महान् शिक्षा सारथि जोर्ज जोन: पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल अर्थात् जीवित किम्बदन्ती

महान् शिक्षा सारथि जोर्ज जोन: पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल अर्थात् जीवित किम्बदन्ती

डा. सदानन्द कडेल  |  शिक्षा  |  भदौ २४, २०७९

नेपालमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्नु हुने गुरुहरू तथा शिक्षा सेवीहरूको बारेमा मैले खोजी गरिरहेको थिएँ । यो कार्य रटलेज इन्साइक्लोपेडिया अफ मोर्डन एसियन एजुकेटर्स तथा अर्को एउटा पुस्तकमा समावेश गर्ने उद्देश्यद्वारा निर्देशित थियो । यसै क्रममा शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्व तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेश राज शर्मासँग मेरो भेटघाट भयो । उहाँले आफूले लेखेको पुस्तक ‘बिर्सन नहुनेहरू’ मलाई दिँदै भन्नुभयो, ‘तपाईँले छुटाउनै नहुने नाम हो–जोर्ज जोन । उहाँको योगदान अतुलनीय छ ।’ 

सानो चिटिक्क परेको उक्त पुस्तक पल्टाएँ । उहाँले उल्लेख गर्नु भएका शिक्षा क्षेत्रका तीन रत्नाहरू मध्ये एक हुनु हुँदो रहेछ–जोर्ज जोन । अन्तिम अनुच्छेदमा लेखिएको रहेछ, ‘नेपालको पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको दियो बोकेर डाँडाकाँडा र कुना कन्दरामा ज्योति फिँजाउँदै हिँड्ने अथक यात्री जोर्ज जोनको योगदानप्रति हामी नेपालीले युग युगसम्म आभारी हुनै पर्दछ ।’ खासमा यस अघि मलाई जोर्ज जोनले पोखरा स्थित पृथ्वीनारायण (पीएन) क्याम्पसको संस्थापक प्रमुख भएर महत्वपूर्ण योगदान गर्नुभएको भन्ने कुरामात्र थाहा थियो ।

प्रा. डा. शर्मासँगको कुराकानी र उहाँले लेख्नु भएको पुस्तकले मलाई झन् जोन सर लगायतका महान गुरुहरूबारे खोज गर्ने र लेख्ने प्रेरणा मिल्यो । म जति–जति खोज गर्दै गएँ त्यति–त्यति जोन प्रतिको श्रद्धाभाव चुलिँदै गयो मेरो हृदयमा । यहाँहरुको मनमा पनि को हुनुहुन्छ जोर्ज जोन ? के योगदान गर्नुभएको छ उहाँले ? भन्ने जस्ता प्रश्नहरू उब्जिएका हुन सक्छन् । तीनै प्रश्नहरूलाई सम्बोधन गर्ने एउटा जमर्कोको रूपमा केही व्यक्तित्वहरूसँगको अन्तर्वार्ता र सन्दर्भ सामग्रीहरूको आधारमा यो आलेख पस्केको छु ।         

हुने बिरुवाको चिल्लो पात :  

भारतको केरला तिरूवितामकुर स्थित इडा आरनमुला गाउँमा वि. सं. १९८९ भदौ २३ गते जन्मिनु भएका जोनका बुवा ए. आइ. जोन र मावलीको हजुरबुवा शिक्षक हुनुहुन्थ्यो । उहाँकी आमा अन्नामाले पनि कक्षा ८ सम्म अध्ययन गर्नुभएको थियो । पढे लेखेको पारिवारिक पृष्ठभूमिका कारण दुवै तिरको जेठो नाती जोनलाई चार वर्षकै उमेरमा मावली गाउँको एउटा विद्यालयमा कक्षा १ मा भर्ना गरिएको थियो । घर तथा मामाघरमा पढे लेखेका अभिभावकहरू भएका हुनाले जोनले स्कुल जानु अघि नै मलयालम भाषाका सावाँ अक्षर चिनिसक्नु भएको थियो । त्यतिबेला सर्ट र हाफ पाइन्ट लगाएर बिना जुत्ता चप्पल खाली खुट्टामै स्कुल जाने गर्नुहुन्थ्यो ।  

विद्यालयमा अध्ययन गर्दा आफ्नो नियमित पठनपाठनको अतिरिक्त उहाँ स्काउट र बाल क्लबमा पनि सहभागी हुनुभएको थियो । स्काउटका क्रियाकलापले समाजसेवी भावनाको विकास गर्न सघाउ पुर्याएको थियो भने बाल क्लबका गतिविधिले सिर्जनशीलता बढाउनुमा मद्धत गर्यो । विद्यार्थी जीवनमा उहाँले भारतको स्वतन्त्रता सङ्ग्रामको समयमा ‘भारत छोडो’ आन्दोलनको जुलुसमा पनि भाग लिनु भएको थियो । हुने बिरुवाको चिल्लो पात भनें झैं उहाँमा सानै देखी सेवाको भावना चुलिँदै गएको थियो ।  

गाउँमै विद्यालय तहको शिक्षा आर्जन गरेपछि जोनले सन् १९५३ मा भारतको नागपुर स्थित युनियन बिब्लिकल सेमिनारी कलेजबाट स्नातक उत्तीर्ण गर्नु भएको थियो । उक्त कलेजमा अध्ययन गर्दा उहाँले मासिक भारू २५ छात्रवृत्ति पाउनु भएको थियो भने छात्रवृत्तिको शर्त अनुसार कलेजलाई टाइपिङ गरिदिएर सहयोग पनि गर्नु भएको थियो । उहाँले ११ कक्षाको पढाई सकेपछि नै टाइपिङ र सर्टह्याण्ड सिकिसक्नु भएकोले यो कामको लागि कुनै असजिलो महसुस गर्नुपरेन ।  

