नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई

नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

काठमाडौं । नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

मालपोत कार्यालय कलंकीका तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध मुद्दा दायर भएको हो । नक्कली जग्गाधनी मीनाकुमारीको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । नयाँ पत्रिका दैनिकले यो समाचार प्रकाशित गरेकाे छ ।