मन्त्री कुँवरको श्रम सहचारी र काउन्सिलरलाई निर्देशन:  श्रमिकको हितमा डिमाण्ड स्वीकृत गर्नु

मन्त्री कुँवरको श्रम सहचारी र काउन्सिलरलाई निर्देशन:  श्रमिकको हितमा डिमाण्ड स्वीकृत गर्नु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०७९

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गर्नु भएको छ । बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उहाँले डिमाण्ड आयो भन्दैमा राम्रोसँग बुझेर स्वीकृत नदिन आग्रह गर्नु भएको हो ।

मन्त्री कुँवरले उहाँहरुलाई डिमाण्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्नेमा जोड् दिनु पर्ने बताउनु भएको छ । उहाँले कसैको दबाब र धम्किको आधारमा डिमाण्ड स्वीकृत नगर्न पनि उहाँहरुलाई आग्रह गर्नु भयो ।

डर, धम्की दिने व्यवसायीहरुसँग आफुले कुराकानी गर्ने पनि मन्त्री कुँवरले बताउनु भएको छ । उहाँले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिनु भयो ।

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलरर श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताउनु भएको छ । साथै उहाँले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गर्नु भएको छ ।

९ वटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरले आफुले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था,  म्यानपावर व्यवसायीले गरेको ठगि, जेल र मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरुलाई दुतावासले गरिरहेको सहयोग लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँहरुले नेपालीहरु काम गर्न भन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको जानकारी मन्त्रीलाई गर्नु भएको छ । भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उहाँहरुले आग्रह गर्नु भएको छ । त्यस्तै सिप सिकेका कामदारलाई मात्रै विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नु पर्ने पनि उहाँहरुले माग राखेका छन् ।