आशिष पौडेल | अन्तर्मन्थन | आश्विन ८, २०७९
ममता मृदुलको बुवाले मोरङ उर्लाबारीको राधिका स्कूल स्थापना गर्नुभएको हो । उहाँ त्यस स्कूलको हेड सर पनि हुनुहुन्थ्यो । उहाँको आमा पनि शिक्षिका साथै साहित्यकार हुनुहुन्छ । त्यस बेला महिलाहरुले खासै पढ्ने र पढाउने चलन नहुँदा पनि उहाँको आमाले भने वनारस बसेर पढ्नु भएको हो । उहाँको आमा विराटनगरको सम्पन्न परिवारकै छोरी भएका कारण पनि यो सम्भव भएको हो ।
उहाँहरु पछि झापाबाट विराटनगर आउनु भयो । आमा भने अहिले पनि सामाजिक सेवामा नै लागिरहनु भएको छ । उहाँकी दिदी मञ्जुश्री गिरी पनि राष्ट्रिय स्तरको कवि हुनुहुन्छ भने प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगितामा पनि पुरस्कृत भइसक्नु भएको छ । उहाँको दिदीलाई प्रदेश सरकारले पनि साहित्यकारका रुपमा सम्मान गरिसकेको छ ।
०००
उहाँको जन्म २०३० सालमा विराटनगरमा भएको हो । बुवा, आमा पढे लेखेको र सम्पन्न परिवार पनि भएको कारण उहाँको बाल्यकाल सुखद रह्यो । उहाँ ९ वर्षको उमेरमा नै कविता प्रतियोगितामा भाग लिन जानुहुन्थ्यो ।
उहाँ फुटबलमा पनि रुचि राख्नुहुन्थ्यो । खेल्नुहुन्थ्यो । उहाँको दिदी नै महिला फुटबल संघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँको भाइ अहिले पनि फिफा लाइन्स मेन हुनुहुन्छ ।
उहाँको बुवा स्कूल पछि खेलकुद विकास समितिमा जागिर गर्नुहुन्थ्यो । यस कारणले पनि शायद परिवारमा खेलप्रति रुचि जागेको हुनुपर्छ । उहाँको परिवार नै खेलकुद तथा कला साहित्यमा अहिले पनि उत्तिकै सक्रिय देखिन्छ ।
उहाँले अरु केटीहरुले जस्तो सानोमा पुतली खेल्ने, गट्टा खेल्ने, टालाटुली खेल्ने काम भने गर्नुभएन । यसमा भने उहाँको परिवार शिक्षित तथा पढाइमा रुचि राख्ने भएका कारण पनि घरमा खेल्ने भन्दा पनि पढ्नुपर्छ भन्ने किसिमको सन्देश तथा वातावरण थियो । यसले गर्दा सानोमा पनि खासै खेल्ने काम भएन उहाँको । सबै जना पढ्ने भएका कारण सबैको हातमा किताब नै हुने गर्थ्यो जसले गर्दा उहाँहरुको हातमा पनि स्वभाविक रुपले किताब नै हुने गर्थ्यो।
उहाँको समयको कुरा उहाँहरुले बरु कार्टुन किनेर पढ्ने गर्नुभयो । उहाँको हुर्काइ विराटनगरको मुटु मानिने आर्दश स्कूल नजिकै भएको हो । नजिकै बाजेको पत्रिका पसल भएकोले रुसी साहित्यका किताब पढ्ने अनि वीरेन्द्र सभागृह नजिक भएका कारण नाटक हेर्ने जस्ता सृजनशील काममा आफ्नो बालापन बिताउनु भयो ।
