प्रभावकारी बन्दै नगरपालिकाद्वारा सञ्चालन ल्याएको सेवा प्रवाह केन्द्र

प्रभावकारी बन्दै नगरपालिकाद्वारा सञ्चालन ल्याएको सेवा प्रवाह केन्द्र

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७९

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले एकै ठाउँबाट सेवा प्रवाह गर्न सञ्चालन गरेको सेवा प्रवाह सञ्चालन केन्द्र प्रभावकारी बन्दै गएको छ । सर्वसाधारणलाई सहजरुपमा एकै ठाउँबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित गत जेठ महिनादेखि सञ्चालन गरिएको केन्द्र प्रभावकारी बन्दै गएको हो । 

सेवा प्रवाह केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले कोठा चहार्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कामका लागि आउने सेवाग्राहीलाई प्रत्येक कोठा हिँड्न नपरोस् भन्नका लागि एकै ठाउँबाट सुरु गरिएको केन्द्रले सेवाग्राहीलाई सहज भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले बताउनुभयो ।

' सेवा प्रवाह सञ्चालन केन्द्रले सर्वसाधारणलाई सहज हुनुका साथै देशका विभिन्न अन्य स्थानीय तहको पनि यस केन्द्रप्रति चासो बढेको छ' , उहाँले भन्नुभयो, 'हामीले सञ्चालन गरेको यो केन्द्र हेर्नका लागि अन्य पालिकाबाट जनप्रतिनिधि र कर्मचारी आउन थाल्नुभएको छ ।'

सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राही अब सेवा लिन कोठा कोठा हिँड्न पर्दैन । सेवा केन्द्रमा पुगेर फाइल बुझाएपछि सेवाग्राहीले आराम गर्दै गर्दा काम सकाएर फाइल हातमै पाउँछन् । नगरपालिका आउँदा फाइल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्र सुरु गरेपछि नगरवासी खुसी भएका छन् । 

नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, पारदर्शी र नागरिक मैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले बताउनुभयो । 'सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा विभिन्न कोठा चाहर्नुपर्ने बाध्यताको अन्त्यका लागि केन्द्र सुरु गरेका हौँ', उहाँले भन्नुभयो, 'केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाइरहनुभएको छ ।'

नगरपालिकाको भुइँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा सेवाग्राहीले फाइल बुझाएपछि केन्द्रका कर्मचारीले सम्बन्धित सबै फाँट/शाखामा लगेर काम सम्पन्न गरी फाइल पुनः सेवाग्राहीलाई बुझाउनेछन् । 

तोकिएको मापदण्ड बमोजिमको कागजातको अभाव देखिएमा वा रीतपूर्वक नदेखिएमा उक्त केन्द्रमा राखिएको टेलिफोन सेवाको प्रयोग गरी सम्बन्धित शाखाको अधिकारीले सेवा केन्द्रका कर्मचारीको समन्वयमा सेवाग्राहीसँग प्रत्यक्ष टेलिफोन वार्ता गरी के कति कारणले फाइल रोकिएको हो, त्यसको कारण र नपुग कागजात, विधि र प्रक्रियाबारे बुझाइने उपप्रमुख विकले बताउनुभयो । 

कुनै जटिल प्रकृतिका सेवा प्राप्तिमा अन्यौल हुन गएमा मात्र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारीले तुरुन्त सेवा केन्द्रमा उपस्थित भई सेवाग्राहीलाई सो फाइल उपर छलफल गर्ने जनाइएको छ । 

फाइल प्राप्तिदेखि तोक आदेश, दर्ता, सम्बन्धित शाखामा पेश र अन्तिम सेवा नागरिकको हातमा दिने सम्मको कामका लागि सेवा प्रवाह सञ्चालन केन्द्रमा आवश्यक रुपमा कर्मचारीको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।