तेस्रो प्रयासमा बल्ल काठमाडौं प्रवेश 

कक्षा २ मा हुँदा नेपाली राजाको बारेमा कविता पढेका जोन नेपालको भ्रमण गर्न साह्रै उत्सुक हुनुहुन्थ्यो । उहाँ आफ्ना साथीहरूसँगै २००७ सालमा रक्सौल हुँदै अमलेखगन्जसम्म आउनु भएको थियो । नेपाली प्रहरीले कठालो समातेर काठमाडौं जान रोकि दिएकाले अर्को पटक जसरी पनि नगई नछाड्ने संकल्प गर्दै उहाँ फर्केर जानु भएको थियो । 

एक बर्षपछि कलेजमा बिदा भएको बेला पोखरा जानको लागि साथीहरूसँग गोरखपुर हुँदै सुनौली – भैरहवा पुग्नु भएको थियो । पहिले काठमाडौं जान नदिएकोले पोखरा जान पनि रोक्छन् कि भनेर बडाहाकिमकोमा सोधपुछ गर्नुभयो अनुमतिको लागि । अनुमति पाए पनि बाटोमा हैजा लागेको कुरा जानकारी पाएपछि उहाँहरू डराउनु भयो । त्यसैले पोखरा नगइ कन फर्किनु भएको थियो ।  

२००९ साल चैतमा २० बर्षको उमेरमा नागपुर कलेजमा सँगै पढ्ने अरु तीन जना साथीहरूसँग मिलेर जोनले काठमाडौंको लागि यात्रा सुरू गर्नु भयो । अमलेखगन्जबाट हिडेर काठमाडौं जानेक्रममा भीमफेदीको उकालोमा एक हूल मानिसहरूले नोल लगाएर गाडी बोकेर काठमाडौं लाँदै गरेको देख्दा अचम्म लागेको थियो उहाँलाई । दुई दिन लगाएर थानकोट पुगेपछि लरी चढेर काठमाडौंको तीनधारा पाठशाला पुग्नु भएको थियो । त्यतिबेला काठमाडौं उपत्यकामा थानकोट–काठमाण्डौ–भक्तपुरको रुटमा मात्रै लरी चल्ने गर्दथ्यो ।  

काठमाडौंमा टाइपिङ र ट्युसनका गुरू:

काठमाडौं आएपछि पुतलीसडकमा महिनाको ६ रूपैयाँ भाडा तिरेर कोठामा चारजना साथीहरूसँगै बस्न थाल्नु भएको थियो जोन । मन्दिरै मन्दिरको शहर काठमाडौंमा रोमाञ्चित भएपनि खाने, बस्ने, पढ्ने तथा जागिर गर्ने कुराले पिरोली रहेको थियो उहाँलाई । एकदिन न्युरोडमा घुमिरहेको बेला संयोगले माइसप ड्राई क्लिनर्सका मालिक भारतीय नागरिकसँग उहाँको भेट भयो । त्यसपछि उहाँले सोही ड्राई क्लिनर्समा काम पाउनु भयो । विदेशीसँग अंग्रेजीमा कुरा गर्ने प्रयोजनको लागि उहाँलाई जागिर दिइएको थियो । तलवको निधो नै नगरी काम सुरु भएको थियो । महिना सकिए पछि तलबको रुपमा उहाँले प्राप्त गर्नु भएको ४५ रूपैयाँले निकै राहत दियो । त्यसपछि न्युरोडकै सीताराम टाइपिङ  इन्स्टिच्युटले उहाँलाई प्रशिक्षकको रुपमा माइसपको भन्दा दोब्बर तलब दियो । उहाँ त दंगै पर्नु भएको थियो त्यतिबेला ।   

मलयालम, अंग्रेजी, हिन्दी, तामिल, मराठी र ग्रीक भाषा जानेका जोनले काठमाडौंमा बस्दा स्थानीय बासिन्दासँग नेपाली भाषा पनि सिक्नु भयो । दुई महिनासम्म वर्णमाला र व्याकरण पढेर नेपाली बिषयमा आफ्नो ज्ञान र अभ्यासको दायरा फराकिलो बनाउनु भएको थियो ।  

अंग्रेजी विषयमा दखल भएको कारण उहाँसँग ट्युसन पढ्ने विद्यार्थीको संख्या बढ्दै जान थाल्यो । अत्यन्तै कठिन मेहनत गर्न सक्ने जोनले बिहान ट्युसन, दिउसो जागिर र साँझ नेशनल कलेजको पढाइलाई निरन्तर अगाडि बढाउनु भएको थियो । गोरखापत्रमा विज्ञापन दिएर नै ट्युसन कक्षामा आउन आव्हान गरेपछि त झन् विद्यार्थीको चाप बढ्न गयो । फलस्वरूप महिनाकै २७०० रुपैयाँ कमाइ गर्ने अवस्थामा पुग्नुभयो जोन ।   

नेपालमा पढेर एमए पास गर्ने पहिलो व्याचको विद्यार्थी : 