उहाँले केटी मान्छेका परम्परागत खेलभन्दा पनि नजिकै खेलमैदान भएका कारण फुटबल, भलिबल, कबड्डी, कराते जस्ता खेल खेल्ने काम गर्नुभयो । खेलमा जित हार त अवश्यम्भावी छ । धेरैमा जित्नुपर्छ भन्ने भावना हुन्छ । हुनत मानिसहरु जित्न कै लागि खेल्ने हो । उहाँहरु भने हारे पनि जिते पनि जे भए पनि जुनसुकै खेलमा भाग लिनुहुन्थ्यो । उहाँको परिवारमा पनि परम्परागत खेल खेल्ने भन्ने कुरा पछिल्लो पुस्तामा पनि रहेन । उहाँहरुको माहौल एक प्रकारले भन्नुपर्दा फरक किसिमको थियो ।
०००
उहाँको प्रारम्भिक शिक्षा पोखरिया माविमा भएको हो । त्यस बेला भने विद्यालय प्रावि थियो । उहाँले त्यहाँ तीन कक्षासम्म पढ्नु भएको हो । २०३५/३६ सालको त्यो समयमा पनि पोखरिया प्राविमा भने बस्नलाई डेस्क बेञ्च थियो । अन्यत्रको स्कूल जस्तो स्कूल जाँदा बस्नलाई आफैँले चकटी लानुपर्ने अवस्था थिएन ।
अचम्मको कुरा त त्यस बेला पनि उहाँको स्कूलमा बिजुली बत्ती, टेलिफोन तथा पंखा पनि थियो । उहाँको घरमा पनि टेलिफोन थियो । उहाँलाई त्यस बेलाका धेरै टेलिफोन नम्बरहरु अहिले पनि याद छन् । उहाँका धेरै आफन्त कहाँ पनि टेलिफोन थियो । बिजुली बत्ती त झन् उहाँको आमा जन्मँदै थियो । उहाँले थाहा पाउने समयमा उहाँको घरमा ग्यास चुल्होसमेत थियो ।
देशभरीका नारी स्रष्टाहरू रहेको नारी स्रष्टा समाजमा उहाँको संलग्नता रहेको छ । देशभरी फैलिएको लघुकथा समाजको सात वटै प्रदेशमा शाखा रहेको छ । जसको प्रदेश १ को अध्यक्ष हुनुहुन्छ उहाँ । लघुकथा समाजले स्थलगत लघुकथा लेखन, प्रतियोगिता, विद्यालयमा गएर लघुकथा प्रशिक्षण पनि दिने गरेको छ । सबै वर्गलाई समेटेर साहित्य कसरी लेख्ने, आफूलाई कसरी प्रस्तुत गर्ने, कसरी विकास गर्ने भन्ने बारेमा पनि लघुकथा समाजले कार्यक्रमहरु गरिरहेको हुन्छ ।
पोखरिया मावि अहिले पनि नेपालको राम्रै विद्यालयमा गनिन्छ । त्यस बेला पनि एउटा कक्षामा ३०/४० जना विद्यार्थी हुन्थे । स्कूलमा सह–शिक्षा नै थियो । पोखरिया माविमा तीन कक्षासम्म पढेपछि उहाँले दुई वर्ष गोग्रा माविमा पढ्नु भयो ।
त्यसपछि भने उहाँ आदर्श बालिका स्कूलमा पढ्नु भयो । जहाँ नेपालका राजनीतिज्ञहरूका श्रीमतीहरू शिक्षिका हुने गर्थे । जसमा साधना अधिकारी, रानु अधिकारी, विना कोइराला, शारदा घिमिरे लगायतले उहाँलाई पढाउनु भयो । राजनीतिज्ञका श्रीमती शिक्षिका भएका कारण निश्चय पनि राजनीति त हुने नै भयो । विद्यार्थीले बुझे पनि नबुझे पनि उहाँहरुले पढाउने विषयमा राजनीति मिसिएको हुन्थ्यो ।
