बाबा साकोसकझ नाफामा २० लाख बृद्धि : १३.०४ प्रतिशत लाभांश दिने घोषणा

बाबा साकोसकझ नाफामा २० लाख बृद्धि : १३.०४ प्रतिशत लाभांश दिने घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २५, २०७९

भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आ. व. २०७८/७९ मा ७७ लाख खुद मूनाफा गरेको छ भने शेयर सदस्यहरुलाई १३.०४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

१७ औं वार्षिक साधारण सभाको क्रममा  आ. व. २०७८/७९ सम्म ५३८९३२००। शेयर पूँजी रहेको सो संस्थाले ३० करोड निक्षेप संकलन गरी ३३ करोड लगानी गरी गत वर्ष भन्दा २० लाख नाफा बृद्धि गर्न सकेको जानकारी गराइयो । संस्थाले घोषणा गरेको लाभांश दसैं अगाडी शेयर सदस्यहरुलाई वितरण गर्ने जनाएको छ । साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष मीनराज कँडेलले समुदायमा आधारित रहेर शेयर सदस्यहरुको लागि शिक्षा, स्वास्थ्य र वातावरण लगायतमा सेवा गरेर कारोबारलाई अगाडी बढाउन सकेको स्वागत योग्य रहेको बताउनुभयो । उहाँले सहकारी अभियानको क्रममा गत वर्षको अवस्थालाई ध्यान दिएर सरकारले सहकारीहरुलाई बढाएको करलाई घटाउन सफल भएको जानकारी गराउदै बचत रहेको करलाई सदस्य कै हितमा खर्च गर्न आग्रह गर्नुभयो । 

विश्वव्यापी रुपमा फैलिएको सहकारी अभियानको चर्चा गर्दै अध्यक्ष कँडेलले नेपालमा सहकारी अभियानलाई सरकारले तीन खम्बे अर्थ नीतिको एक आधार बनाएर समृद्ध नेपालको लागि आधारशिला तयार गरेको छ भन्नुभयो । उहाँले संस्थालाई ब्राण्डिङ गर्न आवश्यक पूर्वाधार तयार गर्न जोड दिनुभयो । 

सभापतिको आसनबाट संस्थाका अध्यक्ष ज्ञान राम श्रेष्ठले कोभिड– १९ र आ. व. २०७८÷७९ मा मुलुकमा तरलताको अभाव भएको अवस्थामा पनि शेयर सदस्यहरुले संस्थाप्रति देखाएको विश्वासका कारण संस्थाले गत वर्षभन्दा बढी मूनाफा आर्जन गर्न सकेको जानकारी दिनुभयो । भक्तपुर जिल्ला बचत ऋण सहकारी संघ लि. का सदस्य पञ्च कृष्ण श्रेष्ठले सदस्य संस्थाहरुलाई तरलताको समस्या भएमा बिना धितो वासलातको आधारमा ६० लाखसम्म ऋण प्रदान गरिने जानकारी दिनुभयो । 

सभामा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेमरत्न मानन्धरले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजकले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि. का संचालक सदस्य कान्छा श्रेष्ठले बाबा साकोसको हरेक प्रगति र  कार्यहरु अनुकरणीय रहको बताउनुभयो ।  सदस्य दिपम श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कानूनी सल्लाहकार अधिवक्ता प्रिती श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यलयका प्रमुख पेशल  खड्काले पनि शुभकामना ब्यक्त गर्नुभएको थियो । सभामा स्नातकोत्तर उतीर्ण सदस्य एवं सदस्यका छोराछोरीहरू संस्थाका पूर्व अध्यक्ष नबिनप्रकाश श्रेष्ठ, डा. रोजी मानन्धर, रविना भासिमा, ज्ञानदेवी श्रेष्ठ, सविन श्रेष्ठ, सुमित्रा खड्का, राजु श्रेष्ठ, कमल श्रेष्ठ, डा. राजेन्द्र श्रेष्ठ, उज्वल श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेको थियो । साथै सहकारी लगायत हरेक जात्रा पर्वमा गाग्रीमा पानी बोकेर आम स्थानीय बासिन्दालाई पानी खुवाउदै प्यास मेटाउदै समाजसेवा गर्ने भक्तपुर नगरपालिका क्वाठण्डौं निवासी लतंभक्त प्रजापतिलाई सम्मान गरेको थियो । 
००