८५ पालिका मध्ये स्वास्थ्य क्षेत्रमा मध्यनेपाल नगरपालिका गण्डकी प्रथम

८५ पालिका मध्ये स्वास्थ्य क्षेत्रमा मध्यनेपाल नगरपालिका गण्डकी प्रथम

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  भदौ २०, २०७९

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिका मध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ ।

गण्डकी प्रदेश भरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा बालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७ दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयुँले ८६ दशमलव दुई र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् ।

गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताए ।

स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका ८ स्थानीय तहमध्ये पनि मध्यनेपाल नगरपालिका प्रथम भएको थियो । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धि गतिविधिहरूका मुख्य सूचकहरुको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो ।

नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका ८२ दशमलव ७५ अंकका साथ द्धितीय र बेंसीशहर नगरपालिका ८१ दशमलव ६५ अंकका साथ तृतीय भएको छ ।

स्वास्थ्य क्षेत्रमा गण्डकीमै प्रथम भएकोमा खुसी ब्यक्त गर्दै मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्य क्षेत्रमा खटिएका सबै कर्मचारीलाई बधाई तथा धन्यवाद दिएका छन् ।