‘थो रेडियो नेपाल खः’अर्थात् ध्रुव मधिकर्मी : शिक्षण, पत्रकारिता र साहित्यका त्रिवेणी
आश्विन १, २०७९

उहाँको बुवा, आमा मध्यम वर्गीय व्यापारी । मधि भनेको नेवारीमा मिठाइ हो । यसरी कार्य विभाजनका कारण उहाँहरुको थर पनि मधिकर्मी रहन गएको हो । यही मिठाइको सामान्य व्यापारले उहाँहरुको परिवार चलेको थियो । उहाँहरुको पुर्ख्यौली पेशा मिठाइको काम भए बुवाको निधनपछि भने कसै कसैले यसलाई निरन्तरता दिए पनि धेरै भने शिक्षामा तथा जागिरमा लागे । उहाँले पनि शिक्षण पेशा हुँदै पत्रकारिता, साहित्य तथा रेडियोकर्मीका रुपमा आफूलाई उभ्याउनु भयो । 

उहाँको जन्म २०१५ सालमा भक्तपुरको बोेलाछेँ टोलमा भएको हो । आम नेपाली झैं उहाँको बाल्यकाल पनि सामान्य रुपमा बित्यो । अहिलेको सन्दर्भमा हेर्ने हो भने त्यो बेला अभावमा बितेको बित्यो भन्नुपर्छ । त्यस बेला पैसाको साह्रो संकट थियो । केटाकेटी उमेर बाहिर घुमफिर गर्न जाने र किनेर खान पैसा हुन्नथ्यो । पैसाको संकट भएपछि रहर र चाहनाहरू स्वतः खुम्चने नै भए । उहाँको पनि त्यस्तै भयो । तर, खुशी पैसाले मात्र प्राप्त हुने होइन । यस अर्थमा उहाँहरु साथीभाइसँग खेलेर, फिल्म नहेरे पनि हलमा गएर पोष्टर हेरेर मात्र पनि फिल्म हेरेको आनन्द लिएर खुशी हुनुहुन्थ्यो । 

साथीभाइ मिलेर गुच्चा खेल्ने, घुमघाम गर्ने तथा अरु खेल खेल्ने गर्नुभयो । खोलामा गएर खोलामा पौडी खेल्ने भन्दा पनि सूर्यविनायकको जंगलमा रहेको ढुंगे धारामा गएर नुहाउने आदि गरेर उहाँको बाल्यकाल बित्यो । 

०००

उहाँको प्रारम्भिक शिक्षा टौमडी टोलमा रहेको वरदायिनी स्कूलमा भयो । त्यहाँ उहाँले ४ कक्षासम्म पढ्नुभयो । उहाँलाई यकिन नभए पनि शुरु शुरुमा भने भुइँमा चकटी ओछ्याएर बसे जस्तो लाग्छ । ३/४ कक्षामा भने बस्नलाई केही बेञ्च त हुन्थ्यो । त्यसबेला कक्षामा १५/१६ जना विद्यार्थी हुन्थे । छात्राहरुको खास सहभागिता रहे जस्तो उहाँलाई लाग्दैन । 

५ कक्षादेखि भने उहाँ सरस्वती विद्या गृहमा पढ्नुभयो । त्यो बेला स्कूल वा विद्यालय भनिन्थ्यो, निमावि र मावि भनेर छुट्याइँदैनथ्यो । २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि मात्रै प्रावि, निमावि र माविको व्यवस्था गरिएको हो । 

कक्षामा झण्डै ३०/४० जना विद्यार्थी हुन्थे । छात्राको संख्या उल्लेख्य नभए पनि सहभागिता ठिकै हुन्थ्यो । अतिरिक्त क्रियाकलाप भन्ने हुँदैनथ्यो । वर्षमा एकचोटि सरस्वती पूजा हुन्थ्यो । बाहिर पिकनिक लैजाने वा घुमाउन लैजाने चलन थिएन । 

उहाँले २०३० सालमा एसएलसी दिनुभएको हो । त्यस बेला उहाँको ब्याचका एसएलसी दिने झण्डै सय जना थिए । त्यसमध्ये २५,३० जना जति पास भए । तर, उहाँ भने पहिलो वर्ष पास नभएर दोस्रो वर्षमात्र पास हुनुभयो । एसएलसीपछि उहाँ भक्तपुर क्याम्पस अर्थात हालको भक्तपुर बहुमुखी क्याम्पसमा प्रमाणपत्र तहमा मानविकी पढ्न थाल्नुभयो । प्रवीणता तह पास गरेपछि उहाँले स्नातक तह भने पाटन क्याम्पसमा पढ्नुभयो । 

