नब्बे बर्षीया वृद्धालाई घरमै नागरिकता !

नब्बे बर्षीया वृद्धालाई घरमै नागरिकता !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १, २०७९

भोजपुर । जिल्लाको अरुण गाउँपालिका वडा नम्बर–७, सिक्रेटारकी ९० वर्षीया बृद्ध भीम कुमारी अधिकारीलाई घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बृद्धलाई सिक्रेटारस्थित उनको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । शारीरिक रूपले अशक्त समेत रहेकी बृद्धलाई घरमै नागरिकताको प्रमाणपत्र दिलाउनका लागि वडा अध्यक्ष कुमार थापाले विशेष पहल गरेका थिए । वडाअध्यक्ष थापाकै पहलका कारण जिल्ला सदरमुकाम भोजपुरबाट प्रमुख जिल्ला अधिकारी कार्यालयको टोलीसहित सिक्रेटार पुगेका थिए । 

धनकुटाको महालक्ष्मी नगरपालिका माइती भएकी भीम कुमारीको सिक्रेटारका बाल ध्वज अधिकारीसँग विवाह भएको थियो । उनले पहिले नै नागरिकताको पाएको नागरिकता र अभिलेखमेत आगलागीमा जलेर नष्ट भएकाले उनी नागरिकता विहीन हुनुका साथै समस्या ज्यादै जटिल बनेको थियो । नागरिकता नभएकै कारण उनले सरकारले दिने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सकेकी थिइनन् । नागरिकता प्राप्त गरेपछि उनले खुसी व्यक्त गरेकी थिइन् । सो अवसरमा पूर्व वडा अध्यक्ष डिल्लीराम अधिकारी, वडानम्बर–६ का  वडा अध्यक्ष गणेशकुमार राई लगायतको उपस्थिति रहेको थियो ।