लालीगुराँस ‘राष्ट्रिय फूल’ हुने सयपत्रीहरू किन नहुने ?

लालीगुराँस ‘राष्ट्रिय फूल’ हुने सयपत्रीहरू किन नहुने ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

काठमाडौँ । नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ? यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो ।

तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गर्नुभएको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालिगुराँसको परिचय फराकिलो बन्यो । पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले बताउनुभयो ।

‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक–पटकको छलफलपश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’–विगत स्मरण गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।