पटना विश्वविद्यालयमा अंग्रेजी साहित्यमा एमए पास गरेर काठमाडौं फर्केपछि शंकरदेव पन्तले २००८ सालमा नेपाल नेशनल कलेज (हाल शंकरदेव क्याम्पस) स्थापना गर्नु भएको थियो । केही बर्ष पछि सोही कलेजमा स्नातकोत्तर तहको पढाई संचालन गरिएको थियो । पहिलो व्याचका विद्यार्थीहरू मध्ये एक हुनुहुन्थ्यो जोन । साँझमा दरवार स्कुलको भुईँ तलाको तीन कोठामा नेशनल कलेजका विद्यार्थीहरूलाई पढाइन्थ्यो । त्यतिबेला त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्नातकोत्तर तहको पढाई सुरू भइसकेको थिएन । जोनले दिउँसो काम गरेर साँझ स्नातकोत्तर तहमा अंग्रेजी साहित्यको अध्ययन सुरू गर्नुभयो । २०१६ सालमा नेशनल कलेजलाई सम्बन्धन दिने पटना विश्वविद्यालयमा गइ परिक्षा दिएर एमए उत्तीर्ण गर्नुभयो । भर्ना भएका जम्मा १७ जना विद्यार्थी मध्ये केवल जोन र आनन्ददेव भट्टले मात्र जाँच दिएर एमए उत्तीर्ण गर्नुभएको थियो । यसरी उहाँ नेपालमा पढेर एमए पास गर्ने पहिलो विद्यार्थीको रूपमा रेकर्ड तोड्न सफल हुनु भएको थियो ।   

पीएन क्याम्पसका संस्थापक प्रिन्सिपल तथा क्याम्पस प्रमुख : 

वि. सं. २०१७ असारसम्म पनि पोखरामा कलेज नखुलेको हुनाले एसएलसी पास गरेका विद्यार्थीहरूले उच्च शिक्षा आर्जन गर्नको लागि कि त काठमाडौं कि बनारस जानु पर्ने अवस्था थियो । बाहिर जान नसक्नेहरूले पढाई छोड्न बाध्य हुनुपर्थ्यो । वि. सं. २०१६ बैशाखमा मल्टी परपस हाइस्कुलका विद्यार्थीहरूले प्रवेशिका पास गरेपछि पोखरामा कलेज खोल्नु पर्ने एक सूत्रीय माग राखेर जुलुस समेत गरेका थिए । त्यसैले पोखरामा कलेज स्थापना गर्ने ध्येयका साथ केही समाजसेवी, शिक्षा सेवी तथा बुद्धिजीवीहरूले पहल सुरु गरेका थिए । तर त्यसको शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय नेतृत्व गर्ने उपयुक्त व्यक्तिको खोजी भइरहेको थियो ।  

यसैबीच जोनसँग ट्युसन पढ्न आइपुगे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थी तथा सोल्जर्स बोर्ड हाइस्कुल (हाल अमरसिंह मावि) पोखराका शिक्षक विमल बहादुर थापा । थापाले पटक–पटक जोनलाई ‘पोखरामा कलेज स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको र २५ हजार रुपैयाँ पनि संकलन गरिसकेको’ जानकारी सहित कलेज स्थापनाको लागि प्राज्ञिक नेतृत्व लिनको अनुरोध गर्नुभयो । जोनको ‘ग्रीन सिग्नल’ पाएपछि आवस्यक चाँजोपाँजो मिलाउनुको लागि थापा केही दिन ट्युसन कक्षा छोडेर पोखरातिर हानिनु भयो ।

सेती नदीको किनारमा खर काट्दा स्थानीय बासिन्दाले बिरोध पनि गरे । केही बाँस त सेतीमा बगाई दिए । कतिले जोनलाई गाली समेत गरे । जोनसँगै बाँस तथा खर काट्ने र बोक्ने काम गरेका विद्यार्थी तथा पीएन क्याम्पसका पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङले अमृत भादगाउँलकोे ‘असल गुरू’ पुस्तकमा भन्नुभएको छ, 'गाउँलेहरूले निकृष्ट ढंगले ‘तँ मधिसे खान नपाएर यहाँ आएको’ भनेर जोन सरलाई गाली गरे । हाम्रो मन सारै दुख्यो । तर जोन सर रिसाउनु भएन । हामीलाई त्यतिखेर जोन सर बुद्ध जस्तै लाग्यो ।’

 

एकदिन हुलाक मार्फत जोनको पोष्ट बक्स ९९ काठमाडौंमा २ भदौ २०१७ को मितिमा तयार गरिएको नियुक्ति पत्र पो आइपुग्यो । कलेज संचालक समितिका सचिवद्वारा हस्ताक्षर गरिएको नियुक्ति पत्रमा ‘तपाईलाई पृथ्वीनारायण इन्टर कलेजको प्रिन्सिपल कम लेक्चरर पदमा नियुक्ति गरिएको छ’ भन्ने व्यहोरा उल्लेख थियो । उहाँको तलब मासिक ३५० रुपैयाँ (प्रिन्सिपल भत्ता रू. ५० र भत्ता रू. २५ सहित) तोकिएको थियो ।  

 पीएन कलेज अगाडि शिक्षकहरूसँग जोर्ज जोन (वि. सं. २०१९); फोटो सौजन्य : डग्लस के. बिन्घम र सुनिल उलक

नियुक्ति पत्रले जोनलाई  असमन्जसयमा पार्‍यो । उहाँको काठमाडौंको कमाई र पोखरामा प्रिन्सिपलको तलबको तुलना नै हुन सक्दैनथ्यो । खासमा उहाँलाई काठमाडौं छोड्न मन थिएन । पहिला आफैले ‘हुन्छ’ भन्देकोले नियुक्ति पत्र नै पाइसके पछि ‘जान्न’ भन्न पनि उहाँको मनले मानेन । यसैबीच उहाँले आफ्ना गुरू शंकरदेव पन्तलाई सम्झनु भयो । अंग्रेजी साहित्यमा एमए गर्नु भएका पन्तको लागि काठमाडौंमा जागिरको लागि जताततै ढोका खुल्ला भएर पनि उहाँले नेशनल कलेज स्थापना गर्नु भएको थियो । त्यो कुराले जोनको मनमा गहिरो छाप परेको थियो । पोखरा जानको लागि विनम्र अनुरोध सहित हवाइजहाज भाडा र पुस्तकको लागि ९० रुपैयाँ नै प्राप्त भइसकेपछि नियुक्ति पत्रलाई स्वीकार गर्दै उहाँ पोखरा जाने निर्णयमा पुग्नुभयो ।   

