प्रहरीद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफि प्रदर्शन कार्यालयको प्राङ्गणमा

प्रहरीद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफि प्रदर्शन कार्यालयको प्राङ्गणमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन ८, २०७९

काठमाडौं ।  नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ । 

 कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त ट्रफि प्रदर्शन गर्दै प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई ट्रफि प्रदर्शनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजय हाँसिल गर्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि औपचारिक रूपमा शुरु हुने भएता पनि हालै सम्पन्न भएको पुरूष क्रिकेटमा नेपाल प्रहरीको क्रिकेट टिमले स्वर्ण पदक जितेर उत्कृष्ट सुरूवात गरिसकेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा हुने खेलहरूमा नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपाल प्रहरीको गरिमा उच्च राख्न शुभेच्छा व्यक्त गर्नुको साथै खेलमा सहभागी हुने अन्य १० टिमलाई समेत सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुदलाई सफल बनाउनु हामी सबैको दायित्व भएकोले नेपाल प्रहरीबाट पूर्ण सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा नेपाल ओलम्पियन संघका अध्यक्ष तथा रनिङ ट्रफी टुर कार्यदलका संयोजक दिपक बिष्टले ट्रफि टुरमा नेपाल प्रहरीले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हालसम्म ३ वटा प्रदेश, नेपाली सेना र नेपाल प्रहरीमा ट्रफि प्रदर्शनी गरिएको जानकारी गराउनुभयो । नेपाल प्रहरीसँगको समन्वयमा खेलकुद सम्बन्धी कार्यहरू गर्दै आएको स्मरण गर्दै खेलकुदको माध्यमबाट नेपाल प्रहरीले राष्ट्रका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

 राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को अवसरमा उक्त प्रदर्शनी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, रनिङ ट्रफि टुर कार्यदलका सदस्यहरू दिपक श्रेष्ठ, अरूणा शाही र मिरा राई तथा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्रिय खेलकुदमा सहभागी हुन लागेका खेलाडीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको समेत नेपाल प्रहरीले जानकारी दिएको छ ।