शेखर समूहको किचलो: पार्टी र गठबन्धनलाई असहयोग, एमालेको सहयोगमा बागी उम्मेदवार उठाउने !

शेखर समूहको किचलो: पार्टी र गठबन्धनलाई असहयोग, एमालेको सहयोगमा बागी उम्मेदवार उठाउने !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७९

सत्तारुढ गठबन्धनमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँटको म्याराथन अझै टुंगिएको छैन । दलहरूभित्रका आन्तरिक जोड कोण र व्यवस्थापन पनि सिट बाँडफाँटको चुनौतीका रुपमा देखा परेको छ ।

गठबन्धन भित्रकै काँग्रेसभित्रको आन्तरिक विवादले गठबन्धन बलियो बन्नेमा आशंका पनि उत्तिकै जन्मिएका छन् । पार्टीभित्रको आन्तरिक विवाद र किचलोमा रुमलिएका काँग्रेसको शेखर कोइराला पक्ष अब गठबन्धनकै नेताहरु विरुद्ध आक्रोशित बन्न थालेको छ । गठबन्धनमा सिट बाँड फाँटलाई आफ्नो भाग खोसेको रुपमा लिन थालेको यो समूहले आफूहरुलाई धेरै सिट नदिए चुनावमा असहयोग गर्नेसम्मको रणनीतिमा देखिन्छ । 

मंगलबारमात्रै पनि शेखर पक्षका नेता गुरुराज घिमिरेले मोरङ–४ मा आफू आकांक्षी रहेको भन्दै आफ्नो भाग खोसे प्रचण्डविरुद्ध उम्मेदवारी दिने चेतावनी दिए । काँग्रेसभित्रको कचिङ्गलले एकातिर सिट संख्या नमिलि रहेको अवस्थामा गठबन्धनमै रहेका अन्य दलभित्र आशंका उत्पन्न गराएको छ । एकातिर काँग्रेसले सबैभन्दा धेरै सिट संख्या लिने र अर्कोतिर गठबन्धनमा रहेका दलले काँग्रेसको आन्तरिक किचलो कै कारण पूर्ण सहयोग नपाउने हो भने गठबन्धनका अन्य दलका थोरै उम्मेदवारहरु पनि पराजित हुने सम्भावना हुन्छ ।

शेखर पक्ष पनि पार्टीले पाएका सिटमा सभापति शेरबहादुर देउवाले संस्थापन इतर समूहलाई कम महत्व दिने शंकामा छ । सोही कारण पनि शेखर पक्षको आक्रोश अब गठबन्धन तिरै सोझिन थालेको हो । शेखर पक्ष पार्टीभित्र न्यायोचित भागबण्डा नभए गठबन्धनका नेताहरु विरुद्ध उम्मेदवारी दिने बताइरहेको छ भने यो समूहलाई एमालेले साथ दिने वचन दिएकाले पनि हौसिएको छ ।

पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई सदृढ गर्नुमा भन्दा पार्टी र गठबन्धनलाई असहयोग गर्ने र एमालेको सहयोगमा बागी उम्मेदवार उठ्नमा यो समूहले भलाई देख्न थालेको छ । बागी उम्मेदवार नभएका ठाउँमा काँग्रेस उम्मेदवार भएका ठाउँमा प्रचारमा खटिने र गठबन्धनका उम्मेदवार भएका ठाउँमा निष्क्रिय बस्ने तथा गठबन्धन गरेर निर्वाचन जित्ने शीर्ष नेता विरुद्ध विद्रोही उम्मेदवार खडा गर्ने तयारी गरेको छ ।

गठबन्धनमा प्रतिनिधिसभातर्फ धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा सहमति जुट्न बाँकी छ । हालसम्म काँग्रेसले ८५ सिट, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सहमति भइसकेको छ । यो सिट संख्यामा दलहरु सन्तुष्ट भने छैनन्

शेखर पक्ष काँग्रेसबिना गठबन्धनमा रहेका दलले धेरै सिट जित्नै नसक्ने तर्क गरिरहेका छन् । तालमेल बिना माओवादीले १० सिट पनि नजित्ने र एकीकृत समाजवादी प्रत्यक्षमा एक सिटमा खुम्चिने यो पक्षको दाबी छ । यसले गठबन्धनभित्रका अन्य दलप्रति शेखर समूहको हेपाहा प्रवृत्ति प्रष्ट हुन्छ । काँग्रेसभित्रको किचलो कै कारण गठबन्धन गरेर पनि हार्नुभन्दा काँग्रेस बाहेकको गठबन्धन गर्ने वा विद्रोह गर्ने पक्षमा गठबन्धनका कतिपय दलका कार्यकर्ताहरु समेत देखिन थालेका छन् ।