२०१७ साल भदौ १६ गते लक्का जवान जोन प्लेन चढेर पोखरा पुग्नुभयो । सोही साँझ बसेको कलेज संचालक समितिको निर्णय अनुसार भोलिपल्ट देखि २ जना लेक्चरर र १३ जना विद्यार्थीको उपस्थितिमा कक्षा सुरू भयो । नदीपुरको रत्न राज्यलक्ष्मी कन्या प्राथमिक विद्यालयको कक्षा कोठामा सन्ध्या कालीन कक्षा चलाइएको थियो ।  

उहाँले २०१७ साल फागुनमा पीएन इन्टर कलेजको दश बर्षे गुरू योजना बनाउनु भएको थियो । योजनामा ‘दश बर्षमा विद्यार्थी संख्या १८ सय पुर्याउन सकिने र त्यसको लागि आवस्यक भौतिक पूर्वाधार तयार गर्न तीनसय रोपनी जग्गा र १० लाख रुपैयाँ आवस्यक पर्ने’ कुरा उल्लेख गरिएको थियो । यसबाट स्पष्ट हुन्छ कि जोन कत्ति स्वप्न द्रष्टा हुनुहुन्थ्यो भनेर ।  

२०१८ सालमा बडा हाकिम तेजबहादुर प्रसाईसँग जोन आफैले कलेजको लागि जग्गा मिलाइदिन अनुरोध गर्नुभयो । अनुरोधलाई सकारात्मक रुपमा लिनु भएका प्रसाईले भीमकाली पाटनको ११० रोपनी सार्बजनिक जग्गा लिखित रुपमा प्रदान गरेपछि गुरुहरू, चेलाहरू तथा संचालक समितिमा हर्षको सिमा रहेनछ ।   

जग्गा प्राप्त भएपछि संचालक समिति, प्रिन्सिपल, शिक्षकहरू, विद्यार्थीहरू लगायत सबै सरोकार वालाहरूमा जोश जाँगर थपियो । कलेजको लागि कक्षाकोठा, प्रिन्सिपल आवास र टाढाका विद्यार्थीहरूको लागि छात्रावास अत्यावस्यक भएकोले तीनवटा छाप्नाहरू बनाउने निर्णय भयो । शिक्षक र विद्यार्थीहरूको नेतृत्व गर्दै आफैले बन्चरो काँधमा हालेर बाटुले चौर, मास बार र फूलबारी तिर बाँसको लागि समुदायमा अनुरोध गर्दै, आफै बाँस काट्दै, बोक्दै गर्नु भयो । कलेजको आफ्नै छाप्रो बन्ने चर्चाले गाउँमा हलचल ल्याइदियो । त्यो बेलामा ३५० बाँस काटियो र भीमकालीपाटनसम्म बोकेर ल्याउने काम भयो । कलेजका कतिपय विद्यार्थीहरू स्कुलमा पनि पढाउने हुँदा उहाँहरूले आफ्ना स्कुलका बाँस काटिएकै गाउँका स्थानीय विद्यार्थीहरूलाई पनि बाँस बोक्न आग्रह गर्नु भयो ।  

आफुले काम गरेर देखाए पछि अरुले साथ दिनेछन् भन्ने लाग्थ्यो उहाँलाई । उहाँको सादा पन र मेहनत देखेर नतमस्तक हुन्थे विद्यार्थीहरू र स्थानीय अभिभावकहरू । भारतबाट आएर त्यति धेरै पढेको विद्वानले गाउँमा आएर बाँस काट्ने तथा बोक्ने गरेको चर्चा गाउँभरी फैलिएको थियो । नेपालबाट एमए गर्ने पहिलो विद्यार्थी, त्यो पनि अंग्रेजी साहित्यमा । यस्तो त्याग गर्नु चानेचुने कुरा थिएन त्यति बेलाको समाजको लागि । तर उहाँले धेरै पढेको घमण्ड कहिल्यै गर्नु भएन भन्छन् उहाँका सहकर्मी तथा विद्यार्थीहरू ।    

सेती नदीको किनारमा खर काट्दा स्थानीय बासिन्दाले बिरोध पनि गरे । केही बाँस त सेतीमा बगाई दिए । कतिले जोनलाई गाली समेत गरे । जोनसँगै बाँस तथा खर काट्ने र बोक्ने काम गरेका विद्यार्थी तथा पीएन क्याम्पसका पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङले अमृत भादगाउँलकोे ‘असल गुरू’ पुस्तकमा भन्नुभएको छ, 'गाउँलेहरूले निकृष्ट ढंगले ‘तँ मधिसे खान नपाएर यहाँ आएको’ भनेर जोन सरलाई गाली गरे । हाम्रो मन सारै दुख्यो । तर जोन सर रिसाउनु भएन । हामीलाई त्यतिखेर जोन सर बुद्ध जस्तै लाग्यो ।’  