०००

उहाँको पहिलो जागिर भने कौशी तोषाखानामा हो, जहाँ उहाँले झण्डै दुई वर्ष काम गर्नुभयो । त्यस बेला तलब कति थियो उहाँलाई हेक्का भएन । अनि पहिलो तलबले के गर्नुभयो भन्ने पनि याद भएन । त्यसपछि उहाँले भक्तपुरको कन्या माध्यमिक विद्यालयमा पढाउन थाल्नुभयो । त्यस बेला उहाँको तलब ११ सय रुपैयाँ थियो । यो तलब भने उहाँलाई कसरी याद भयो भने उहाँले यति नै पैसाको दराज बनाउनु भएको थियो तलब आउँदा । उहाँले स्कूलमा झण्डै १० वर्ष काम गर्नुभयो । 

दशौं वर्षमा स्कूलमा स्थायी हुनुभयो तर यता रेडियो नेपालमा पनि स्थायी भएपछि उहाँले स्कूलको जागिर छोड्नुभयो । उहाँले रेडियो नेपालमा भने २०४७ साल असार १५ गते नियुक्ति पाउनु भएको हो । नियुक्ति पाएको १/२ दिनपछि उहाँले समाचार वाचन गर्न थाल्नुभएको हो । उहाँले झण्डै २६ वर्ष रेडियोमा काम गरेर २०७३ सालमा अवकाश प्राप्त गर्नुभएको हो । 

अर्को एउटा चर्चित कथा छ ‘गह्वर’ अर्थात गहिरो खाल्डो वा इनार । यस कथामा उहाँले विदेशीहरु नेपाल आउँछन् अनि यहाँको प्राकृतिक स्रोतबाट कमाएर विदेश लैजान्छन् र यहाँका मानिसलाई भने दास बनाएर जान्छन् भन्ने सन्दर्भ उप्काउनु भएको छ । विदेशीले सहयोग त गर्छन् तर त्यसको दोब्बर मूल्य असुलेर जान्छन् विषयलाई पनि छुनुभएको छ । 

२०४६ सालमा प्रजातन्त्र आइसकेपछि विभिन्न भाषामा समाचार प्रसारण गर्ने क्रममा नेवारी अर्थात् नेपालभाषामा समाचार वाचनका लागि उहाँ रेडियो नेपालमा प्रवेश गर्नुभएको थियो । विसं २०२२ सालमा नेवारी र हिन्दी भाषाको समाचार हटाइएकोमा २०४६ सालको प्रजातन्त्रपछि यी दुवै भाषामा समाचार प्रसारण गर्न थालिएको हो ।

उहाँले रेडियोमा काम गर्दा रेडियोको क्रेज अर्कै थियो । अनि यसो सार्वजनिक भेटघाट र सम्पर्कमा रेडियोमा काम गर्ने भन्दा शान नै बेग्लै हुन्थ्यो । ‘थो रेडियो नेपाल खः’ भनेर साथीभाइले उहाँसित रमाइलो पनि गर्थे ।

०००

एसएलसी दिएपछि अर्थात विसं २०३० पछि जुन खाली समय हुन्छ त्यसमा उहाँले त्यतिबेला टोलटोलमा चलेका पुस्तकालयमा गएर पत्रपत्रिका, पुस्तक पढ्ने, उपन्यास हेर्ने सिनेमा हेर्न जाने आदि इत्यादि गर्नु हुन्थ्यो । अरुका रचना पढ्दा आफ्नो नाम पनि यसरी छपाउन पाए कस्तो रमाइलो होला भन्ने एउटा मोह जाग्यो । यसरी उहाँले कविता लेख्न थाल्नुभयो । २०३३ सालमा उहाँको पहिलो रचना ‘के छ’ शीर्षकको कविता अर्पण साप्ताहिकमा छापिएको थियो । यसरी उहाँको साहित्य तर्फको यात्रा अघि बढ्यो । 

रत्न कोजू, हरि गोविन्द भोमी, श्याम आशालगायत कोही टोलका कोही सँगै पढेका र कोही साहित्यतर्फ झुकाव राख्ने साथीहरुसँग संगत भयो । अब लेखेर मात्र हुँदैन पत्रिका निकाल्नुपर्छ भनेर चर्चा चल्यो । त्यस बेला साहित्यमा सुनिएका महाकवि देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण सम, मोहन कोइराला लगायतका युवा पुस्ताका हस्तीहरूसँग भेट्ने एउटा सम्पर्क माध्यमका लागि पनि उहाँहरुले पत्रिका निकाल्नुपर्छ भनेर सोच बनाउनु भयो । र, उहाँले २०३६ साल पुषदेखि आरोहण नामक साहित्यिक पत्रिका शुरु गर्नुभएको हो । जसको सम्पादक उहाँ र रत्न कोजू हुनुहुन्थ्यो ।

