रुस-युक्रेन युद्ध: पुटिनले परमाणु बम प्रयोग गर्न लागेकै हुन् ?

रुस-युक्रेन युद्ध:  पुटिनले  परमाणु बम प्रयोग गर्न लागेकै हुन् ?

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन १०, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाको रक्षाका लागि परमाणु हतियार प्रयोगका लागि तयार रहेको बताएपछि विश्वव्यापी चिन्ता थपिएको छ । रुसले आफ्ना साना र रणनीतिक हतियार प्रयोग गर्ने आशंका बढेको छ । 

युक्रेन माथि रुसले २४ फेब्रुअरी, २०२२ मा विशेष सैन्य अभियान भन्दै आक्रमण सुरु गरेपछि युद्ध जारी छ । युक्रेन पश्चिमा देशको सैन्य संगठन नेटोमा आबद्ध हुन खोजेपछि रुसले आफ्नो सुरक्षामा खतरा हुने भन्दै लगातार विरोध गर्दै आएको थियो । 

नेटोमा आबद्ध हुनुलाई युक्रेनले एक सार्वभौम देशको निर्णय ठान्यो भने रुसले युक्रेन नेटोमा गएपछि नेटोका सेना र हतियार आफ्नो सीमासम्म आइपुग्ने ठान्यो । रुसले आफ्नो क्षेत्रीय सुरक्षाका लागि यो कदम चालेको बताउँदै आएको छ । हमलापछि पश्चिमा देशले रुसमाथि केही आर्थिक प्रतिबन्ध लगाएको छ । यसबाट संसारभर तेल र ग्यास आपूर्तिमा असर परेको छ । युरोपेली देशले रुसबाट ग्यास आपूर्तिको निर्भरता विस्तारै विस्तारै अन्त्य गर्दै लैजाने दाबी गरिरहेका छन् । रुस युक्रेन युद्ध अन्त्यका लागि दुई देशका नेताहरुबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । राष्ट्रसंघको सहयोगमा टर्कीको मध्यस्थतामा दुई देशबीच भएको एक महत्वपूर्ण सम्झौताअनुसार युक्रेनी बन्दरगाहमा पुगेका खाद्यान्न अन्य मुलुकमा पुर्‍याइँदै आएको छ । 

युक्रेन युद्धको ७ महिनापछि पूर्वी युक्रेन टुक्रिने निश्चित देखिएको छ । रुसी भाषीको बाहुल्यता रहेको र युक्रेनबाट अलग हुनुपर्ने पक्षमा रहेका पृथकतावादी समूहको बलियो पकड रहेका पूर्वी युक्रेनका लुहान्स्क, डोनेत्सक, जापोरिजिया र खेरसानमा युक्रेनमा रहने वा अलग हुने भन्ने विषयमा जनमत संग्रह भइरहेको छ । रुसले युक्रेनमाथि हमला गर्नुअघि लुहान्स्क र डोनेत्स्कलाई अलग क्षेत्रको मान्यता दिएको थियो । अब यी क्षेत्रमा जनमत संग्रह मार्फत औपचारिक रुपमा नै रुसले नियन्त्रण कायम गर्न खोजेको देखिन्छ । जनमत संग्रहको प्रक्रिया २३ सेप्टेम्बरबाट सुरु भएर २७ सेप्टेम्बरमा सम्पन्न हुँदैछ ।

पछिल्ला दिनमा रुस युक्रेनविरुद्धको युद्धमा केही फिका देखिएको बताइन्छ । युक्रेनी सेनाले रुसले कब्जा गरेका केही सहरहरु फिर्ता लिएका विवरणहरु आइरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेजस्तै परमाणु हतियार प्रयोग भएमा युक्रेनका लागि भारी पर्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि परमाणु हतियार प्रयोग भए दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर अवस्था निम्तिने चेतावनी दिएका छन् ।

पूर्वी युक्रेन रुसीभाषीको अत्यधिक जनसंख्या भएको क्षेत्र हो । रुसी बाहुल्य रहेको क्रिमियामा सन् २०१४ मा जनमत संग्रह भयो र रुसमा बिलय हुन पक्षमा अत्याधिक मत खस्यो । क्रिमिया हाल रुसको भूभागका रुपमा फर्किएको छ । 

