कहाँ चुके सुरक्षा निकाय ?

कहाँ चुके सुरक्षा निकाय ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

काठमाडौँ । संघीय राजधानीमा भएको शृंखलाबद्ध विस्फोटले सरकार प्रतिबन्धित समूहको गतिविधि नियन्त्रणमा चुक्दै गएको त होइन भन्ने प्रश्न उब्जिएको छ । आइतबार अपराह्नदेखिका शृंखलाबद्ध विस्फोट, विस्फोटक पदार्थहरू फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ ।

समूहका गतिविधिमा प्रतिबन्धको घोषणापछि पनि चन्द समूहका कार्यकर्ता यसरी सक्रिय रहनुले सुरक्षा निकाय कहाँ चुक्दै छ भन्ने प्रश्न खडा गरेको छ ।

फागुनको २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाएलगत्तै सरकारले त्यस समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकाय परिचालन गरेको थियो । प्रहरीले देशैभरि उक्त समूहका नेता–कार्यकर्ता पक्राउलाई तीव्र पारेको थियो ।

पक्राउ परेका अधिकांश नेता–कार्यकर्ता अदालतबाट धमाधम छुटिरहेको र सोमबारको पूर्वघोषित बन्द सफल पार्न समूहले गरेको तयारीबारे सुरक्षा निकाय बेखबर थिएनन् । तैपनि राजधानीलाई नै आतंकित पार्ने यति ठूला गतिविधि कसरी हुन सके ? नेपाल प्रहरीका पूर्वएआईजी सुरेन्द्रबहादुर शाह आइतबार र सोमबारका घटनाले सुरक्षा चुनौती थपिएको टिप्पणी गर्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।