छन्द–साधना पुरस्कार–२०७९ रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

छन्द–साधना पुरस्कार–२०७९ रामचन्द्र भट्टराई र सुदेश सत्याललाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २२, २०७९

काठमाडौँ । नेपाली छन्द कवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ ।

२०७६ बाट हरेक वर्ष छन्द कविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको उक्त पुरस्कारमा यस वर्षदेखि ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ पनि थप गरी दुई पुस्ताका छन्द साधकहरूलाई जोड्ने काम गरेको छ ।

यसै सन्दर्भमा ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ वरिष्ठ कवि रामचन्द्र भट्टराई (रुपन्देही) र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार–२०७९’ प्रखर युवा कवि सुदेश सत्याललाई प्रदान गरिने भएको छ । नगद २५ हजार  र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसअघि नै विशिष्ट छन्द साधकहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने र प्रा. घनश्याम कँडेल पुरस्कृत भइसक्नुभएको छ भने नगद १५ हजार  र प्रमाणपत्र रहेको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को थालनी यसै वर्षबाट गरिएको हो ।

नेपाली कविताको इतिहासमा शास्त्रीय छन्दलाई समाजसँग जोड्ने, वैचारिक चेतना र जागरणको संवाहकका रूपमा उभ्याउने, सामाजिक जागरण र सांस्कृतिक रुपान्तरणका लागि सिर्जनात्मक अस्त्रका रूपमा प्रस्तुत गर्ने, सूक्‍ति पूर्ण स्वरूप प्रदान गर्ने, सशक्त वाचन कलामा उतार्ने र समाज बोध एवम् जीवन बोधको उच्च गरिमा प्रदान गर्ने कार्यमा विगत छ दशकभन्दा लामो समयदेखि नेपाली छन्द कविताको उन्नयनमा अतुलनीय योगदान दिएबापत वरिष्ठ कवि रामचन्द्र भट्टराईलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

वि.सं. १९९८ असोज ५ गते पाल्पामा जन्मिएर २०१९ सालमा ‘भाँचिएको तामा’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका भट्टराईका ‘बोई’ (२०३२) एउटा खण्डकाव्य, ‘हलो’ (२०३७), ‘हृदयका फूलहरू’ (२०४६), ‘झिँगे माछो’ (२०४७), ‘आगोका फूलहरू’ (२०६१), ‘सेतो हात्ती’ (२०६३) जस्ता पाँच ओटा कविता सङ्ग्रह, ‘सुखानीको रगत’ (२०४९) एउटा गीत सङ्ग्रह र ‘ज्वाला’ (२०६४) एउटा उपन्यास गरी आठ ओटा साहित्यिक कृतिहरू प्रकाशित छन् । भट्टराईका छन्द कविताहरू वैचारिक दृष्टिले उच्च कोटिका मानिन्छन् भने अनुष्टुप् छन्दको वाचन कलामा उहाँले आफ्नै शैली वा मौलिकताको निर्माण गर्नुभएको छ ।

यसरी नै वि.सं. २०५१ वैशाख २० गते देवघाट, तनहुँमा जन्मिएर विगत डेढ दशकदेखि छन्द कविताको साधनामा समर्पित सुदेश सत्यालको ‘अन्तरिक्षको धर्ती’ (२०७३) कविता सङ्ग्रहलगायत पचासौँ फुटकर कविताहरू प्रकाशित छन् । सशक्त सिर्जना क्षमता, अनुपम वाचन कला, समकालीन विषयको अपेक्षित उद्घाटन, प्रविधिका माध्यमबाट छन्दकविताको विश्वव्यापी करण र नयाँ पुस्तालाई छन्द कविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा विशिष्ट योगदान दिएबापत युवा कवि सत्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो । कवि सत्यालले यु ट्युबमार्फत लाखौँ लाख श्रोतालाई समसामयिक चेतनाका छन्द कविताका माध्यमबाट जागृत गराउने काम गर्दै आउनुभएको छ ।

उक्त दुवै पुरस्कार निकट भविष्यमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा छन्द–तरङ्गबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत चार वर्षअगाडि २०७५ भदौ २२ गतेबाट काठमाडौँको वानेश्वर थापागाउँमा रहेको लेखन कुञ्जमा हरेक महिनाको तेस्रो शुक्रवार फरक फरक पुस्ताका तीन जना कविका पाँच पाँच ओटा कविता प्रस्तुत गर्ने गरी सञ्चालन हुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्त्व राख्ने सशुल्क छन्द कविता श्रवणको मासिक कार्यक्रम १९ औँ शृङ्खलासम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण २०७६ चैत्र महिनादेखि स्थगित भए पनि पुरस्कारलाई भने निरन्तरता दिएको कुराको जानकारी छन्द–तरङ्गका संयोजक द्वय मध्येका एक प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।