२०१९ सालमा बगर स्थित भीमकाली पाटनमा जनश्रमदान जुटाई बनाइएको तीनवटा छाप्रामा कलेजलाई सारियो । बाँस, काठ, खर संकलन गर्ने कार्यमा जोनको सक्रियता, जोस, जाँगर  र नेतृत्व अविस्मरणीय तथा अतुलनीय थियो ।      

यसबाट स्पष्ट हुन आउँछ कि यूवा अवस्थादेखि नै जोर्ज जोन भविष्य द्रष्टा, स्पष्ट भिजन र मिसन भएका तथा योजनाबद्ध शैक्षिक विकासका हिमायती एक कर्मठ शिक्षा सारथी हुनुहुन्थ्यो भनेर । कलेजको गुरू योजना अनुसार शैक्षिक तथा प्रशासनिक नेतृत्व लिई,  प्राध्यापक, कर्मचारी, विद्यार्थी, संचालक समिति र अभिभावकहरूको सक्रिय सहभागिता जुटाई, अहोरात्र खटेर पीएन क्याम्पसलाई पश्चिम नेपालको उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गराउन सफल हुनुभयो । क्याम्पसको वेबसाइट अनुसार हाल ४ वटा फ्याकल्टी र एउटा इन्स्टिच्युट अन्तर्गत २९ वटा विभागहरू, ३४ वटा कार्यक्रमहरू र ५०० कोर्सहरू संचालनमा छन् । हाल पीएन क्याम्पसमा ११००० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने ६४२ प्राध्यापक/शिक्षकहरू तथा १२२ प्रशासनिक स्टाफ कार्यरत रहेका छन् ।   

सहायक डीन तथा अन्य शैक्षिक संस्थाको जिम्मेवारी : 

त्रिविका उपकुलपति डा. त्रैलोक्य नाथ उप्रेतीको आग्रहमा उहाँले २०३० सालमा बागलुङको महेन्द्र क्याम्पसमा प्रमुख भएर पनि काम गर्नु भयो । त्यसपछि उहाँले केही बर्ष मानविकी संकायको डिन कार्यालय कीर्तिपुरमा सहायक डिनको रूपमा जिम्मेवारी निर्वाह गर्नु भयो । क्याम्पस प्रमुख तथा सहायक डिन हुँदा पनि उहाँले अंग्रेजी शिक्षणमा निरन्तरता दिई नै रहनु भएको थियो ।  

'नेपाल र नेपाली विद्यार्थीका निम्ति आफ्नो जिन्दगी अर्पण गर्ने शालीन स्वभावका धनी सर्वश्रेष्ठ गुरू जोन सरको विद्यार्थी हुँ भन्दा गर्व लाग्छ । विद्यार्थीसँग रिसाएको कहिल्यै देखिएन । कुनै गल्ति भएमा सरले ‘साप, यो त भएन नि’ भन्दै मुसुक्क हाँस्नु हुन्थ्यो । त्यतिनै काफी हुन्थ्यो हामीलाई ।' 

२०४२ सालमा पीएन क्याम्पसको रजत जयन्ती समारोह सम्पन्न गरेर उहाँ काजमा साँगामा अवस्थित दिपेन्द्र प्रहरी विद्यालयमा प्रिन्सिपलको भूमिका निभाउन जानुभयो । उहाँले विद्यालय स्तरमा पनि अंग्रेजी पढाउनु भयो । त्यसो गर्दा आफ्नो पेशागत कद घट्छ भन्ने ठान्नु भएन उहाँले । ६ बर्ष साँगामा बसेर विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधार गरी फेरि पोखरा नै फर्किनु भयो । वि. सं. २०४६ मा सहप्राध्यापक हुनु भएका उहाँले त्रिवि नियम अनुसार ६३ बर्षको उमेरमा २०५३ साल भदौ २३ गते अनिवार्य अवकास लिनु भएको थियो । 

त्रिविबाट सेवा निवृत्त भएपछि उहाँले डेढ बर्षसम्म गण्डकी बोर्डिङ स्कुलमा प्रिन्सिपल भएर पनि काम गर्नु भएको थियो । दुई बर्ष जति उहाँले हेम्जाको गौरीशंकर कलेजमा अंग्रेजी पढाउनु भएको थियो । त्यस्तै माउन्ट अन्नपूर्ण क्याम्पस, जनप्रीय मावि र अमरसिंह माविमा पनि केही बर्ष पढाउनु भयो । 

विद्यार्थी, सहकर्मी, लेखक तथा शिक्षाविदका आँखामा जोन: 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ मार्फत सुझाव संकलन गर्ने क्रममा गण्डकी प्रदेशमा आयोजित कार्यक्रममा मलाई जोर्ज जोनसँग भेटघाट गर्ने अवसर मिलेको थियो । उक्त कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सहभागी हुनुभएका जोनले उच्चशिक्षा सम्बन्धी समूहमा पूर्ण रुपमा सहभागी भएर आफ्ना सुझाव दिनु भएको थियो । विशिष्ट अतिथि भएर पनि समूह कार्यमा सरिक हुनु भएको देखेर म उहाँसँग निकै प्रभावित भएको थिएँ ।

सोही कार्यक्रमको समापन समारोहमा मन्तव्य दिंदै उहाँले भन्नुभएको थियो, ‘यो कार्यक्रममा उपस्थित भएर नेपालको शिक्षालाई नयाँ दिशा निर्देश गर्न यहाँहरूले आफ्ना अमूल्य सुझावहरू दिनु भएको छ, जुन सराहनीय छ । यसको कार्यान्वयन हुनेछ भन्ने कुरामा विस्वस्त छु । तथापि यहाँ अलिकति शंका गर्नु पर्ने पनि अवस्था छ । बिगतमा पनि यसरी नै विद्यालय शिक्षा तथा उच्च शिक्षाको लागि सुझाव संकलन हुने गरेका थिए तर त्यसको कार्यान्वयन पक्ष भने कमजोर पाइएको थियो । सुझावहरू प्रतिबेदन मार्फत बाहिर आइसके पछि सरकार तथा हामी सबैले त्यसलाई लागु गर्ने कुरामा बिशेष जोड दिनुपर्दछ ।’ 

