इलाममा झलनाथको दोहोरो 'ह्याट्रिक' का चुनौती : सत्ता गठबन्धनको बलियो साथ आवश्यक

लोकसंवाद टिप्पणी

इलाममा झलनाथको दोहोरो 'ह्याट्रिक' का चुनौती : सत्ता गठबन्धनको बलियो साथ आवश्यक

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २६, २०७९


मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिमा निर्वाचन नजिकिदैं जाँदा नेताहरु आफू अनुकूल नतिजा ल्याउन कम्मर कसेर लाग्न थालिसकेका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको चहलपहलले पनि कतिपय क्षेत्रमा राजनीतिक दलका नेताहरुले जनताको घरदैलोमा जान सुरु गरिसकेका छन् । 

४ मंसिरको निर्वाचनमा लागि स्थानीय तहको निर्वाचन पछिदेखि नै आफ्नो पक्षमा माहौल बनाउन लागेका छन्, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल । उनले हालसम्म निर्वाचन जितेको क्षेत्र इलाम क्षेत्र नम्बर–१ हो । त्यसैले उनी यसपटक पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने सोचमा छन् । एकीकृत समाजवादी इलामले उनको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ । एक पटक प्रधानमन्त्री समेत भइसकेका खनालले २०५६ सालमा बाहेक सबै निर्वाचनमा यो क्षेत्रबाट जित हात पार्दै आएका छन् ।

यद्यपि उनले यसअघि निर्वाचन जित्दै आएको पार्टी नेकपा एमालेबाट विद्रोह गरेका छन् । एक वर्षअघि मात्रै एकीकृत समाजवादी गठन गर्दा अध्यक्ष माधवकुमार नेपालपछि सबैभन्दा वरिष्ठ नेता खनाल नै हुन् । त्यसो त तत्कालीन एमालेमा उनी नेपालभन्दा माथिल्लो वरीयतामा थिए । आफू स्वास्थ्य उपचारका लागि दिल्लीमै रहेका बेला एमाले विभाजन भएपछि उनी माधवकुमार नेपाललाई साथ दिँदै एकीकृत समाजवादीको पक्षमा उभिएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीसँग अत्यन्तै रुष्ट थिए । एमालेको नवौं महाधिवेशनमा खनालकै साथ पाएर ओली अध्यक्षमा निर्वाचित भएका थिए । तर अध्यक्ष बनेपछि ओलीले खनाललाई उपयुक्त भूमिका दिन चाहेनन् । खनाल राष्ट्रपति बन्न चाहेका थिए । तर ओलीले खनाललाई बेवास्ता गर्दै तत्कालीन उपाध्यक्ष विद्या भण्डारीलाई अघि सारे । नेकपा कालका ९ सचिवालय सदस्यमध्ये खनाल ओली र प्रचण्डपछि तेस्रो वरीयतामा थिए । तर खनाल चीन भ्रमणमा रहेका बेला चौथो वरीयतामा धकेलियो । खनालले सो कुराको विरोध गरेपछि फेरि तेस्रो वरीयता दिइएको थियो । पार्टीका हरेक निर्णयमा उपेक्षा गरिएपछि खनाल ओलीसँग रुष्ट भए ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन दलबाट उठेका वडाअध्यक्षहरूले ३७ हजार ७१६ मत पाएका छन् भने एमालेका वडाध्यक्षहरूले २६ हजार २३३ मत पाएका छन् । गठबन्धनमा आबद्ध दल र एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मतको अन्तर ११ हजार ४८३ हुन्छ । 

नेकपा कालमा ९ सचिवालय सदस्यमध्ये पाँच जना ओलीविरुद्ध उभिएका थिए । जसमा खनाल पनि एक थिए । उनले ओलीलाई दक्षिणपन्थी दिशामा लागेको आरोप लगाउँदै आएका छन् । खनाल गत स्थानीय तहको निर्वाचनपछि भने एमालेसँग केही नरम छन् । उनले सत्ता गठबन्धनले निर्वाचनमा धोका दिएको भन्दै वाम गठबन्धनको पक्षमा उभिदै आएका छन् । जिल्ला समन्वय समिति इलामको निर्वाचनमा पनि एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको थियो । यो सहकार्यले खनाललाई झनै अप्ठ्यारोमा पुर्‍याएको छ । सत्ता गठबन्धनका स्थानीय नेताहरु पनि खनालसँग रुष्ट छन् भने एमालेसँग सहकार्यको सम्भावना पनि कम देखिन्छ । यस्तो अवस्थामा उनलाई आगामी निर्वाचन जित्न निकै सकस हुने देखिएको छ । 

