सुतार कार्कीको वंशावली पुस्तक सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा सार्वजनिक

सुतार कार्कीको वंशावली पुस्तक सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाज  |  भदौ २७, २०७९

सुनसरी ।  भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष पुस्तक उहाँका परिवारले प्रकाशन गर्नु भएको छ ।  

 २०७८ साल असोज ३ गते निधन हुनु भएका स्व. अमरबहादुरको सम्झनामा उहाँको परिवारले स्थापना गरेको अमर फाउण्डेशन नेपालले सुतार कार्की बन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक प्रकाशन गरिएको हो। उक्त पुस्तक गत शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।  

उक्त पुस्तक सुतार कार्की अभिभावक वयोवृद्ध लक्ष्मी माया कार्की, पञ्चकन्या मावि आमचोक–१ का पूर्व प्रधानाध्यापक पुन्य प्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उप प्रधानपञ्च पशुपति कार्की, उहाँका धर्मपत्नीहरु बसन्त देवि कार्की, रामकुमारी कार्कीलगायत उहाँका परिवारले सयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो । 

२७० पृष्ठको पुस्तकमा स्व. अमरबहादुर कार्कीले ७ बर्ष लगाएर प्रदेश १ तथा आसपासका जिल्लामा बसोवास गर्ने सुतार कार्कीको पुस्तावली समावेश गरिएको छ । पुस्तकका स्व. अमरबहादुरको जीवनी, उहाँका विषयमा विशिष्ठ व्यक्तिहरुले लेखेका लेखहरु समावेश गरिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले बताउनु भयो । पुस्तकमा  सुतार कार्की कुलपूजा विधि, गोठ धुप पूजा विधि, सुतार कार्कीको इतिहास, वंश परम्परा र जातिका विषयबस्तुहरु समेटिएका छन् । बार्षिक तिथिमा पुराना लगाउने र फजुल खर्च नगरेर त्यो खर्च गर्ने पैसाले गरिव असहायहरूलाई सहयोग गर्ने योजना बनाएर स्व. पिताको नाममा संस्था खोली सामाजिक काम गर्ने उहाँले बताउनु भयो ।

पुस्तकका संरक्षक विश्वराम कार्कीले स्व. पिताको नाममा ट्रष्ट स्थापना गरेर उहाँले पढेको विद्यालय र पढाएको विद्यालय तथा असहाय व्यक्तिहरुलाई सहयोग गर्ने बताउनु भयो । पुस्तक प्रकाशन पहिलो प्रयास र ऐतिहासिक काम भएको बताउँदै   यस वंशावलीलाई थप परिस्कृत र पूर्ण बनाउन सुतार कार्की सेवा समितिसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो । 

कार्यक्रममा स्व. अमरबहादुरका भाई तिर्थराज कार्की, सँगै एउटै विद्यालय अध्ययन गर्नु भएका पुन्य प्रसाद पराजुली, पशुपति कार्कीले स्व. अमरबहादुर कार्कीको देन, भोजपुरको आमचोक क्षेत्रमा उहाँले गरेको योगदान र गतिविधिबारे चर्चा गदै उहाँको जीवनी स्मरण गराउनु भएको थियो ।  हालको पञ्चकन्या माध्यमिक विद्यालयका तत्कालिन शिक्षक, गाउँ पञ्चायत  प्रमुख  जिल्ला सदस्य  भई सक्रिय सामाजिक अभियान्ता कार्कीको  २०७८ असोज  ३ गते मृत्यु भएको थियो । उहाँले लामो समय लगाएर सुतारहरुको वंशावली संकलन गर्नु भएको  थियो । वंशावलीसँगै उहाँका विषयमा स्मृति लेखहरु पुस्तकमा समेटिएका छन् ।