प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

विप्लव गतिविधिबारे गुप्तचरको रिपोर्ट

प्रधानमन्त्री कार्यालयबाट भयो हेलचक्र्याइँ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो। विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सो विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई रिपोर्टिङ गरेका थिए।

‘पुरानो जनयुद्धको रूपलाई गाउँभन्दा सहरकेन्द्रित गरेर आफूलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेको सूचना मुख्यसचिव रेग्मीलाई दिइएको छ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरूको आउजाउ बढेको, बैठक भेलाहरू सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरू अघि बढेको भन्ने सूचना दिइएको हो।’

राष्ट्रिय अनुसन्धान विभाग नेपालको प्रमुख गुप्तचर निकाय हो। त्यसले अहिले हरेक सूचना संकलन गरेर प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गर्ने गरेको छ। सो विभागले प्रत्येक दिन बुझाउने खामबन्दी रिपोर्टचाहिँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई बुझाउने गरेको छ। रिमाललाई नै बुझाइने रिपोर्ट गृह मन्त्रालयमा पनि खामबन्दी गरेर पठाइन्छ। तर गम्भीर चासोको विषयलाई भने विभागीय प्रमुख अधिकारीले मुख्यसचिवलाई नै बुझाउने गरेका छन्। नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ ।