अन्धविश्वास हो भन्दै पूजापाठ छोड भन्ने हो भने नेपाली जनले 'पूजापाठ' छोड्लान् कि पार्टी ?
आश्विन ५, २०७९

आपसमा हिलो छ्यापाछ्याप, गाली गलौज, तैँ डाँका, तैँ चोरजस्ता कुराहरु नभए नेपाली राजनीति बडा खल्लो लाग्छ हामीलाई । समाचार हेर्दा पनि कुन नेताले कुन नेतालाई तुच्छ गाली गर्‍यो, होच्याएर भन्यो, भित्तामै पुर्‍यायो जस्ता कुरातिर नै हाम्रो कान जान्छ ।

मज्जै ले भन्यो नि फलानाले फलानालाई भन्नेजस्ता कुरामा नै हाम्रो बहस भइरहेको हुन्छ । कुनै योजना, सद्विचार, सकारात्मक कुरा कुनै नेताले भन्यो भने त्यो समाचारको विषय बन्दैन । यसरी हामीभित्र नजानिँदो किसिमले नकारात्मकता, विषाक्तता तथा विद्वेषको बाली लह लहाइरहेको छ । यसले अहिले भन्दा भविष्यमा झन् खतरा निम्त्याउने निश्चित । ज्यानको मैलो धोएर जान्छ तर मनको मैलो जाँदैन त्यसका लागि छुट्टै परिश्रम गर्नुपर्दछ । अहिलेको हाम्रो राजनीतिको अभ्यास भनेको विद्वेष फैलाएर स्वार्थको रोटी सेक्न प्रतिस्पर्धा भइरहेको छ । 

हुन त हाम्रा नेताहरुलाई राजनीतिक खिचातानीलाई छोडेर समाजका अरु विषयमा बोल्न खासै फुर्सद हुँदैन । गुटबन्दी, पदीय हैसियतको खतरा, शक्ति स्खलनको त्रास जस्ता कुराले यिनको दिनको चैन र रातको निद दुबै स्वाहा भइरहेको हुन्छ । त्यसमा पनि कहिले विदेशीको शरणमा जानु पर्छ, कहिले उनीहरुको गोटी बन्नुपर्छ, कहिले राज्य विरुद्ध भीषण गद्दारी गर्नुपर्छ कहिले त्यसैलाई ढाकछोप गर्नुपर्छ । यस्ता गुह्ये धन्दाबाट कहिल्यै फुर्सद भए पो अरु विषयमा बोल्नु ? तर जब बोल्छन् त्यहाँ पनि सपार्नमा भन्दा बिगार्न मै यिनका  दुर्वाक्यहरु खर्च हुन्छन् । 'तित्राको मुखै बैरी'  भन्ने उखान यिन कै महावाणीमा चरितार्थ हुन्छ । 

कम्युनिस्ट हुनु र कम्युनिस्ट पार्टीको सदस्य हुनु वा समर्थक हुनु वा कम्युनिस्ट पार्टीलाई भोट हाल्नु फरक कुरा हो । कम्युनिस्टले मात्रै समर्थन गरेर कम्युनिस्ट पार्टी नेपालमा फस्टाउने सम्भावना छैन । नेपालको सबै जनसंख्या कुनै न कुनै धर्ममा आबद्ध छन् । तिनलाई धर्म भनेको अन्धविश्वास हो ढुंगा पूजा, काठ पूजा, रुमाल पूजा छोड भन्ने हो भने  नेपाली जनले के चाहिँ छोड्लान् पार्टी कि पूजा ?

