स्रष्टा मञ्जु सिर्जना र संवादमा

स्रष्टा मञ्जु सिर्जना र संवादमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन ३, २०७९

भक्तपुर । सिर्जना अभियान समाजले स्रष्टा मञ्जु निरौला हाडालाई सिर्जना र संवाद कार्यक्रममा प्रस्तुत गरेको छ । अभियान समाजले लेखकहरुका कृति र अनुभूतिका बारेमा पाठकहरुलाई जानकारी गराउने उद्धेश्यले अन्तरक्रियात्मक कार्यक्रमको लागि सिर्जना र संवाद सुरु गरेको हो । 

कार्यक्रममा स्रष्टा निरौलाले विदेशमा पुगेपछि मात्र आफूले भाषा संस्कृतिको महत्व बुझेको बताउँदै घरमा मातृभाषा बोल्ने अवस्था नरहेकाले बेलाबेलामा उपेक्षित बन्नुपरेको सुनाउनुभयो । जीवनमा आफूले भोगेको उपेक्षा र र्सवेदनाले लेखनतर्फ उन्मुख भएको बताउँदै उहाँले देश तथा विदेशमा रहँदा ज्येष्ठ नागरिकहरुका पीडा र व्यक्तिवादी भावनाले समाजमा विग्रह ल्याएको विषयलाई लिएर यथार्थमा अमेरिकाको दोश्रो भाग प्रकाशित गराएको पनि उल्लेख गर्नुभयो ।

कथाकार धु्रव मधिकर्मीले स्रष्टा जहाँकहीँको भए पनि तिनका रचनामा सार्वजनिन विषय हुने भएकाले स्रष्टालाई पनि त्यही रुपमा हेर्नुपर्छ भन्नुभयो । साथै उहाँले स्रष्टा मञ्जुको यथार्थमा अमेरिकाको दोश्रो भागमा भएका ज्येष्ठ नागरिकहरुका विषयहरु निकै रोचक र पठनीय रहेको बताउनुभयो ।

कथाकार भागीरथी श्रेष्ठले साहित्यमा जेष्ठ नागरिकहरुका बारेमा लेखिन थालेको बताउँदै मञ्जुको कृतिले यस विषयलाई राम्रोसँग उठाएको छ भन्नुभयो । कार्यक्रममा भाषासेवी नरेन्दैभक्त हाडा, कवि विपिन बनेपालीले पनि बोल्नुभएको थियो ।

समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकारहरु सुरेन्द्रलाल भुजू, हरिगोविन्द भोमी, माणिकबाबु ग्वंग, विमल ताम्राकार, धु्रवनारायण जोन्छेँ , पशुपतिमान पमा, राजेन्द्र चित्रकार, न्हुछेभक्त कवां, दिपक मास्के, सूर्यलक्ष्मी भोमी लगायतका स्रष्टाहरुको उपस्थिति थियो ।