त्यस बेला धीरेन्द्र मल्ल, लव गाउँले, पूर्ण विराम, किशोर पहाडी, अशेष मल्ल, विश्ववि मोहन श्रेष्ठ, भवानी घिमिरे, कृष्ण धरावासी, गोविन्द गिरी, ऋषिराज बराल लगायत नाम चलेका अन्य साहित्यकारहरूसँग पत्रिकाको माध्यमबाट सम्पर्कसमेत भयो । 

साहित्यिक पत्रिका चलाउन त्यस बेला गाह्रो थियो । विज्ञापन हुँदैनथ्यो । आफ्नो गोजीबाट हालेर कतिञ्जेल निकाल्ने । यसरी बन्द हुँदै चल्दै गरेर २०५४ सालसम्म निस्कियो आरोहण पत्रिका । 

उहाँले गजल, गीत, मुक्तकलगायत सबै विधामा कलम चलाए पनि पछिल्लो समय भने कविता, कथा र लघुकथामा केन्द्रित हुनुहुन्छ ।

उहाँका प्रकाशित कृतिमा, सन्दर्भ समय (कविता संग्रह), जिन्दगी र समय (कथा संग्रह), बुद्ध कहीँ छैन (लघुकथा संग्रह), दृष्टि र घनघोर जंगल (कथा संग्रह), समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर (समालोचना संग्रह), अजिंगरको जात्रा (बालकथा संग्रह), पीडाको जंगल (गजल संग्रह), ओरालोको सिलसिला (लघुकथा संग्रह), ध्रुव मधिकर्मीया बाखं (नेपाल भाषामा कथासंग्रह) रहेको छ । 

त्यस्तै संयुक्त लेखनमा लघु (लघुकथा संग्रह), अवतार विघटन (उपन्यास) रहेको छ । यस्तै संयुक्त अनुवादमा ब्यूँझिएका पाइलाहरु (नेपालभाषाबाट अनुदित कथासंग्रह) रहेको छ । सम्पादनमा भने समकालीन कवि र कविता (कविता संग्रह), नवाइम्ह छुँ (बाल उपन्यास), स्रष्टा मुकुन्द पोखरेल (व्यक्तित्व र कृतित्व) रहेको छ । अनुवादमा भने आनन्द जोशीका कविताहरु (नेपालभाषाको कथा संग्रह), श्याम आशाका लघुकथा (नेपालभाषाको लघुकथा संग्रह) रहेको छ । उहाँले पुनर्जागरण साप्ताहिक तथा जनमञ्च साप्ताहिकमा साहित्यिक स्तम्भ लेखन पनि गर्नुभएको छ । 

लघुकथा समाज, वासु शशी स्मृति परिषद, सिर्जना अभियान समाज, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यलगायत अन्य थुप्रै संस्थाहरुमा उहाँको संलग्नता रहेको छ । 

पुरस्कारका हकमा पनि उहाँले श्रेष्ठ सिरपा नेसं ११०९, सिद्धिदास अमात्य राष्ट्रिय प्रतिभा पुरस्कार २०५७, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार २०५७, दीपशिखा प्रतिभा सम्मान २०६१ प्राप्त गर्नुभएको छ ।

०००

साहित्यमा सामान्यतया अग्रज पुस्ताको हेर्दै र सिको गर्दे लेख्ने प्रचलन छ । शुरु शुरुमा त्यसो पनि हुन्छ । तर, त्यसले साहित्यकारको आफ्नो परिचय बनाउन मद्दत गर्दैन । उहाँको चर्चित कथा ‘दृष्टि र घनघोर जंगल’ पनि आम पाठकले अनुमान गरेभन्दा अलि भिन्न शैलीको छ । 

रामायणमा एउटा प्रसंग छ, राम वनवास गएपछि जंगलमा सीताले सुनको मृग देख्छिन् र मृग चाहियो भन्छिन् । राम गएर मृगको शिकार गर्छन् र फर्केर आउँछन् । उहाँको कथा ‘दृष्टि र घनघोर जंगल’मा भने मृग मार्न गएको राम फर्केर आउँदैनन् । उहाँको कथामा सुनको मृग शहरमा हराउँछ र राम पनि शहरमा हराउँछन् । 

अहिले हरेक मानिस भौतिक सुख, सुविधा र सम्पत्तिको लागि शहरमा हराउँछन् । राम पनि त्यसैगरी हराए । तर, सीता भने उता घनघोर जंगलमा अर्थात् गाउँमा रामलाई कुरिरहेकी हुन्छे । 

अहिलेको मानिसको सन्दर्भलाई उहाँले रामायणको यस कथाका माध्यमबाट एउटा सन्देश दिन खोज्नु भएको छ । यस कथालाई डा. गोविन्दराज भट्टराईले पोष्ट मोर्डनिज्मको अवधारणामा केलाएर कथाको समालोचना पनि गर्नुभएको छ । 