उहाँ पढाइमा कहिले प्रथम, द्वितीय पनि हुनुहुन्थ्यो भने कहिले नहुने पनि । उहाँ साहित्य तथा खेलकुदमा पनि त्यत्तिकै सक्रिय भएका कारण पढाइमा समय अलि कम हुन्थ्यो पनि । यस हिसाबले पढाइ राम्रै थियो । हरेक प्रतियोगिताहरुमा उहाँलाई नै अगाडि सारिन्थ्यो । जानेको छैन भन्दा पनि जाउ न गएर जितेर आउ भनेर शिक्षकहरुले उहाँलाई नै अगाडि सार्नुहुन्थ्यो । बाहिर धेरै प्रतियोगितामा भाग लिने कारणले तेस्रो, चौथो पनि हुनुभएको छ कक्षामा ।
उहाँको समयमा स्कूलमा अतिरिक्त क्रियाकलाप नहुने नै होइन । तर, त्यति धेरै हुँदैनथ्यो । स्कूलको अगाडि रंगशाला भएका कारण हरेक खेलकुद प्रतियोगिता अनि सभागृह पनि नजिक भएका कारण अन्य कार्यक्रममा उहाँको सहभागिता रहन्थ्यो । स्कुलले नलग्दा पनि उहाँ आफैँ पनि सहभागी हुन पुग्नुहुन्थ्यो ।
०००
उहाँले २०४८ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा झण्डै ५०/६० जना विद्यार्थी थिए एसएलसी दिने । झण्डै १४÷१५ जना उत्तीर्ण भएकामा उहाँ पनि पर्नुभयो ।
उहाँ भने दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । एसएलसी पास हुने बित्तिकै उहाँको विवाह भएकोले केही समयका लागि पढाइ अबरुद्ध भयो । उहाँलाई घर व्यवहारमा व्यस्त हुनुपर्ने अवस्था आयो ।
२०६२ सालपछि उहाँले फेरि आफ्नो अध्ययनलाई अगाडि बढाउनु भयो र स्नातकोत्तरसम्म अध्ययन गर्नुभयो ।
०००
उहाँको आफ्नै स्वभाव छ कसैसँग रिस उठ्यो भने उहाँ झगडा गर्नुको साटो बोलचाल बन्द गर्नुहुन्छ । झगडा गर्दा आफूले पनि एउटा कुरा भन्ने अनि अर्कोले पनि भन्ने हुँदा झगडा झन् बढ्दै जान्छ भन्ने उहाँको सोच छ । त्यसैले झगडा गर्नुभन्दा पनि अहिले नबोलेर पछि बोल्न पनि सकिन्छ । तर, झगडा पर्यो भने जीवनभर बोल्ने वातावरण नहुन सक्ने डर पनि हुन्छ भन्ने उहाँको सोच छ । उहाँलाई आमा, दिदी कसैले गाली गरेपनि नबोल्ने स्वभाव छ । र, अरु हरुले यसले नबोलेर नै जित्छे भनेर पनि भन्ने गर्छन् उहाँलाई । वास्तवमा उहाँले यसरी जित्नु पनि भएको रहेछ ।
उहाँ यदि कसैसँग झगडा पर्यो भने त्यसको निकास भने खोज्नुहुन्छ । अलि पछि उहाँ झगडा परेको मान्छे कहाँ गएर झगडा हुने कारण के हो पनि खोज्नुहुन्छ । उहाँ अहिले पनि कसैले नकारात्मक कुरा गर्यो र रिसायो भने रिसाउने कारण के हो भनेर अहिले पनि खोज्नुहुन्छ ।
०००
