संसदमा महाअभियोग 'डिफेन्स': पूर्व न्यायाधीश समाज र अधिवक्ताहरूलाई दोषी करार गर्नमा  व्यस्त !

संसदमा महाअभियोग 'डिफेन्स': पूर्व न्यायाधीश समाज र अधिवक्ताहरूलाई दोषी करार गर्नमा  व्यस्त !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २७, २०७९

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाअभियोग सिफारिस समितिमा आफ्नो बयान दिइरहेका छन् ।

संसदमा महाअभियोग प्रस्ताव पेस भएको करिब ६ महिनापछि महाअभियोगको प्रस्ताव अघि बढेपछि चोलेन्द्रले दिएको सफाइका क्रममा उनी भने आफूलाई सर्वज्ञानी, सर्वगुणी र अरु सबैलाई खराब पात्रका रुपमा उभ्याइरहेका छन् । 

अचम्मको कुरा चै के छ भने उनकै नेतृत्वमा भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला भयो । यो फैसलाको सबैभन्दा बढी आलोचक र फैसलामा संलग्न ५ जना न्यायाधीशको विरोधमा रहेको एमालेप्रति भने चोलेन्द्र नरम देखिन्छन् । ओली प्रधानमन्त्री हुँदा संवैधानिक निकायमा भागबण्डा पाएका चोलेन्द्र प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलापछि आफ्ना जेठानलाई मन्त्री बनाउन सफल भए पनि चौतर्फी विरोधपछि दुई दिनमै राजीनामा दिन बाध्य भएका थिए भने आफू अनुकूल न्यायपालिका चलाउन खोजेपछि महाअभियोगको प्रस्ताव आयो । आफैंले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गर्ने र आफैं विरुद्ध महाअभियोग लागेकाले उनी सत्तारुढ दलहरुसँग रुष्ट देखिन्छन् । जसको झल्को उनको बयानमा भेटिन्छ । 

उनले आफू विरुद्धको महाअभियोग प्रस्तावमा बयान दिने क्रममा निरन्तर विभिन्न व्यक्तिहरुमाथि व्यक्तिगत लाञ्छना र आरोप लगाइरहेका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीहरु, सर्वोच्चका सहकर्मी न्यायाधीश, अधिवक्ताहरु र सांसदहरुको नामै लिएर उनी आरोप प्रत्यारोपमा उत्रिएका छन् । 

सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको आरोप छ । सो विषयमा सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम लिए । उनले ओली र पौडेलका कारण नै सर्वोच्चको भवन बन्न सफल भएको भन्दै प्रशंसा गरे । तर यो भवन निर्माणमा भएको भ्रष्टाचारमा को–को संलग्न हुन् भन्ने विषय उत्तिकै चर्चामा छ । 

जबराले बयानका क्रममा पूर्व न्यायाधीशलाई मण्डले भएको आरोप लगाएका छन् । उनले भने, ‘पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो । मण्डले समाजको मण्डलेले नै नेतृत्व गरेको छ । हिजो मण्डलका जति पनि पछि न्यायाधीश भएका थिए त्यो उनले नेतृत्व गरेको छ । जस्तो टोपबहादुर सिंह हिजोको मण्डले हो । घनघोर मण्डले भनेको शम्भु खड्का हो ।’

उनी यतिमा मात्रै रोकिएनन् । उनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई नामै लिएर ठालु र अर्का अधिवक्ता ओम प्रकाश अर्यालको चरित्र ठीक नभएको आरोप लगाए । 

उनले ठालुहरूले सर्वोच्च ओगटेर बसेको र आफूले तह लगाएका कारण त्यही गिरोहले आफूलाई महाअभियोग लगाएको उनको आरोप थियो । त्यो गिरोह एकदमै देखिएकै छ भन्दै अघि बढेका उनले रमण श्रेष्ठको नाम लिएका हुन् । उनले हिजो पनि र आज पनि महाअभियोगको नेतृत्व रमण श्रेष्ठले गरेको बयान दिएका छन् । 

उनले नेपाल बार एशोसिएसनका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले न्यायाधीश मागेको र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यमाथि मुद्दा मिलाउन सिफारिस गरेको आरोप लगाएका थिए । उनी आफूमाथिको महाअभियोगको डिफेन्स भन्दा पनि आफूलाई ठीक देखाउन सबैलाई दोषी करार गर्दै गएका छन् । 

त्यसपछि उनी अर्का अधिवक्ता ओमप्रकाश अर्यालमाथि खनिए । उनले भने, ‘सम्पत्ति शुद्धीकरणको (रिट) दिन गोविन्द केसी जी जानुभएको थियो । त्यसमा जानुहुने अधिवक्ता चाहिँ ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ ।’

उनले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले दुई पटक न्यायाधीश सिफारिस गर्दा आफूले अस्वीकार गरेको उनको भनाई थियो । 

केही राजनीतिक दलले न्यायालयलाई ध्वस्त पार्न महाअभियोग लगाएको टिप्पणी गरे । ‘महाअभियोग फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भन्ने कुरा आएको थियो । मैले सार्वजनिक रुपमा नै भनेको छु’, उनले भने । 

उनले काँग्रेस सांसद डिना उपाध्याय सो प्रस्ताव लिएर आएको र आफूले प्रचण्ड र शेरबहादुर देउवासँग समेत सल्लाह गरेर आएको बताएको राणाले बयान दिए । यसअघि उनले बयानका क्रममा माधवकुमार नेपाल, बाबुराम भट्टराई, सर्वोच्चका न्यायाधीश दिपककुमार कार्की, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीलगायतको नामै लिएर विभिन्न आरोप र लान्छना लगाएका थिए । न्यायाधीश राउतमाथि त भट्टीमा जाने गरेको र श्रीमतीलाई सम्बन्धबिच्छेद गर्न बाध्य पारेको जस्ता व्यक्तिगत विषयमा टिप्पणी गरेका थिए । 

उनले नेपाल बार एशोसिएसनका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले न्यायाधीश मागेको र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यमाथि मुद्दा मिलाउन सिफारिस गरेको आरोप लगाएका थिए । उनी आफूमाथिको महाअभियोगको डिफेन्स भन्दा पनि आफूलाई ठीक देखाउन सबैलाई दोषी करार गर्दै गएका छन् ।