गणतन्त्र आयो तर, जनचाहना अधुरै

गणतन्त्र आयो तर, जनचाहना अधुरै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

पाल्पा । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ । देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै हासिल हुन सकेको छैन । यो तीतो यथार्थलाई धेरैले औँल्याउने गरेका छन् ।

कालीगण्डकी, त्रिशुली, कोशी लगायतका नदी किनारमा बालुवा चाल्नेदेखि घर निर्माण, सामान ओसारपसार, इँटाभट्टा, ठुल्ठूला उद्योग कलकारखानामा दैनिक ज्यालादारीमा गुजारा गर्ने नागरिकलाई भने गणतन्त्र र संघीयताजस्ता विषयले छोएको छैन ।

रामपुर नगरपालिका वडा नं ५ बस्ने जमुना नेपाली गणतन्त्रको कुनै पनि अनुभूति नभएको बताउँछन् । उनलाई मजदूरी गरेर दैनिक पाँच सय रूपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता छ ।

‘‘गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो । तर, एक दशक बित्यो हामी मजदूरको अवस्था उस्तै छ,’ उनले भने, ‘‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता सबै आयो । हाम्रो अवस्थामा खै कुनै परिवर्तन आएन ।’ 

रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उनकी श्रीमती फुलमायालाई गिट्टी नकुटे साँझ–बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । कालीगण्डकीका किनार, खोला छेउछाउ दिनभर गिट्टी कुटेर कुमाल दम्पतिले जीवन धान्दै आएको छ ।

सोही ठाउँकै ६२ वर्षीय तुल्सीराम कुमाल पनि निरन्तर गिट्टी कुट्ने गर्छन् । खोला छेउछाउ पुगेर ढुंगा खोज्ने अनि, दिनभर शीतल छहारीमा बसेर गिट्टी कुट्ने । दिन गएको उनलाई पत्तो हुँदैन । गणतन्त्रले आफूलाई केही पनि नदिएको उनको ठम्याइ छ ।

‘लोकतान्त्रिक गणतन्त्र आयो त भन्छन्, खै हामी मजदूरी गरेर खानेलाई गणतन्त्रको कुनै महसुस नै हुन सकेको छैन,’ उनले थपे, ‘बूढेसकाल लागिसक्यो । गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन् ।’ उनीहरू जस्ता धेरै मजदूरले गणतन्त्रबारे अनभिज्ञता प्रकट गरेका छन् ।

नेपाली जनताको ठूलो र अथक प्रयासले देशमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्र संस्थागत गरेर देशलाई आर्थिक समृद्धितर्फ लान सके जनताले साँच्चै परिवर्तनको अनुभूति गर्न पाउने रामपुरका राजनीतिकर्मी फणेश्वर गौतम बताउँछन् ।

२०४६ सालमा मुलुकमा निरंकुश पञ्चायत शासन हटाएर प्रजातन्त्र बहाली गर्ने काम भयो । १० वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६२–६३ मा भएको आन्दोलनले राजतन्त्र विस्थापन गरेर गणतन्त्र स्थापना ग¥यो । यस आन्दोलनमा  प्राध्यापक, कर्मचारी, मजदूर सबैले आ–आफ्ना ठाउँबाट योगदान गरे ।

२०४६ सालको आन्दोलनदेखि गणतन्त्र स्थापनाको अभियानसम्म धेरै नेपालीले ज्यान गुमाउनुपर्यो । तर, जुन उद्देश्यले आन्दोलन भयो, जे जस्ता अपेक्षा राखिएका थिए, त्यस अनुरूप उपलब्धि नहुँदा निराश हुनुपरेको २०४६ सालमा रामपुरमा भएको जनआन्दोलनका नेतृत्वकर्ता एवं कांग्रेस महासमिति सदस्य विजयराज घिमिरे बताउँछन् ।

सोही समयमा फागुन ७ गते देशव्यापी रूपमा प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलन सुरु भयो । काठमाडौं, चितवनको भरतपुर, जनकपुरको जदुकाहा, पाल्पाको रामपुरबाट पहिलो चरणको आन्दोलन सुरु भएको थियो ।

हजारौं जनता प्रजातन्त्रका लागि सडकमा निस्किए । रामपुरमा भएको आन्दोलनकै बीचमा सूर्यप्रसाद घिमिरेलाई गोली लाग्यो र उनले शहादत प्राप्त गरे । एक दर्जनभन्दा बढी आन्दोलनकारी गोली लागेर घाइते भए । त्यतिखेर धेरैले भूमिगत जीवन बिताएका थिए । यसै आन्दोलनलाई गणतन्त्रको सुरुआती रूप पनि मान्ने गरिएको छ ।

देखेका कुरा स्वतन्त्र रुपमा बोल्न नपाएका बखत २०४६ सालको आन्दोलनले नागरिकलाई स्वतन्त्र त बनायो । तर, आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवारले न त क्षतिपूर्ति पाए न त आन्दोलनबाट अपेक्षा गरिएको उपलब्धि नै हासिल भए ।

सरकारका तर्फबाट अहिलेसम्म कुनै सेवा सुविधा नपाएको सहिद सूर्यप्रसाद घिमिरेकी धर्मपत्नी राधादेवीले गुनासो गरे । ‘देश र जनताका लागि लड्दै गर्दा श्रीमान्को ज्यान गयो, न त परिवारमा कुनै राहत, न त देशमा आर्थिक समृद्धि, हाम्रा दिन फेरिएनन्,’ उनले दुःखेसो गरे ।

मजदूर, गरिब, दलित, विपन्न परिवारमा हासो र खुशी आएको दिन गणतन्त्रको अनुभूति मिल्ने उनी बताउँछन् । ‘अझै नि लोकतन्त्र आ’को छैन है, जनताले भने झै भा’को छैन है, निरंकुश दासत्व हामीलाई चाहिँदैन, गणतन्त्र नल्याई त मुक्ति पाइँदैन है...’ कलाकार बद्री पंगेनीको गीतले भने झै गणतन्त्र आएको लामो समयसम्म नेपाली जनतालाई गणतन्त्रको अनुभूत नहुनु भनेको आन्दोलनले सार्थकता नपाउनु हो ।

राजतन्त्र बेहोरेको मुलुकका जनताले गणतन्त्र आइसकेपछि देशमा सुख, शान्ति र समृद्धि आउने र रोजगारी सिर्जना हुने सबै नेपालीमा ठूलो आशा थियो । तर, आशा अनुसार गणतान्त्रिक मुलुकले फड्को मार्न नसकेको आम नागरिकको बुझाइ छ ।

२०६५ जेठ १५ गते ऐतिहासिक संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । जनआन्दोलन २०६२–६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।

गणतन्त्र आउनुअघि राष्ट्रप्रमुख हुन राजपरिवारमै जन्मिएका व्यक्ति हुनुपथ्र्यो । तर, गणतन्त्रात्मक मुलुकमा हरेक नागरिकलाई राष्ट्रप्रमुख हुने अवसर छ । आज मुलुकमा संघीय प्रणाली लागू भएको छ र नेकपाको नेतृत्वमा दुई तिहाईको बलियो सरकार अस्तित्वमा रहेको खबर राससमा सुशीला रेग्मीले लेखेकी छन् ।