स्मरण रहोस् सैद्धान्तिक व्याख्यान, लामा भाषण र गफ भन्दा पनि सदैव काममा विश्वास गर्ने र आफु त्यसैमा होमिने कर्मवीर गुरुको शंका अहिले सही साबित हुन पुगेको छ । किनकि प्रतिवेदनको कार्यान्वयनको कुरा त परै जाओस् सरकारले प्रतिवेदनलाई सार्वजनिक सम्म पनि गरेन ।  

जोन सरको अनुभव र अनुभूति सम्बन्धी मेरो प्रश्नमा उहाँले पत्रकार अमृत भादगाउँलेद्वारा लिखित तथा जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘असल गुरू’ पढ्नको लागि आग्रह गर्नुभएको थियो । सोही अनुसार मैले लेखक भादगाउँलेलाई भेटेर उक्त पुस्तक प्राप्त गरें । यो आलेखका महत्वपूर्ण तिथि, मिति तथा तथ्यांक त्यसैमा आधारित छन् ।    

लेखक भादगाउँले पुस्तकको लेखकीयमा उल्लेख गर्नुहुन्छ, ‘भक्तपुरमा जन्मि हुर्किएकाले मैले जोन सरसँग औपचारिक शिक्षा लिने अवसर पाइन । तर पोखरामा बसेर पत्रकारिता गर्दा उहाँबाट धेरै सिकेको छु । मैले भेटेको असल मान्छे मध्येमा पर्नुहुन्छ जोन सर । जागिरे जीवनबाट माथि उठेर नेपालीका लागि मरि मेट्नु हुने जोन सरको योगदान स्तुत्य छ । उहाँको निःस्वार्थ कर्म र व्यवहार सबैका लागि अनुकरणीय छ ।’   

जोनको योगदानबारे प्रा. डा. सुरेश राज शर्मा भन्नुहुन्छ, ‘उहाँसँग शिक्षा क्षेत्रमा केही गरेर देखाउने हिम्मत र विश्वास थियो । उहाँले पोखरामा बाँसले घेरेर खरको छानो लगाई बनाइएको टहरोबाट कलेजको प्रारम्भ गर्नु भएको थियो । नेपाली बोल्न नजान्ने भारतीय युवकले त्यति बेलाको कष्ट कसरी भोगे, कसरी फेरि कर्म क्षेत्रमा जुटे, समस्यासित जुध्न कसरी अगाडि बढ्दै गए, त्यस कलेजलाई त्यस भेगकै इज्जतको केन्द्रका रूपसम्म कसरी पुर्याउन सके ? त्यसको कथा असाध्यै मार्मिक छ ।’  

आईएससी पहिलो ब्याचको विद्यार्थीको रुपमा पीएन क्याम्पसमै अध्ययन गर्नुभएका काठमाडौं विश्वविद्यालयका पूर्व डिन तथा सेवा निवृत्त प्राध्यापक डा. टंक नाथ शर्मा भन्नुहुन्छ, ‘माघको जाडोमा घाँटीमा गलबन्दी बेरेर हाम्रो गाउँ बाटुलेचौरमा आएर घर–घरमा बाँस माग्नु हुन्थ्यो । आफै बन्चरो बोकेर हिड्नु हुन्थ्यो । कक्षामा बिन्ध्यावासिनी स्कुलमा म ९–१० पढ्ने बेला क्याम्पसका विद्यार्थीहरूसँगै मैले पनि गाउँबाट बाँस बोकेर क्याम्पस पुर्याएको थिएँ । त्यति मेहनत गरेर शिक्षामा काम गर्ने मान्छे नेपालमा अर्को छैन । गण्डकी प्रदेशमा उहाँको योगदान अतुलनीय छ । एकदम शालीन तथा संकटमा अविचलित हुने उहाँको व्यक्तित्वबाट म अत्यन्तै प्रभावित छु । तथापि उहाँलाई राज्यले हेला गरे जस्तो लाग्छ ।’

२०३४ देखी २०३९ सालसम्म पीएन क्याम्पसमै पढाउनु भएका त्रिविका सेवा निवृत्त प्राध्यापक डा. भरत विलास पन्त भन्नुहुन्छ, ‘उहाँ एकदम कर्तव्य निष्ठ र व्यवहारमा सरल हुनुहुन्थ्यो भने मूल्य र मान्यतामा कडा तथा आदर्श वान हुनुहुन्थ्यो । २०३६ सालको आन्दोलनका क्रममा क्याम्पसमा हड्ताल भइरहन्थ्यो ।  उहाँ प्राध्यापक/शिक्षकहरूसँग बैठक गरेर छलफल गरी पृष्ठपोषण लिएर कदम चाल्नुहुन्थ्यो ।’ उहाँको निष्पक्षता र समान व्यवहारको तारिफ गर्दै प्रा. डा. पन्त थप्नुहुन्छ, ‘उहाँ शिक्षकहरूका मर्कालाई व्यवहारिक र लचकदार भएर बुझ्ने र सहयोग गर्ने कार्यमा सरिक हुनुहुन्थ्यो । जोन सर शिक्षा क्षेत्रमा सम्मान गर्नु पर्ने र बिर्सनै नहुने व्यक्तित्व हुनुहुन्छ ।’  