यस्तो स्थितिमा पनि फुर्सद निकालेर हाम्रा नेताहरु धार्मिक, सामाजिक तथा सांस्कृतिक विषयमा पनि केही बोल्न भ्याइहाल्छन् यो अचम्मको पक्ष हो । खासगरी कांग्रेसलाई धार्मिक, सांस्कृतिक विषयमा बोल्न खाँचो पर्दै पर्दैन । उहिले उहिले बोल्थे होला कांग्रेसीहरु पनि । समय अनुसारको अभिनय गर्न कांग्रेसलाई आउँछ । \

अरु क्षेत्रीय दलहरुले पनि धर्मका विषयमा देखिने गरी र सुनिने गरी व्यवहार गरिहाल्दैनन् । राप्रपाजस्ता पार्टीको मूल मुद्दा नै धर्म भएकाले उनीहरुको कुरै गर्नु परेन । बाँकी रहे वाम पार्टीहरु । यिनको भने अजीबको चरित्र छ । 

खासगरी वाम नेता तथा बुद्धिजीवीहरू समाज र संस्कृतिका विषयमा अध्ययन गर्छन्, चिन्तन गर्छन्, अलिकति स्पष्ट हुन खोज्छन् पनि । अध्ययन गर्नुलाई कम्युनिस्टहरु महत्त्व दिन्थे त्यसको असर आजाका दिनसम्म पनि बाँकी नै छ । यो सत्य नै हो । त्यही भएर कम्युनिस्ट विचार धाराका मानिसहरु कहिलेकाहीँ आवेशमा आएर उग्र कुरा गरि टोपल्छन् । 
उदाहरणका लागि प्रचण्डलाई लिन सकिन्छ । उनले हालसालै ढुंगालाई पुजा गर्ने मान्छेलाई वास्ता नगर्ने परम्पराले देश उभो नलागेको भन्ने खालको अभिव्यक्ति दिए । साथै मैले कुनै धर्मको विरोध गरेको होइन भनेर उम्किन पनि खोजे । कम्युनिस्टहरु बन्द कोठामा धर्म, संस्कृति तथा समाजका बारेमा लामालामा व्याख्या विश्लेषण गर्छन् । यस्ता विषयमा स्कुलै चलाउँछन् ।

सैद्धान्तिक एवम् वैचारिक मार्ग तय गर्ने कुरामा यस्ता बहस लाभदायक पनि हुन्छ तर प्रचण्ड कुर्ले सार्वजनिक भाषणमा । नराम्रा कुरा हलुका हुन्छन् र ताता पनि । त्यसैले ती चाँडै फैलिन्छन् । उनका कुरा पनि फैलिहल्यो अन्तर्जालको माध्यमले ।

त्यसका पक्ष विपक्षमा गालीगलौज देखि विज्ञप्ति बाजीसम्म सुरु भयो । प्रचण्डले धर्मका बारेमा बोल्यो कि पोल्यो भइहाल्छ । पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिमा भट्ट फेर्ने तिर लागे । गर्नका लागि धेरै काम थिए तर दशाले कुत कुत्याएर यिनी पशुपतितिर लागे । नयाँ भट्टको खोजी भयो स्वाभाविक छ माओवादीले नियुक्त गर्ने भट्टको पहिलो योग्यता माओवादी नै हुनुपर्छ । कम्युनिस्ट पार्टीको सदस्यता खल्तीमा हाल्न लगाएर !

धर्म भनेको अफिम हो भन्ने सूक्त घोकाएर, पूजा गर्दा पढ्नुपर्ने किताब पहिल्यै जलाएर  पशुपतिमा भट्ट नियुक्त गरेर क्रान्तिको नयाँ छलाङ मार्न खोज्दा छालले यिनलाई बालुवाटारबाट बाहिर फालिदियो । त्यसपछि यिनले बुझ्नुपर्ने हो धर्मका विषयमा चुप लाग्दा नै वेस हुन्छ । फेरि अलिअलि 'पावर फुल' सन्त, महन्तका चरण सेवामा यिनी पनि धाउँछन् भैँसीकै भए नि पूजाआजा लाउँछन् । तर पनि यिनी बेलाबेलामा किन गन् गनाउँछन् ?