पछिल्लो समयमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा माओवादीको सिंगो कमिटीले राजीनामा दिएर स्वतन्त्र चुनावी अभियान सुरु गरेको छ । काँग्रेसको आन्तरिक किचलो व्यवस्थापन नभए चुनावी परिणाममा असर गर्ने निश्चित छ । शेखर पक्षले काँग्रेसभित्र आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने बनाउँदै आएको छ । शेखर पक्षका नेता गुरु घिमिरेले भने, ‘यो ४० प्रतिशत उठान गर्ने नेता शेरबहादुर देउवा नै हो । हामीले ४० मा ४० नै हुनुपर्छ भनेका छैनौं, न्यायोचित हुनुपर्‍यो । त्यसमा ४/५ प्रतिशत तलमाथि हुनसक्छ ।’ 

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण काँग्रेस प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको थियो । यसपटक कम्युनिस्टहरु विभाजित भएका कारण एकल प्रतिस्पर्धा गर्नुपर्ने आवाज काँग्रेसभित्र चर्को छ । तर स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट प्राप्त परिणामबाट हौसिएको काँग्रेसले प्रदेश र प्रतिनिधिसभामा पनि तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनमा रहेका काँग्रेस बाहेकका दल एकजुट हुँदा एमाले, काँग्रेस र तेस्रो गठबन्धनबीच कडा प्रतिस्पर्धाको अवस्था उत्पन्न हुनसक्थ्यो ।

तर दलहरुले सुरुदेखि नै यो विकल्पमा ध्यान दिएनन् । जसका कारण टिकटकै आकांक्षी र सांसद वा मन्त्री बनेर सत्ताको सिडी चुड्ने चाहनाले गठबन्धनमा संकट देखिँदै गएको छ । केही अघि काँग्रेसको शेखर पक्षका नेताहरु एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट पुगेका थिए । शेखर र मिनेन्द्र रिजालले ओलीलाई भेटेका थिए । ओलीको मिसन यतिबेला जसरी पनि प्रचण्ड र माधव नेपाललाई पछार्नु हो । त्यसका लागि ओलीले सबै उपाय अपनाउने निश्चित छ । ओलीले गठबन्धनकै कारण स्थान नपाए शेखर पक्षलाई एमालेले साथ दिने वचन पनि दिएका छन् । शेखर कोइराला आफैं एमालेको सहयोगमा चुनाव लड्न तयार नभए पनि केही नेताहरु एमालेको साथमा चुनाव लड्ने तयारीमा रहेको उच्च स्रोत बताउँछ । 

आज निर्णायक बैठक

सत्तारुढ गठबन्धनले प्रदेश र प्रतिनिधि सभाका सिट बाँड फाँटबारे बुधबार निर्णायक छलफलको तयारी गरेको छ । गठबन्धन दलहरुले सिट बाँड फाँटबारे अन्तिम निर्णय गर्ने भन्दै प्रभावशाली नेतालाई अन्य कार्यक्रम नराख्न निर्देशन दिएका छन् । बुधबार प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाको क्षेत्रबारे सहमति जुटाउने तयारी छ । 

गठबन्धनमा प्रतिनिधिसभातर्फ धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा सहमति जुट्न बाँकी छ । हालसम्म काँग्रेसले ८५ सिट, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सहमति भइसकेको छ । यो सिट संख्यामा दलहरु सन्तुष्ट भने छैनन् ।

नमिलेका स्थानमा प्रदेश र संघीय क्षेत्रमा मिलाएर बाँडफाँट गर्ने दलहरुको तयारी छ । प्रदेशसभाका ३३० सिटमध्ये २२० स्थानमा करिब सहमति भएको छ भने अब ११० स्थानमा कुरा मिल्न बाँकी छ । प्रदेशसभामा काँग्रेसले १६५ सिटमा दाबी गरेको छ भने माओवादीले करिब ७० सिट पाउने सम्भवना छ ।