एलिजाबेथ द्वितीयाको अन्त्येष्टि : दुई हजार पाहुना, ५ सय विदेशी विशिष्ट व्यक्तित्वको संलग्नता

एलिजाबेथ द्वितीयाको अन्त्येष्टि : दुई हजार पाहुना, ५ सय विदेशी विशिष्ट व्यक्तित्वको संलग्नता

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन ४, २०७९

बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव पेटिका विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज च्यापलमा अन्तिम बिदाइ स्वरूप ‘कमिटल सर्भिस’ आयोजनापछि समाधि स्थल गरिएको छ । करिब दुई हजार पाहुना, ५ सय विदेशी विशिष्ट व्यक्तित्व, ४ हजारभन्दा बढी कर्मचारी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संसारभरबाट अर्बौ मानिसहरुले महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि हेरे ।

महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टि २१औं शताब्दीको सबैभन्दा भव्य अन्त्येष्टि पनि हो । त्यसअघि विन्डसरमा शवयात्रा हेर्न हजारौंको भीड लागेको थियो । सोमबारै राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा महारानी एलिजाबेथ द्वितीयाको अन्तिम सँस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको थियो । जसमा अमेरिकी राष्ट्रपति जो बाइडनसहित सयौं विदेशी विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । 

द डिन अफ वेस्टमिन्स्टरले उक्त समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गरेका थिए । राजा चार्ल्स तृतीयले आफ्नी आमाको शव पेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शव यात्राको नेतृत्व गरेका थिए । डीन डेभिड होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले ‘महारानी र राष्ट्र मण्डलको प्रमुखका रूपमा ७० वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता’ प्रस्तुत गरेको बताएका थिए । ‘सम्मान साथ हामीले उनको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिक प्रतिको प्रतिबद्धताको स्मरण गर्छौं’, उनले भनेका थिए । 

लण्डनस्थित एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवंगत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शव वाहनमा स्थानान्तरण गरेर विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको थियो । विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू भएका थिए । 

वेस्टमिन्स्टर हलबाट शवयात्रा निस्किँदा महारानीको शव पेटिका पछिपछि राजपरिवारका सदस्यहरू हिँडेका थिए । महारानीको शव पेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले संगीतबद्ध ढंगले श्लोकहरू गाएका थिए । जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ । प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरिन् । एक वरिष्ठ धर्मगुरु आर्चवि शप अफ क्यान्टरबरी जस्टिन वेल्बीले उपदेश दिए । 

आर्चविशप वेल्बीले भने, ‘यस दिनको शोक दिवंगत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ । उनको दीर्घजीवन र प्रेममय सेवा अब हामीबाट गएको छ ।’ समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।  

लण्डनस्थित एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवंगत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शव वाहनमा स्थानान्तरण गरेर विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको थियो । विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू भएका थिए । 

त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उनका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिएको छ । 

महारानीको शवपेटिकामाथि द इम्पिरिअल स्टेट क्राउन राखिएको थियो । उक्त मुकुटमा झन्डै ३ हजार वटा पत्थर जडान गरिएका छन् । तीमध्ये २ हजार ८६८ वटा हीरा, २७३ वटा मोती, १७ वटा नीलम, ११ वटा पन्ना र पाँचवटा रुबी छन् । सन् १९३७ मा महारानीका बुवा राजा जोर्ज छैटौंको राज्या रोहणका बेला उक्त मुकुट बनाइएको थियो । त्यसबेला विस्थापित भएको श्रीपेच महारानी भिक्टोरियाको पालाको थियो ।

मार्मिक औपचारिकता र दुःखद माहोलबीच भएको अन्त्येष्टिको पूर्वसन्ध्यामा उनका छोरा तथा बेलायतका नयाँ राजा चाल्स तृतीयले विश्वभरिबाट प्राप्त भएको समर्थनबाट आफूलाई गहिरोसँग छोएको बताएका छन् । राजा चार्लसले आफू र क्वीन कन्सोर्ट क्यामिलाका लागि आ–आफ्नो स्थानबाट असीमित समवेदना प्रकट गरेकोमा धन्य भएको बताएका छन् । बीबीसी रिपोर्टमा आधारित