हाल अस्ट्रेलियाको मोनाश विश्वविद्यालयमा प्राध्यापनरत प्रा. डा. राम आशिष गिरीले २०३७ देखी २०४४ सालसम्म पीएन क्याम्पसमा अंग्रेजी पढाउनु भएको थियो । क्याम्पस प्रमुख जोनले आफैले पढाई रहेको विषयका सामग्रीहरू सहितको फाइल नै उहाँलाई हस्तान्तरण गर्नु भएको थियो । जोन सरसँगको पहिलो भेटको इम्प्रेसन गज्जबको रहेको बताउँदै प्रा. डा. गिरी भन्नुहुन्छ,  ‘मेरो जागिरको पहिलो दिन जब म पीएन क्याम्पसको बिचमा रहेको प्रशासनिक भवनमा जाँदै थिएँ, भवनकै अर्को पट्टी मानिसहरूको एक समूहले बास्केट बल कोर्टको लागि झाडी फाँड्ने काम गर्दै गरेको देखें । त्यो कामदारको समूहमा सर्ट प्यान्ट लगाएर औपचारिक ड्रेसमा भएका एकजना अरुभन्दा फरक व्यक्ति देखिनु हुन्थ्यो । उहाँ कामदारहरूको रेखदेख मात्रै गरिरहनु भएको थिएन, सँगसँगै काम पनि गरिरहनु भएको थियो । म अफिसमा पर्खी रहेको थिएँ । त्यही मानिस क्याम्पस प्रमुखको कुर्सीमा बस्न गएको देखेर म त छक्क परें । उहाँ जस्तो असाधारण व्यक्तिसँग काम गर्न पाउँदा बेजोडको सन्तुष्टि मिलेको महसुस हुन्छ मलाई ।’

प्रा. डा. गिरीका अनुसार पीएन क्याम्पस हातामा हाल देखिने कतिपय वृक्षहरू जोनले नै रोप्नुभएको हो । उहाँले कहिल्यै पनि चर्चित हुनेबारे चिन्ता गर्नु भएन । उहाँले निष्पक्ष व्यवहार गर्नु हुन्थ्यो । शैक्षिक क्रियाकलापहरूमा जहिले पनि विद्यार्थीलाई सुरुमा वा केन्द्रमा राख्ने गर्नुहुन्थ्यो ।  

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको विचारलाई अमृत भादगाउँलेले ‘असल गुरू’ पुस्तकमा उल्लेख गर्नुभएको छ । क्षेत्री भन्नुहुन्छ, ‘जोन सरले समृद्ध केरला छोडेर यो हिमाल मुनिको कन्दरामा आएर शिक्षाको ज्योति नबालेको भए सायद आज म मेरै गाउँमा हलो जोतिरहेको हुन्थें होला । म मात्रै होइन, लाखौँले उहाँबाट शिक्षा पाएका छन् ।’ 

२०३४–०३६ सालमा पीएन क्याम्पसका विद्यार्थी तथा शिक्षाकर्मी श्रीभक्त सुवासी भन्नुहुन्छ, ‘म ०३६ सालको आन्दोलनको समयमा पीएन क्याम्पसमा बि एड अध्ययन गर्थें । आन्दोलनको बेला त उत्पातै हुन्थ्यो । जति उत्पात भए पनि जोन सर तटस्थ हुनुहुन्थ्यो । सबैलाई समान व्यवहार गर्नु हुन्थ्यो । आक्रामक रुपमा विद्यार्थीले घेर्न जाँदा पनि उहाँ अत्यन्त शान्त भएर हाँसि रहनु हुन्थ्यो । पढाईमा राम्रो गर्नुपर्छ बाबुहरू भन्नु हुन्थ्यो । तीन वर्षसम्म पढ्दा मैले जोन सर रिसाएको तथा झर्केको देख्न सकिन । जोन सर अचम्मको व्यक्तित्व हुनुहुन्थ्यो ।’ 

प्रवीणता प्रमाणपत्र र स्नातक तहमा पीएन क्याम्पसमा अध्ययन गर्नु भएकी, ०४०–०४१ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षको भूमिका समेत निर्वाह गर्नु भएकी तथा हाल राष्ट्रपति कार्यलयमा कार्यरत लक्ष्मी कार्की भन्नुहुन्छ, ‘मलाई जोन सरले आईए पहिलो बर्षमा अंग्रेजी बिषय पढाउनु भएको थियो । उहाँको पढाउने शैली एकदम राम्रो थियो । बाह्य ज्ञान र नैतिक तथा सामाजिक कुराहरूको उदाहरण दिएर पढाउने उहाँको शिक्षण सीपबाट म निकै प्रभावित छु । हामी क्याम्पसमा हुँदा उहाँले पहिले क्याम्पस भवन बनाउनको लागि आफैले गाउँबाट बाँस बोकेर ल्याउनु भएको तथा विद्यार्थीले धुम्रपान गरेको ठाउँमा आगो निभाउन भन्दै पानीको बाल्टी लिएर जाने गरेको कुराको चर्चा खुबै हुने गर्थ्यो । उहाँ नेपालमा निस्वार्थ ढंगले शिक्षा क्षेत्रमा योगदान गर्ने आदर्श व्यक्ति हुनुहुन्छ ।’  