त्यस्तै उहाँको अर्को कथा कृष्ण र सुदामाका बारेमा पनि छ । जुन निकै चर्चित पनि छ । कृष्ण र सुदामाका बारेमा धार्मिक महत्व बेग्लै भए पनि अहिलेको सन्दर्भमा यसको महत्व के हो भन्ने उहाँको कथाले बताएको छ । यसमा उहाँले अहिलेको चाकरी, चाप्लुसी प्रवृत्तिका बारेमा लेख्नुभएको छ । 

उहाँ यस्ता मिथहरुलाई, पौराणिक कथाहरूलाई आधार बनाएर सिधा नलेखी प्रतीकात्मक रुपमा लेख्नुहुन्छ । स्वैर कल्पनाको रुपमा लेख्नुहुन्छ । 

उहाँको अर्को एउटा चर्चित कथा छ ‘गह्वर’ अर्थात गहिरो खाल्डो वा इनार । यस कथामा उहाँले विदेशीहरु नेपाल आउँछन् अनि यहाँको प्राकृतिक स्रोतबाट कमाएर विदेश लैजान्छन् र यहाँका मानिसलाई भने दास बनाएर जान्छन् भन्ने सन्दर्भ उप्काउनु भएको छ । विदेशीले सहयोग त गर्छन् तर त्यसको दोब्बर मूल्य असुलेर जान्छन् विषयलाई पनि छुनुभएको छ । 

यहाँका नेपालीलाई विदेशीले गहिरो खाल्डो खनाउँछ र त्यहाँका सबै कुरा लैजान्छन् र नेपालीहरु भने त्यो खाल्डोमा फस्न पुग्छन् भन्ने सन्दर्भ छ उहाँको ‘गह्वर’ कथामा ।

उहाँको प्रायः लघुकथा पनि प्रतीकात्मक नै हुने गर्छ । यसमा पनि रामायण लगायत विभिन्न प्रसंग छ । सीतालाई रावणले हरण गरेपछि सीता हराइन । हनुमान, जाम्ववान, सुग्रीव सबै सीतालाई खोज्न निस्कन्छन् । तर, कहाँ खोज्न जाने भन्ने अन्यौल हुन्छ । यस्तैमा उहाँको कथामा भने अब खोज्ने होइन अर्को विवाह गर्ने भन्ने पुरुष मानसिकताको प्रवृत्ति र चेतलाई चित्रित गरिएको छ । 

मधुपर्कले निकालेको कथा अंकमा ‘एम्बुलेन्समा आमा’ भन्ने उहाँको अर्को एउटा राम्रो कथा छ । सामान्य मानिसले हेर्दा आमा बिरामी परेर कसैले एम्बुलेन्समा राखेर अस्पताल लैजाँदैछ भन्ने बुझिन्छ । तर, उहाँको कथामा आमा भनेको देश हो । कथामा मुलुकमा भएका हत्या, हिंसा अनि आन्दोलन तथा यसै परिप्रेक्ष्यमा बिरामीलाई समेत एम्बुलेन्समा राखेर अस्पताल लान नदिने प्रवृत्तिलाई उहाँले कथामा उतार्नु भएको छ । 

यस्तै उहाँको अर्को लघुकथा ‘धोएको गधा’ पनि निकै नपराइएको कथा हो । यसमा देशमा अहिले नेताका कार्यकर्ताको आम प्रवृत्ति देखाइएको छ । गधा धोएर गाई हुँदैन भन्ने उखान त छ । तर, नेताले गधा धोएर गाई भन्दै कार्यकर्तालाई जोताउने र जनतालाई झुक्याउने गर्दै आएको प्रसंग उल्लेख छ । यसले आम कार्यकर्ताको मनोवृत्ति र नेताहरुको चरित्र देखाइएको छ । 

उहाँका यस प्रकारका अन्य कथाहरु छन् जसले आम मानिसको चरित्र र सामयिक विषयलाई पनि उजागर गरेका छन् । उहाँले पुनर्जागरण साप्ताहिकमा लामो समय साहित्यिक स्तम्भ लेखन गरेर साहित्यका थुप्रै विषयमा कलम चलाउनुभएको छ । नेपालमा लामो समय साहित्यिक पत्रकारितामार्फत स्तम्भ लेखन गरेका स्रष्टाहरूमा उहाँको नाम अग्रपंक्तिमा आउँछ । उहाँले पत्रिकामा थुप्रै लेखकहरूका कृतिको समीक्षा पनि गर्नुभएको छ । 

हाल उहाँ मौलिक लेखनका साथै सम्पादन र साहित्यिक संस्थाको गतिविधिमा संलग्न भएर सक्रियतापूर्वक दिनचर्या बिताइरहनु भएको छ ।