७० वर्ष राजगद्दीमा रहेकी एलिजाबेथको निधन: अब ‘गड सेभ द क्वीन’ होइन ‘गड सेभ द किङ्ग'

७० वर्ष राजगद्दीमा रहेकी एलिजाबेथको निधन: अब ‘गड सेभ द क्वीन’ होइन ‘गड सेभ द किङ्ग'

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २४, २०७९

बेलायतको इतिहासमा सबैभन्दा लामो समय महारानी रहेकी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । उनी ७० वर्षदेखि बेलायतको राजगद्दीमा थिइन्। बुधबार नियमित प्रिभी काउन्सिलको बैठकमा चिकित्सकको सल्लाहअनुसार सहभागी नभएकी महारानीलाई बिहीबार चिकित्सकहरुले निरन्तर निगरानीमा राखेका थिए ।

महारानीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनको परिवारका सदस्यहरु समेत स्कटल्याण्डमा भेला भएका थिए । महारानी एलिजाबेथले सन् १९५२ मा बेलायतको राजगद्दी सम्हालेकी थिइन् । भर्खरै दोस्रो विश्वयुद्ध सकिएका बेला बेलायतीय गद्दीमा पुगेकी उनले ठूलो सामाजिक परिवर्तनलाई नजिकबाट नियालिन् । 

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । उनी बेलायतको मात्रै नभएर १४ वटा राष्ट्र मण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन् । उनले प्रिय आमाको निधन एउटा ‘ठूलो दुःखको क्षण’ भएको बताएका छन् ।

‘हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहिरो शोक मनाउने छौं । मलाई थाहा छ उहाँको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्र मण्डलका देशहरूमा पनि । साथै संसारभरिका अनगिन्ती मानिसहरूले पनि उहाँको अभाव महसुस गर्नेछन्’, राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘शोक र परिवर्तनको अवधिमा उहाँ र उहाँको परिवारलाई (महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहिरो प्रेम गर्ने गरेको भन्ने जानकारी) ले सान्त्वना प्रदान गर्नेछ ।

लण्डनस्थित बकिंघम राजदरबार बाहिर महारानीको निधनको खबर लगत्तै हजारौं सर्वसाधारण भेला भएका छन् । स्थानीय समय अनुसार बेलुकीको साढे ६ बजे महारानीको निधन भएको घोषणा गरिएपछि सो दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबार बाहिर राखिएको थियो ।

त्यसअघि बकिंघम दरबारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ । राजा र क्वीन कन्सोर्ट (राजाकी धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लण्डन फर्किनेछन् ।’ महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम बाल्मोरलमै पुगेका थिए भने अर्का राजकुमार ह्यारी बाटोमा थिए । लिज ट्रस महारानी एलिजाबेथबाट प्रधानमन्त्री नियुक्त हुने अन्तिम प्रधानमन्त्री बनेकी छन् । एलिजाबेथले आफ्नो ७० वर्षे शासनकालमा १५ जना बेलायती प्रधानमन्त्री नियुक्त गरिन् ।

मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले आवश्यक स्थिरता र शक्ति प्रदान गरेको बताएकी छन् । सन् १८७४ मा जन्मेका विन्स्टन चर्चिलदेखि त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रसलाई महारानीले प्रधानमन्त्री बनाउन पाइन् । 

उनले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्दै आएकी थिइन् । तर लिज ट्रसलाई प्रधानमन्त्री बनाए पनि भेटघाट र छलफल गर्न पाइनन् । लण्डनस्थित बकिंघम राजदरबार बाहिर महारानीको निधनको खबर लगत्तै हजारौं सर्वसाधारण भेला भएका छन् । स्थानीय समय अनुसार बेलुकीको साढे ६ बजे महारानीको निधन भएको घोषणा गरिएपछि सो दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबार बाहिर राखिएको थियो ।

महारानी एलिजाबेथको जन्म सन् १९२६ अप्रिल २१ मा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो । उनी जन्मिदा राजदरबारको उत्तराधिकारी हुने अनुमान पनि कसैले गरेका थिएनन् । तर सन् १९३६ मा उनका ठूलो बुवा एडवर्ड अष्टमले दुईपटक सम्बन्ध बिच्छेद गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागेपछि उनका पिता राजा जोर्ज छैठौं बनेपछि १० वर्षको उमेरमा नै राजगद्दीको उत्तराधिकारी बनेकी थिइन् ।

अब एलिजाबेथको निधनपछि उनका छोरा चार्ल्स राजा बन्नेछन् । चार्ल्सको जन्म १४ नोभेम्बर, १९४८ मा भएको हो । उनी महारानीपछि बेलायती राजगद्दीको पहिलो उत्तराधिकारी हुन् । अब उनी राजा बनेपछि बेलायती राष्ट्रिय गानमा रहेको ‘गड सेभ द क्वीन’ परिवर्तन गरी ‘गड सेभ द किङ्ग’ बनाइनेछ ।