महेन्द्र क्याम्पस बागलुङका अंग्रेजीको उपप्राध्यापक उदय चन्द्र चपाँईका अनुसार जोन बागलुङ क्याम्पसको आधि छाप्रोमा पढाउने र आधि छाप्रोमा आफु बस्ने गर्नु हुन्थ्यो । पहिलोपल्ट क्याम्पसमा आफै खाल्डो खन्न लगाएर भकारीले बारेर शौचालय बनाउन लगाउनु भएको थियो । एक बर्षको छोटो अवधिमै समाज, प्रशासन र विद्यार्थीसँग राम्रो समन्वय गरेर क्याम्पस संचालन तथा पुस्तकालय स्थापना गरी राम्रो छाप छोड्नु भएको थियो । पुराना विद्यार्थीका अनुसार क्याम्पस परिसरमा भएका आँप र केरा बेचेर आएको रकमलाई बैंकको छुट्टै खातामा बचत गर्नुहुन्थ्यो । उहाँलाई बागलुङमा सबैले खुबै  सम्झना गर्छन् र सम्मान भावले हेर्छन् ।  

दिपेन्द्र प्रहरी विद्यालय साँगाबाट एसएलसी गर्नुभएका हाल एयरलाइन्स सेक्टरमा व्यवस्थापकीय भूमिकामा रहनु भएका पुष्कल थापा भन्नुहुन्छ, 'नेपाल र नेपाली विद्यार्थीका निम्ति आफ्नो जिन्दगी अर्पण गर्ने शालीन स्वभावका धनी सर्वश्रेष्ठ गुरू जोन सरको विद्यार्थी हुँ भन्दा गर्व लाग्छ । विद्यार्थीसँग रिसाएको कहिल्यै देखिएन । कुनै गल्ति भएमा सरले ‘साप, यो त भएन नि’ भन्दै मुसुक्क हाँस्नु हुन्थ्यो । त्यतिनै काफी हुन्थ्यो हामीलाई ।' 

सोही स्कुलबाट एसएलसी गर्नुभएका अर्का विद्यार्थी तथा हाल अष्ट्रेलियन दूतावासका रिसर्च अधिकृत कृष्णबहादुर कार्कीको विचार यस्तो छ, ‘जोन सर कक्षाकोठामा विद्यार्थीहरुको पढाई चलिरहेको समयमा विद्यालयको परिसर वरीपरी घुमिरहनु हुन्थ्यो । भुईमा खसेका कागजका टुक्राहरु टिपेर गोजीमा हालेर पछि डस्टबिनमा फ्याँक्नुहुन्थ्यो उहाँ । उहाँले किन त्यस्तो गर्नुभयो भन्ने कुरा मलाई आफै शिक्षक भएपछि मात्र थाहा भयो । अरुलाई सिकाउने कुरा पहिले आफैले आत्मसात र अभ्यास गर्नुपर्ने रहेछ ।’ 

नेपाली नागरिकता, मानपदवी तथा पुरस्कार :

जोर्ज जोनले २०३२ सालमा र उहाँकी श्रीमती एलियम्माले २०३५ सालमा नेपाली नागरिकता प्राप्त गर्नु भएको थियो । उहाँले २०५० सालमा पोखराको उत्तम चोकमा आफ्नो घर बनाउनु भएको थियो । हाल त्यहीं बस्दै आउनु भएको छ । 

उहाँले २०५७ सालमा राजा वीरेन्द्रबाट गोरखा दक्षिण बाहु चौथा प्राप्त गर्नु भएको थियो । सेवा निवृत्त भए पश्चात त्रिवि प्राध्यापक संघ पीएन क्याम्पस इकाईले आयोजना गरेको बिदाई कार्यक्रममा उहाँको नाममा एउटा प्रतिष्ठान स्थापना गर्ने उद्घोष गरियो । तद अनुसार जोर्ज जोन शिक्षा प्रतिष्ठानको स्थापना गरियो । क्याम्पसकै हाता भित्र प्रतिष्ठानको कार्यालय पनि खोलियो । प्रतिष्ठानले विभिन्न विषयमा सेमिनार तथा कार्यशाला गोष्ठी पनि गर्दै आएको छ । प्रतिष्ठानले भविष्यमा क्याम्पसमा प्राध्याप रत शिक्षकहरूलाई रिसर्च फेलोसिप प्रदान गर्ने सोच राखेको छ ।  

अन्त्यमा :

सात दशकसम्म अनवरत रूपमा नेपालमा रहेर शैक्षिक सेवामा समर्पित महान गुरू जोर्ज जोन शैक्षिक आकाशको चम्किलो तारा हुनुहुन्छ । आफ्नो जन्मथलो छोडी नेपाललाई अत्यन्तै माया गरेर तथा नेपाली नागरिक समेत बनेर सदा सर्वदा ज्ञानको ज्योति फैलाउन दिलोज्यान दिनु हुने गुरू सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । आफै उदाहरण बनेर देखाउने अचम्म लाग्दा अनुकरणीय कामको आधारमा उहाँलाई शिक्षा क्षेत्रको जीवित किम्बदन्ती (लिभिंग लेजेन्ड) भन्दा अतिशयोक्ति हुनेछैन । बाँचुन्जेल वास्ता नगर्ने र देहावसान पश्चात प्रशंसाको सुनामी ल्याउने संस्कृति हावी छ हाम्रो समाजमा । अब त्यसलाई बदल्नु पर्दछ । यस कार्यमा संघीय र प्रदेश सरकारलाई समयमै ठन्डा दिमागले सोचेर निर्णय लिन आग्रह गर्दछु ।     

हिजो भदौ २३ गते मात्र ९१ औं बर्षमा प्रवेश गर्नुभएका नेपालका असल गुरू तथा महान शिक्षा सारथी जोर्ज जोन सरलाई एक शिक्षाकर्मीको हैसियतले यसै आलेख मार्फत हार्दिक शुभकामना, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।