतिनिधिसभाका १६५ सिटमा सबै दलबाट बढी दाबी हुँदा कार्यदल र शीर्ष तहमा भएका पटक पटकका छलफल निश्कर्षमा पुग्न सकेका छैनन् । काँग्रेसले १०० सिटमा दाबी गरिरहेको छ ।

धेरै सिट नपाएको र पाएका सिटमा पनि आफ्नो समूहका धेरै नेताले टिकट नपाएको अवस्थामा के गर्ने भन्ने विषयमा अन्योलमा रहेको काँग्रेसको शेखर कोइराला समूहका नेताहरु पछिल्लो समयमा एमाले अध्यक्ष केपी ओलीसँग समेत छलफल गरिरहेका छन् । केही समयअघि मिनेन्द्र रिजाल र गत साता मात्रै शेखर कोइरालाले ओलीसँग छलफल गरे ।

जसमा ओलीले गठबन्धन फुटाउने गरी प्रचण्ड–माधव नेपालसँग जनमत धेरै नभएकाले गठबन्धन नगर्न, गठबन्धन गरेर काँग्रेस नेताले टिकट नपाउने अवस्था भयो भने त्यहाँ एमालेले सहयोग गर्ने र काँग्रेसले प्रचण्ड–नेपालसँग गठबन्धन नगर्दा एमालेले गठबन्धन गर्छ कि भन्ने डर नराख्न भन्दै ओलीले एमालेले कुनै हालतमा यी दुई दलसँग गठबन्धन नगर्ने सन्देश दिएका छन् ।

यसो गर्दा गठबन्धनमा कलह सिर्जना भई आगामी निर्वाचनमा एमालेले सिट बढाउन सक्ने ओलीको बुझाई रहेको देखिन्छ । एमालेको आड भरोसाकै कारण काँग्रेसको कोइराला समूह काँग्रेसले १०० सिट नपाए गठबन्धन गर्न नहुने पक्षमा उभिदै आएको छ । गत स्थानीय तह निर्वाचनमा पनि गठबन्धनको विपक्षमा उभिएको कोइराला समूह अन्ततः चुनावमा आफ्नो समूहकै नेताहरु हार्ने भएपछि रातारात गठबन्धन इमान्दार बन्नुपर्ने भन्दै गठबन्धनका दलसँग बैठक गर्न बाध्य भएका थिए ।

देउवाको भनाई उदृत गर्दै एक नेताले भने, ‘गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट गरौँ । उनीहरूले चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउँ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौं भन्नुभएको छ ।’ गठबन्धनमा काँग्रेसले  १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी गरेका छन् ।

कोइराला समूहमा जसरी पनि नेतृत्वलाई अप्ठ्यारो पार्ने, गठबन्धनलाई गुटको स्वार्थमा प्रयोग गर्ने र त्यो नभए तत्कालै विपक्षीसँग पनि मिल्न जाने प्रवृत्ति देखिएको छ । स्थानीय तहको निर्वाचनअघि उपसभापति धनराज गुरुङले गठबन्धनमा रहेका दललाई ‘हात्तीको कानमा ओत लाग्न आएका चमेरा’ भन्दै अपमानित शब्द प्रयोग गरेका थिए । 

माधव नेपालको त्यो चेतावनी

गत स्थानीय तह निर्वाचनमा देशव्यापी गठबन्धनको निर्णय गरे पनि केन्द्रीय स्तरबाट मिलाउने भनिएका महानगर र उपमहानगरको भागबण्डा मिलाउँदा मिलाउँदै आफ्नो राम्रो पकड रहेको कर्णाली र सुदूरपश्चिममा कमजोर देखिएको थियो । यसपटक नेता नेपाल सो घटनाबाट सजग देखिन्छन् । त्यसैले उनको अडान छ– सक्दो गठबन्धनलाई मिलाउने कोशिस गर्ने र नभएमा एक्लै भए पनि चुनावी मोर्चामा डटेर लाग्ने । काँग्रेस एक्लैले आधाभन्दा बढी सिट दाबी गर्दा सिट बाँडफाँडमा समस्या देखिएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले काँग्रेसलाई हैसियत भन्दा बढी सिट नमाग्न चेतावनी नै दिएका छन् । 

शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसको दाबी अस्वभाविक भएको बताए । ‘कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई हैसियतभन्दा बढी नमाग्न आग्रह गरेका छौं’, उनले भने । 

२०७४ सालमा प्रत्यक्ष तर्फ२३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुना सम्म दिन सक्ने उनले बताए । नेता नेपालले यसअघि नै काँग्रेसलाई ७० सिटभन्दा बढी दाबी नगर्न आग्रह गरेका थिए । उनले भने, ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट हुन्छ । उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’

काँग्रेसको कोइराला समूह सबैभन्दा बढी सिट बाँडफाँटमा अनुदार देखिएको छ । जसका कारण कार्यदल र शिर्ष तहमा समेत भागबण्डा मिल्न सकेको छैन । भागबण्डा नमिल्दा आगामी निर्वाचनमा सिट बाँडफाँट पछि मिलाउनुपर्ने उम्मेदवार व्यवस्थापन देखिएका धेरै काम रोकिएका छन् । 

भागबण्डामा समस्या देखिएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन भन्दै बालुवाटारमा केही नेताहरु बोलाएर लचिलो बन्न निर्देशन दिएका छन् । देउवाले आफूहरु गठबन्धनको नेतृत्वकर्ता भएको भन्दै लचक भएर प्रस्तुत हुनुपर्ने र अरु दललाई पनि लचिलो बन्न अनुरोध गनुपर्ने बताएका हुन् । गठबन्धन तलमाथि नहुने गरी सिट बाँडफाँडको 'वर्क आउट' गर्न देउवाले निर्देशन दिएका छन् । गठबन्धनमा रहेका दलले जित्ने ठाउँमा दाबी नगर्न पनि देउवाले नेताहरुलाई भनेका छन् । 

देउवाको भनाई उदृत गर्दै एक नेताले भने, ‘गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट गरौँ । उनीहरूले चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउँ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौं भन्नुभएको छ ।’ गठबन्धनमा काँग्रेसले  १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी गरेका छन् ।

जसका कारण सबै दल लचिलो नभए सिट बाँडफाँट नमिल्ने र यही किचलोले गठबन्धन धरापमा पर्ने खतरा बढ्दै गएको छ । सबै दल लचिलो भएर काँग्रेसले ८०–८५ सिट, माओवादीले ४५–५०, समाजवादी र जसपाले १५–२० सिटमा झरेमा सहमतिको सम्भावना रहेको नेताहरुको भनाई रहँदै आएको छ ।