प्रवासी एकता मञ्च अमेरिकाको सम्मेलन न्यूयोर्कमा सेप्टेम्बरको १७ र १८ मा

प्रवासी एकता मञ्च अमेरिकाको सम्मेलन न्यूयोर्कमा सेप्टेम्बरको १७ र १८ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २१, २०७९

अमेरिका । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन ‘सामाजिक अभियानमा सहभागि बनौं’ भन्ने नाराका साथ सेप्टेम्बर १७ र १८ तारीक न्यूयोर्कमा हुने भएको छ।

राष्ट्रिय सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख अतिथिको रुपमा अमेरिका निमन्त्रणा गरेको थियो। तर मङ्सिर ४ को चुनावी तयारी लगायतको व्यस्तताले आउने सम्भावना नरहे पछि अनलाइन जुम मार्फत अध्यक्ष नेपालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रमको तय भएको मञ्चका अध्यक्ष टेक गुरुङले बताए।

‘अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी सशक्त बनाउने भन्नेमा हामी जोड दिन्छौ। त्यस कारण हाइस्कुलमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई पनि प्रोत्साहान गर्न वक्ताको रुपमा राखेका छौ। हामी पहिलो पुस्ता र नयाँ पुस्ताको बीचको सोचमा नै फरक छ त्यसलाई सम्वोधन गर्न हामी उद्घाटन कार्यक्रम हाइटेक र छरितो बनाउने' अध्यक्ष गुरुङले बताए।

सम्मेलन आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न दश वटा विभागहरु बनाएर तयारी भइरहेको छ।२५ राज्यबाट एक सय जना भन्दा बढी सम्मेलनका प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले जानकारी दिए।