उहाँ ९ वर्षको हुँदा महेन्द्र जयन्तीका अवसरमा कवि गोष्ठी भएको थियो । उहाँले पनि प्रतियोगितामा भाग लिनु भएको थियो । उहाँले भाग मात्रै लिनु भएन उहाँले वाचन गरेको कविता प्रथम समेत भएको थियो । उहाँलाई त्यसपछि मैले कविता वाचन गरेँ भने पुरस्कृत होइँदो रहेछ भन्ने लोभ जाग्यो । अनि प्रायजसो कार्यक्रममा भाग लिन थाल्नुभयो । उहाँको दिदी पनि कवि भएका कारण उहाँहरु सँगै जानुहुन्थ्यो । त्यस बेला विराटनगरमा उहाँ र दिदीले कुनै कविता प्रतियोगितामा भाग लिँदा यिनीहरुले पुरस्कार जितेरै जान्छन् भन्ने एउटा धारणा बनिसकेको थियो ।
विवाहपछि साहित्य लेखन पनि कम भएको थियो तर, छोराले एसएलसी दिएपछि २०६३ सालपछि उहाँ फेरि साहित्यमा सक्रिय हुनुभयो । त्यस यता भने उहाँ निरन्तर साहित्यमा लागिरहनु भएको छ ।
उहाँका हालसम्म ९ वटा पुस्तक प्रकाशन भएका छन् भने ७ वटा सम्पादन गर्नु भएको छ । उहाँको पहिलो पुस्तक कथा संग्रह ‘अँध्यारो रात’ हो । दोस्रो भने ‘अविजय’ कविता संग्रह हो । तेस्रो भने अध्यारो रात उपन्यास चौंथो भने आखिर किन कथा संग्रह, पाँचौँ अञ्जुलीको पानी उपन्यास, छैठौँ ‘स्पर्श’ उपन्यास, सातौँ ‘सेलाएको सयपत्री’ लघुकथा संग्रह, आठौँ भने ‘समकालीन लघुकथा विवेचना’ समालोचना संग्रह तथा नवौँ ‘अर्धनग्न’ लघुकथा संग्रह रहेका छन् ।
यस बाहेक पनि उहाँका थुप्रै किताबहरु तयार छन् । तर, विविध कारणले प्रकाशन हुन सकिरहेका छैनन् । अहिले उहाँले आफूले प्रकाशन नगर्ने सोच बनाउनु भएका पुस्तकका अंश भने उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्नु भएको छ । हरेक दिन सामाजिक सञ्जालमा थुप्रैले पढ्ने र प्रतिक्रिया व्यक्त गर्ने गर्नुहुन्छ ।
यसरी निरन्तर लेखिरहने उर्जा भने उहाँ हरेक दिन देखिने विकृति, विसंगति बाट लिँदै संग्रह गरेर त्यसमा आफ्ना भावना मिसाएर पाठक समक्ष पेश गर्नुहुन्छ ।
देशभरीका नारी स्रष्टाहरू रहेको नारी स्रष्टा समाजमा उहाँको संलग्नता रहेको छ । देशभरी फैलिएको लघुकथा समाजको सात वटै प्रदेशमा शाखा रहेको छ । जसको प्रदेश १ को अध्यक्ष हुनुहुन्छ उहाँ । लघुकथा समाजले स्थलगत लघुकथा लेखन, प्रतियोगिता, विद्यालयमा गएर लघुकथा प्रशिक्षण पनि दिने गरेको छ । सबै वर्गलाई समेटेर साहित्य कसरी लेख्ने, आफूलाई कसरी प्रस्तुत गर्ने, कसरी विकास गर्ने भन्ने बारेमा पनि लघुकथा समाजले कार्यक्रमहरु गरिरहेको हुन्छ ।
महेन्द्र जयन्ती तथा देवकोटा जयन्तीमा उहाँले पुरस्कार पाउनु भएको थियो भने शान्ति सम्बन्धी लेख वापत पनि उहाँले युएनले प्रदान गरेको पुरस्कार पाउनु भएको छ । षडानन्द पुरस्कार, प्रदेश सरकारले प्रदान गरेको ५० हजार राशीको पुरस्कार, पल्लव साहित्य पुरस्कारलगायत थुप्रै पुरस्कार तथा सम्मान उहाँले प्राप्त गर्नु भएको छ ।