राष्ट्रपति भण्डारीद्वारा दार्जिलिङका नरबहादुर दाहालसहित आठ साधक पुरस्कृत

राष्ट्रपति भण्डारीद्वारा दार्जिलिङका नरबहादुर दाहालसहित आठ साधक पुरस्कृत

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ २८, २०७९

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भारतको दार्जिलिङका वरिष्ठ साहित्यकार नरबहादुर दाहालसहित नेपाली वाङ्मयका विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याएबापत आठ जना विशिष्ट वाङ्मय साधकलाई पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा भवनको प्रज्ञा–सम प्रेक्षालयमा आयोजित  ‘प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव–२०७९ पुरस्कार अर्पण समारोह’मा राष्ट्रपति भण्डारीले दाहाललाई भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गर्नुभएको थियो । 

यसै गरी उक्त समारोहमा राष्ट्रपतिले नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार वरिष्ठ दर्शन शास्त्री प्रा.विद्यानाथ उपाध्याय (काठमाडौँ) लाई, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार वरिष्ठ कवि रामचन्द्र भट्टराई (रूपन्देही) लाई, नेपाल प्रज्ञा संस्कृति पुरस्कार वरिष्ठ संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्री (भोजपुर) लाई, नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार वरिष्ठ इतिहासविद् डा. नयनाथ पौडेल (ललितपुर)लाई, नेपाल प्रज्ञा अनुवाद पुरस्कार वरिष्ठ साहित्यकार, समालोचक, अनुवादक प्रा.डा.गोविन्दराज भट्टराईलाई,  नेपाल प्रज्ञा मातृभाषा साहित्य (पुरस्कार हिमाली–पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि खेन्पो ङवाङ वोसेर लामा (शेर्पा भाषा, दोलखा)लाई र तराई–मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि शर्मिला चौधरी (थारू भाषा, कञ्चनपुर) लाई अर्पण गर्नुभयो ।

भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र नेपाल प्रज्ञा अनुवाद पुरस्कारको नगद राशि दुई दुई लाख रहेको छ भने अन्य प्रज्ञा पुरस्कारको राशि एक एक लाख रहेको छ । यी दुई पुरस्कार प्रत्येक दुई दुई वर्षमा र अन्य पुरस्कार प्रत्येक एक एक वर्षमा अर्पण गर्ने गरिन्छ । दोसल्ला, ताम्रपत्र र नगदसहित उहाँहरूलाई पुस्कृत गरिएको थियो ।    

त्यस्तै राष्ट्रपतिले राष्ट्रिय कविता महोत्सव–२०७९ मा प्रथम स्थान प्राप्त गर्नु भएकी टीका आत्रेय (सुनसरी), द्वितीय स्थान प्राप्त गर्नुभएका यात्री प्रकाश पाण्डेय (धादिङ) एवम् तृतीय स्थान प्राप्त गर्नुभएका क्रमशः सीता तुम्खेवा (भक्तपुर), किरण सिवा (सुनसरी) र कमलराज केसी (अछाम) लाई क्रमशः स्वर्ण पदक, रजत पदक र कांस्य पदकसहित नगद पुरस्कार र प्रमाणपत्र अर्पण गर्नुभएको थियो । उक्त पुरस्कारहरूको राशि ५०, ४० र जनही ३० हजार रहेको छ । समारोहमा प्रज्ञा पुरस्कारबाट पुरस्कृत हुनुहुने साधकहरूलाई समारोहका विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दोसल्ला ओढाउनुभएको थियो ।  

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान गर्नु नै  चेतनाको सम्मान हुने बताउनुभयो । उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने उल्लेख गर्दै भन्नुभयो– 'नेपाली भूमि ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ । ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कनु छ । यस सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका प्रशंसनीय छ ।'

