'काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ’

'काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ’

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०७९

 लमजुङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् । 

सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा विकास गरिएको यो सडक आज हाम्रो काँधमा आएको छ । हामीले यो सडकलाई थप स्तरीय बनाउने छौँ । कालोपत्रे गर्ने छौँ । यो सडक निर्माण सम्पन्न भएपछि यहाँका जनतालाई ठुलो राहत हुनेछ । काम समयमा हुन्छ कि हुदैन भनेर निगरानी गर्नुस् ।’ 

हिजो एउटा परिस्थिति थियो । मैले बाटो ल्याएँ । मैले विकास गरेँ भन्ने स्थिति थियो । तर अहिले समय बदलिएको छ भन्दै मन्त्री चौधरीले थपे, ‘हिजो झगडा गर्ने संस्कार थियो । अब मिलेर विकास गर्ने समय आएको छ । अब तपाईंहरुले विकास सरकारले गर्याे भन्नुपर्छ । नेपाल सरकारले सहरी मन्त्रालयले कामको सुरुवात गर्छ । सहजीकरण नगरपालिकाले गर्छ । सम्बन्धित वडाले गर्छ । काम समयमा भएको छ कि छैन यो कुरा तपाईंहरुले हेर्ने हो । हाम्रो गाउँ आफै बनाउने हो । आफ्नो ठाउँ आफै बनाउने हो ।’ 

सहरी मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सडक विकासका लागि नियमित बजेटको व्यवस्था गरिने प्रतिवद्धता जनाए । त्यसैगरि सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारीले सडक विस्तार सँगै जनताको आय आर्जन बढ्ने धारणा राखे । 

संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले सडकको विकासले माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु जस्ता थुप्रै हिम श्रृंखला हेर्ने पर्यटकको आइरो लाग्ने बताए । त्यसका साथै उनले ग्रामिण भेगमा होम स्टे देखि लिएर आर्थिक तथा सामाजिक रुपान्तरण हुने धारणा राखे । 

कार्यक्रममा सुन्दर नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले मन्तव्य राखेका थिए । 

५१ करोड ९५ लाख ९३ हजार ९९ लागत अनुमान गरिएको उक्त सडकको कुल लम्बाई १५.०२ कि. मि. हुने छ भने सडकको चौडाइ ७.० मि (डे«न बाहेक) र कालोपत्रेको चौडाई ५.५ हुने जनाइएको छ । 

त्यसैगरि सहरी मन्त्री चौधरीले तनहुँको व्यास न.पा. मानुङ्गमा निर्मित पर्यटकीय मार्गको उद्घाटन समेत गरेका छन् । उक्त सडकको कुल लागत ७ करोड ३ लाख १३ हजार ३८९ रहेको छ भने सडकको लम्बाई ४.६ कि. मी. रहेको छ ।