अब पूर्वी युक्रेनका थप चार राज्यहरू जनमत संग्रहमार्फत अलग हुने सम्भावना बढी छ । किनकि यो क्षेत्र पहिले देखि नै युक्रेनबाट अलग हुनुपर्ने पक्षका पृथकतावादीको पकड क्षेत्र हो । क्रिमिया रुसमा विलय भएको समयमा लुहान्स्क र डोनेस्क क्षेत्रमा पनि युक्रेनको केन्द्रीय सत्ताविरुद्ध भीषण संघर्ष भएर युक्रेनी सेना रक्षात्मक बन्ने अवस्था सिर्जना भएको थियो । अमेरिकासहित पश्चिमा राष्ट्रले भने पूर्वी युक्रेनमा हुने जनमत संग्रहलाई अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जनमत संग्रहको परिणामलाई मान्यता नदिने बताइसकेका छन् । यद्यपि जनमत संग्रहको परिणाम अलग हुने पक्षमा आए त्यो क्षेत्र रुसमा विलय हुने निश्चित छ । 

युक्रेन युद्धलाई थप सशक्त बनाउन रुसले जगेडा सैनिक परिचालनको तयारी गरेको छ । सरकारको जगेडा सैनिकहरूलाई बोलाउने निर्णयविरुद्ध देशभर प्रदर्शन भइरहेका छन् । एउटा स्वतन्त्र अधिकारवादी समूह ओभीडी–इन्फोका अनुसार ३२ वटा सहरमा करिब साढे ७ सय प्रदर्शनकारी पक्राउ परेका छन् । रुसमा भइरहेका प्रदर्शनका क्रममा गत साता मात्रै १ हजारभन्दा बढी पक्राउ परेका थिए । पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाएर भर्ती केन्द्रहरुमा पठाइएका विवरण समेत आएका छन् । क्रेमलिनले गत साता नै जगेडा सैनिक परिचालनको निर्णयको बचाउ गर्दै रुसीहरु भाग्ने लहर चलेको भन्ने विषयको खण्डन गरेको थियो । 

भर्ती भएकाले जिम्मेवारी पालन नगरेमा कठोर सजायको व्यवस्था गरिएको छ । शनिवार राष्ट्रपति पुटिनले हस्ताक्षर गरेको आदेशमा आत्मसमर्पण गर्ने, जिम्मेवारी छाड्ने वा लड्न अस्वीकार गर्ने पाइएमा १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । 

यसैगरी रुसको पक्षमा लड्न आउने विश्वका जुनसुकै विदेशी नागरिकलाई पनि रुसको नागरिकता दिने राष्ट्रपतिद्वारा जारी आदेशमा उल्लेख छ । यसअघि रुसी नागरिक हुन त्यहाँ पाँच वर्ष बसेको हुनुपर्ने प्रावधान थियो । तर अहिले रुसले ल्याएको खुकुलो नीतिले त्यहाँ सैन्य संकटको अवस्था रहेको देखिने पश्चिमा सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 
पछिल्ला दिनमा रुस युक्रेनविरुद्धको युद्धमा केही फिका देखिएको बताइन्छ । युक्रेनी सेनाले रुसले कब्जा गरेका केही सहरहरु फिर्ता लिएका विवरणहरु आइरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेजस्तै परमाणु हतियार प्रयोग भएमा युक्रेनका लागि भारी पर्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि परमाणु हतियार प्रयोग भए दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर अवस्था निम्तिने चेतावनी दिएका छन् ।

रुसले प्रयोग गर्ने भनिएका रणनीतिक परमाणु हतियार सीमित हमलाका लागि उपयोगी छन् र विशेष इलाकाका कुनै पनि स्थानलाई निशाना बनाउन सक्छ । गुप्तचर रिपोर्टअनुसार रुससँग करिब २ हजार यस्ता परमाणु हतियार छन् । रुसले परमाणु हतियार प्रयोग गरे युक्रेन युद्धले कस्तो मोड लिन्छ भनेर अहिले नै भन्नु हतार हुनेछ । तर यो युद्धमा शक्ति राष्ट्रपति होमिए भने त्यसले अर्को अनिश्चिततामा धकेल्न सक्छ ।