हुन त यिनी हिन्दु समजामा जन्मेर यहीँ राजनीतिको तर चाटिरहेका छन् । जे जानेको छ त्यही भन्ने हुँदा ढुंगा पूजा भन्न पुगे । यिनको व्यंग्य अन्धविश्वासतिर थियो होला, धर्म अनुसारका परम्परा र प्रचलन हुन्छन् । ती सबैप्रति यिनको कटाक्ष हो तैपनि प्रचण्डले धर्मका विरुद्धमा बोल्दा नेपाली समाज बढी सशंकित हुन्छ जसमा यिनको रक्ताम्य विगत मुख्य कारण हो । अर्काे कुरा नेपालमा पैसावाल धर्मको डाडुपन्युँ बढी चल्छ यसका लागि बाटो सजिलो पारिदिने कार्यमा नेताहरुको सौहार्द ता छ भन्ने कुरा जनताले बुझेका छन् । 

मूर्ति पूजाका विरोध गर्ने पहिलो व्यक्ति प्रचण्ड होइनन् । जहिले देखि मूर्तिपूजा आरम्भ भयो त्यहि बेलादेखि नै झिनामसिना विरोधका स्वरहरु निस्के होलान् । चाणक्यले पनि 'पाषाणे गन्धलेपने'  भनेर पाषाणलाई पूजा गर्ने प्रति व्यंग्य गरे, दयानन्दले पनि मूर्ति पूजाको विरोध गरे तर अलि भाँती पु¥याएर । तर प्रचण्ड बोलिदिन्छन् मजाक गरेर ।

मौका पर्खेर बसेकाहरुले यिनलाई तुच्छ गाली गरे । यिनको सन्तान वियोग तथा पत्नीको रुग्णतालाई समेत धर्म र पापको तुलोमा हालेर यिनको हालतलाई खुच्चिङ भने । यस्तो प्रतिशोधी र अविवेकी भावनाको विकास हुनुमा कमजोरी कसले कहाँ गरेको छ त्यसको निक्र्योल हुनु जरुरी भएको छ । 

हुन त धर्मको संस्कृतिको विषयमा अरुले नि मौका मिले बोल्छन् । कतिपयले बोलेको खासै सुनिँदैन । कतिपय बोलेर बिगार्ने र फेरि मिलाउने बराबर गर्न जान्दछन् । एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली पनि यस्ता विषयमा नबोली बस्न सक्दैनन् । 'भगवान् छैनन् । यदि भगवान् छन् भने मार्क्स नै भगवान् हुन्” भनेर बके उनले एकपटक । तर अयोध्या र राम जन्मभूमि नेपालमै हो पनि भने । उत्खनन गर्न थालिहाले । पूर्वीय धर्म, संस्कृति, दर्शन, सभ्यता, इतिहास, साहित्य, कला आदिका विषयमा अरुले बुझ्ने गरी बोल्न सक्ने खुबी केपी 'बा' जति अरुमा छैन भन्दा बढी प्रशंसा गरेजस्तो होला । ओलीले धर्मका विषयमा गरेका विरोधभन्दा समर्थन बढी सुनिन्छ त्यसमा पनि राप्रपासित गठबन्धन गर्नुपर्ने स्थिति आइदिन्छ अनि । 

कम्युनिस्ट हुनु र कम्युनिस्ट पार्टीको सदस्य हुनु वा समर्थक हुनु वा कम्युनिस्ट पार्टीलाई भोट हाल्नु फरक कुरा हो । कम्युनिस्टले मात्रै समर्थन गरेर कम्युनिस्ट पार्टी नेपालमा फस्टाउने सम्भावना छैन । नेपालको सबै जनसंख्या कुनै न कुनै धर्ममा आबद्ध छन् । तिनलाई धर्म भनेको अन्धविश्वास हो ढुंगा पूजा, काठ पूजा, रुमाल पूजा छोड भन्ने हो भने  नेपाली जनले के चाहिँ छोड्लान् पार्टी कि पूजा ? तर्क सम्मत तरिकाले नबोल्ने र जथाभावी कुर्लिने हो भने हालत के हुन्छ राजनीति गर्नेले यति त बुझ्नुपर्ला कि ? 
 
 


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।