इलामबाट उनले हालसम्म ६ पटक निर्वाचन लडिसकेका छन् । जसमध्ये उनले २०५६ मा काँग्रेसका बेनुपराज प्रसाईसँग पराजित भए बाहेक सबै निर्वाचन जितेका छन् । त्यसो त उनको हारको अर्को अनुभव पनि छ । संविधानसभाको दोस्रो निर्वाचनमा उनी इलामसँगै सर्लाही–१ बाट पनि उम्मेदवार बनेका थिए । तर उनी सर्लाहीमा एकीकृत माओवादीका शम्भु लाल श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ पनि काँग्रेसले टिकट नदिएपछि माओवादीमा प्रवेश गरी उम्मेदवार बने र खनाललाई हराएका थिए । सर्लाहीमा श्रेष्ठले ९ हजार ४७६ मत ल्याएर विजयी हुँदा खनालले ८ हजार ७९० मत पाएका थिए । 

यसपटक पहिलो पटक एमालेबाहेक नयाँ दलबाट निर्वाचन लड्न लागेका खनाल इलाम बाटै उम्मेदवार बन्ने तयारीमा छन् । पाँच पटक इलामबाट जितिसकेका खनाल फेरि विजयी भएमा जितको दोहोरो ह्याट्रिक हुनेछ । उनले प्रतिनिधिसभा चुनाव २०४८, २०५१ र २०७४ तथा संविधानसभा चुनाव २०६४ र २०७० मा इलाम–१ बाट जित हात पारेका छन् । 

यसपटक उनको पार्टी एकीकृत समाजवादी रहेको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासमेत छन् । इलाममा राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलको राम्रै प्रभाव छ । यदि सत्ता गठबन्धन कसिलो रुपमा लागेमा यसपटक पनि खनाललाई चुनाव जित्न कुनै समस्या छैन । एक्लाएक्लै लडेको अवस्थामा भने खनाल विजयी हुने सम्भावना छैन । खनालको चुनाव क्षेत्र इलाम–१ मा सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, माइ नगरपालिकाको १, २, ३, ४, ५, ९ र १० नम्बर वडा र इलाम नगरपालिकाको १० नम्बर वडा पर्छन् । 

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन दलबाट उठेका वडाअध्यक्षहरूले ३७ हजार ७१६ मत पाएका छन् भने एमालेका वडाध्यक्षहरूले २६ हजार २३३ मत पाएका छन् । गठबन्धनमा आबद्ध दल र एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मतको अन्तर ११ हजार ४८३ हुन्छ । 

यसलाई आधार मान्ने हो भने गठबन्धन दलहरूबीच तालमेल भए खनालले स्वतः निर्वाचन जित्न सक्छन् । तर, गठबन्धन दलका स्थानीय नेताहरू जिल्ला समन्वय समितिको निर्वाचनमा खनालको भूमिकालाई लिएर खुसी छैनन् । खनालले पनि गठबन्धन दलहरुले आफ्ना दलका उम्मेदवारहरूलाई धोका दिएको बताउँदै आएका छन् । त्यसयता उनी वाम गठबन्धनको पक्षमा उभिदै आएका छन् । तर उनले भनेजस्तो वाम गठबन्धनको सम्भावना देखिदैन । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय नमिले दलहरु एक्लाएक्लै वा उप गठबन्धन बनाएर निर्वाचन लड्नुपर्ने अवस्था आउन सक्छ । एमालेसहितको वाम गठबन्धन तत्काल सम्भव देखिदैन । यस्तो अवस्थामा खनालले एमालेका उम्मेदवारसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । त्यस्तो अवस्थामा उनलाई जितका लागि सत्ता गठबन्धनको बलियो साथ आवश्यक छ । अन्यथा खनाललाई इलामबाट जितको दोहोरो ह्याट्रिक गर्न चुनौती रहेको छ ।