राष्ट्रपतिले नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष असार ९ गते आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवले युवा पुस्तालाई प्रोत्साहन गरेको उल्लेख गर्दै एक लाख २८ हजारभन्दा बढी शब्द ससङ्ग्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करण ‘नेपाल इन इमेजेज’जस्ता ग्रन्थ प्रकाशन भइरहनुपर्ने बताउनुभयो । दुवै ग्रन्थको राष्ट्रपति भण्डारीले उक्त समारोहमा सार्वजनिकी करण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले ‘सनातन संस्कृति कोशा’, ‘नेपाल दर्पण’ जस्ता ग्रन्थको तयारी गरि रहेकामा पनि प्रज्ञा–प्रतिष्ठानको सराहना गर्नुभयो ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय तयार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–'प्रज्ञा–प्रतिष्ठानले ‘लेखक–साहित्यकार परिचय कोश’ प्रकाशनको तयारी गरेको छ, प्राज्ञिक योजना पूरा गर्न सरकारले साथ दिन्छ, यसअघिका शब्दकोशको मोबाइल एप सार्वजनिक भएजस्तै आज विमोचन भएको ‘प्रज्ञा बृहत् नेपाली शब्दकोश’को पनि मोबाइल एप सार्वजनिक हुने विश्वास छ । ।' उहाँले प्राज्ञिक क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले उल्लेखनीय काम गरेको उल्लेख गर्दै नवीन कृतिको प्रकाशन र यसअघि प्रकाशित भई बजारमा अप्राप्य बनेका कृतिको पुनः प्रकाशन गर्ने क्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुुुुुुुुभयो । यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको बहुलतालाई सम्बोधन गर्ने गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले १० ओटा पुरस्कार स्थापना गरेर प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टालाई सम्मान गर्ने गरिँदै आएको बताउनुभयो । 'नेपालभित्र र बाहिर जहाँसुकै रहे पनि नेपालको प्राज्ञिक चिनारी विश्वमा पुर्‍याउने स्रष्टालाई प्रज्ञाद्वारा स्थापित पुरस्कारबाट सम्मान गर्ने गरिन्छ' उहाँले भन्नुभयो– 'प्रज्ञा–प्रतिष्ठानले १२ वर्ष लगाएर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशनमा ल्याएको छ । नेपालका विभिन्न मातृ भाषीले प्रयोग गर्ने नेपाली शब्द पनि यहाँ समावेश गरिएको छ ।' कुलपति उप्रेतीले नेपालको प्राज्ञिक उन्नयनलाई सरकारले ठुलो सहयोग गरेको बताउँदै नयाँ गठन हुने प्राज्ञ परिषद्ले पनि रचनात्मक गतिविधिलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

उपकुलपति डा जगमान गुरुङले समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल राष्ट्रको उन्नयनका लागि प्राज्ञिक आपूर्ति गरिरहेको बताउनुभयो ।   

सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले समारोहमा प्रज्ञा पुरस्कारहरूसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै यसै वर्षदेखि संस्कृति, दर्शन र सामाजिक शास्त्र विषयमा पनि प्रज्ञा पुरस्कार स्थापना गरी पहिलोपटक वितरण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रिय कविता महोत्सव–२०७९ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय कविता महोत्सवले कवि प्रतिभाहरूको खोजी गर्ने गरेको बताउनुभयो । उहाँले कविता महोत्सव नयाँ तथा पुराना दुवै पुस्ताका लागि आकर्षण बन्ने गरेको उल्लेख गर्नुभयो । 

समारोहमा पुरस्कृत व्यक्तित्वहरूका तर्फबाट बोल्दै भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत दाहालले विश्वको जुनसुकै स्थानमा गएर बसे पनि नेपाली जातिको भाषा, साहित्य र संस्कृति एउटै हुने अनुभव सुनाए । भारतमा पनि नेपाली साहित्यकारका रचना पढाइने उल्लेख गर्दै उहाँले यसले दुई देशबीचको मैत्री भाव अझ विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कविता महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल कविताकी कवि टीका आत्रेयले सो समारोहमा पुरस्कृत कविता वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।